हिमाली क्षेत्रका प्रहरीचौकी विस्थापित; ६ सरे, ३ सार्ने तयारी

कर्णालीपत्र संवाददाता १६ कार्तिक २०७६, शनिबार १०:२८

कर्णालीपत्र
सुर्खेत, १६ कात्तिक।  जाडो बढ्न थालेपछि उच्च हिमाली क्षेत्रका प्रहरीचौकीलाई सदरमुकाम सार्न थालिएको छ । हिउँद लागेसँगै तापक्रम माइनस डिग्रीमा झरेकाले माथिल्लो डोल्पाका ६ प्रहरीचौकीलाई जिल्ला सदरमुकाम सारिएको छ भने हुम्लाका दुई प्रहरीचौकीलाई केही दिनमै सार्ने तयारी छ ।

अत्यधिक चिसोले प्रहरीलाई कोठा बाहिर निस्कनै गाह्रो भएपछि माथिल्ल्लो डोल्पाको शे–फोक्सुण्डो र डोल्पोबुद्ध गाउँपालिकाका ६ वटा अस्थायी प्रहरीचौकी जिल्ला प्रहरी कार्यालय दुनैमा सारिएको छ । चिसोले जनजीवनसमेत प्रभावित हुँदा स्थानीय बासिन्दा नै गाउँ छोडेर सदरमुकाम झरेपछि व्यक्तिगत घर भाडामा लिएर स्थापना भएका अस्थायी प्रहरीचौकी जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सदरमुकाम सारिएको डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले जानकारी दिइन् । गाउँपालिकाको केन्द्र रहेका साल्दाङ र धोमा रहेका अस्थायी प्रहरीचौकी सदरमुकाम दुनै सारिएपछि आफूहरूलाई सरकारी काम गर्नसमेत समस्या भएको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसितुण्डुप गुरुङले बताए । ‘सुरक्षाकर्मी नहुँदा हामीलाई विकासे कामदेखि समस्या भएको छ । नगदी कारोबार गर्न असुरक्षित महसुस गरेका छौं,’ अध्यक्ष गुरुङले कर्णालीपत्रसँग भने, ‘आसपासका ६ वटै अस्थायी प्रहरीचौकीलाई दुनै सारेपछि गाउँपालिकामा भएका कार्यालय, बैंक, अन्य सरकारी निकायको सुरक्षामा चिन्ता बढेको छ ।’

मौसमका कारण हरेक वर्ष कात्तिक १ गते सर्ने पुरानै प्रचलनअनुसार यो वर्ष पनि जिल्लाका ६ अस्थायी प्रहरीचौकी सारिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । ‘प्रहरीको आफ्नै भवन नभएकाले स्थानीयको घर भाडामा लिएर हामीले अस्थायी प्रहरीचौकी राख्दै आएका थियौ,’ अत्यधिक चिसो बढेपछि असोज तेस्रोसाता बसेको जिल्ला सुरक्षा समितिको बैठकले कात्तिक १ गतेदेखि अस्थायी प्रहरीचौकी दुनै सार्ने निर्णय गरेको थियो । उनका अनुसार अहिले शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ, निजाल गुम्बा, राप, भिजेर र डोल्पो बुद्ध गाउँपालिकाको धो र ताक्सीमा रहेका अस्थायी प्रहरीचौकीहरूमा कार्यरत सबै सुरक्षाकर्मी र चौकीमा भएका सबै बन्दोबस्तीका सामान सदरमुकाम दुनैमा सारिएको छ । सुरक्षाको मागसहित दुवै गाउँपालिकाबाट चौकी नसार्न अनुरोध आए पनि चौकी आफ्नै स्थायी संरचना नभएको र चौकीमा खटिने सुरक्षाकर्मीलाई अत्यधिक जाडो छल्ने कुनै सामग्री पनि नभएकाले आफूहरूलाई प्रहरीचौकी सार्नुको विकल्प नभएको दाबी डोल्पा प्रहरीले गरेको छ ।

माथिल्लो डोल्पाको कठ्यांग्रिने चिसो धान्ने आवास, कपडा, खाने खाना, जिल्ला सदरमुकाम आउनेजाने सवारी साधन, उपचार सेवा, बिरामी पर्दा तत्काल उद्धारको व्यवस्था, सञ्चार सुविधा, आकर्षण प्रोत्साहन भत्ता आदि नहुँदा अति हिमाली जिल्लाका प्रहरी अधिकृत र जवानहरूलाई ज्यानकै जोखिम मोलेर अति हिमाली क्षेत्रका चौकीमा राख्न निकै समस्या छ । २० स्थायी र सात अस्थायी गरी २७ प्रहरी युनिट भएको डोल्पाको ६ अस्थायी प्रहरीचौकी सरेका शे–फोक्सुण्डो र डोल्पोबुद्ध गाउँपालिकाका सरकारी सुरक्षाबाट बाहिरिएको छ । ‘चिसोले सारिएका क्षेत्र नजिक कुनै स्थायी प्रहरीचौकी नभएकाले तत्काललाई कुनै उपाय निकाल्न सकिएन,’ जिल्ला सुरक्षा समिति अध्यक्षसमेत रहेकी सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भनिन्, ‘यहाँ त्यस्तो कुनै ठूलै सुरक्षा चुनौती आए जिल्लाबाटै विशेष सुरक्षा प्रबन्ध मिलाइनेछ । तत्काललाई त ति क्षेत्र हाम्रो प्रत्येक्ष सुरक्षा पहुँचबाट केही समय टाढा रहे ।’
सम्बन्धित गाउँपालिकामा स्थायी प्रहरीचौकी नभएकाले पनि यस्तो समस्या आएको बताएकी अधिकारी शर्माले सामान्य रेखदेख माथिल्लो डोल्पाकै छार्का ताङसोङ गाउँपालिकाको कागकोटको स्थायी प्रहरीचौकीबाट समेत निरन्तर निगरानी हुने छ ।

हिउँदमा सुरक्षा व्यवस्था मिलाउने स्थानीयको माग

गाउँबाट प्रहरीचौकी सदरमुकाम सारेपछि असुरक्षा महसुस गरेका माथिल्लो डोल्पाका स्थानीय बासिन्दाले हिउँदको समयमा समेत आफूलाई सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन् ।

आफ्नै गाउँपालिकाका दुई र छिमेकी डोल्पाबुद्ध गाउँपालिकामा भएका चार प्रहरीचौकी सदरमुकाम सरिएपछि जिल्ला प्रहरी कार्यालय पुगेका शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसितुण्डुप गुरुङले आफूहरूलाई हिउँदमा समेत सुरक्षाको व्यवस्था गर्न आग्रह गरे । पछिल्लो समय विभिन्न अज्ञात समूहको गतिविधि बढिरहेको बताएका अध्यक्ष गुरुङले माथिल्लो डोल्पालाई सुरक्षा निकायविहीन बनाउने निर्णयप्रति असहमति जनाए । गुरुङले भने, ‘गएको वर्ष पनि यही मौका छोपेर विभिन्न डकैती, लुटपाट, कुटपिट, चोरीजस्ता अपराधका घटना घटे, यो वर्ष पनि स्थानीयमा निकै त्रास छ ।’

माथिल्लो डोल्पामा बस्ने सबै प्रकारको वातारण बनाउन स्थानीय सरकार तयार हरेको बताएका अध्यक्ष गुरुङले स्थानीयस्तरका सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय, बैंक र स्थानीयवासीको जीउधनको सुरक्षा गर्न त्यहाँको चिसो हावापानी धान्ने गाँस, बास, कपास, सञ्चार, सवारी साधन, उपचारलगायत सेवा सुविधाको उचित प्रबन्ध आफूहरूले गर्ने बताए ।

तीन चौकी सार्ने अन्तिम तयारी

चिसोले समस्या हुने भएपछि हुम्लाका दुई र मुगुको एक प्रहरीचौकी जिल्ला सदरमुकाम सार्ने तयारी भइरहेको छ । हरेक वर्ष जाडोको समयमा सदरमुकाम सारिने हुम्लाको लिमी र हिल्सा सीमा प्रहरीचौकी, मुगुको मुगु सीमा प्रहरीचौकी सदरमुकाम सार्ने तयारी छ ।

‘लिमी र हिल्सामा तापक्रम माइनस डिग्रीभन्दा तल झरिसकेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले भने, ‘प्रदेशको आदेशका कारण मात्रै लिमीको चौकी सार्न केही ढिला भएको हो ।’ प्रहरीचौकी सार्न केन्द्रबाट आदेश लिइसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले केही दिनमा प्रदेशको आदेश आएलगत्तै लिमी प्रहरीचौकीलाई सिमकोट सार्ने अन्तिम तयारी गरेको छ ।

नाम्खा गाउँपालिका–६, मा रहेको लिमी नजिक कुनै स्थायी प्रहरीचौकी नभएपछि आठजना सुरक्षाकर्मी कार्यरत रहेको लिमी प्रहरीचौकीलाई जिल्ला प्रहरी कार्यालय सिमकोटमै सार्न थालिएको हो । नेपाल र चीनको सीमामा रहेको सीमा प्रहरीचौकी हिल्सालाई भने मुचु प्रहरीचौकीमा सार्ने योजना रहेको हुम्लाका निमित्त प्रहरी प्रमुख सिंहले जानकारी दिए । उता मुगुको सीमा प्रहरीचौकीलाई पनि जाडोकै कारण सार्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख भुवनेश्वर शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपकुलपति छान्न खुल्ला प्रतिस्पर्धा

१६ कार्तिक २०७६, शनिबार १०:२८
आवेदनको आधारमा रोष्ट्रर तयार गर्ने र त्यसबाट योग्य व्यक्तिलाई उपकुलपतिको रूपमा सिफारिस गर्ने मन्त्रालयले जनाएको छ ।