महराविरूद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता

कर्णालीपत्र संवाददाता १४ कार्तिक २०७६, बिहीबार १९:१८

काठमाडौँ, १४ कात्तिक :  आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

सरकारी वकिल कार्यालयले जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको हो।

उनलाई हिरासतमै फर्काइएको  काठमाडौं जिल्ला अदालतका प्रवक्ता  ज्ञानेन्द्र कार्कीले जानकारी दिए। आज उनको मुद्दामात्र दर्ता भएको छ। समय अभावले थुनछेक बयान र बहस भने आज हुन सकेन। बहसपछि धरौटीमा रिहा गर्ने वा पुर्पक्षको लागि थुनामा राख्ने अदालतले निर्णय गर्ने छ।

प्रहरीले महरामाथि अनुसन्धान गरी कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन शुक्रबार बुझाएको थियो।

२० दिन लामो अनुसन्धानबाट महराले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी उद्योग गरेको पुष्टि भएको प्रहरीले जनाएको थियो।

प्रतिवेदनमा महरालाई मुलुकी फौजदारी संहिता २०७४ को बलात्कार प्रयाससम्बन्धी कसूरमा कैद तथा सजायको माग गरिएको थियो। स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा सार्वजनिक पदमा रहेर महरा बलात्कारजस्तो जघन्य अपराधमा संलग्न भएकाले त्यसउपर पनि कारबाही माग गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म ठिक छु : प्रधानमन्त्री ओली

१४ कार्तिक २०७६, बिहीबार १९:१८
अस्पतालबाट फर्कदै गर्दा निकै प्रफुल्ल मुद्रामा देखिनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “म ठिक छु ।” निवासतर्फ जाने क्रममा प्रधानमन्त्री ओली एक्लै हिँडेर गाडीसम्म पुग्नुभएको थियो ।