बालबालिकाको सहारा बन्दै १०९८

कर्णालीपत्र संवाददाता ९ कार्तिक २०७६, शनिबार १०:१०

पुनम बिसी
सुर्खेत, ९ कात्तिक । सुर्खेतको एक जंगलमा १५ वर्षीया बालिका घाँस काट्न गएको समयमा जबर्जस्ती करणीको सिकार भइन् । बालिकाले आफू जबर्जस्ती करणीमा परेको सूचना अन्त कतै पनि दिइनन् । करणीमा परेको पीडा मनमै गुम्साएर राख्ने योजनामा बसेकी ती बालिकालाई केही दिनमै अनेक खाले समस्या देखा पर्न थाल्यो । तारन्तार बिरामी भएपछि परिवारले उनलाई कालागाउँको प्रदेश अस्पताल लगे । जब परिवारको सहायताले उनको अस्पतालमा स्वास्थ्य परीक्षण भयो तब उनले मनमा गुम्साएर राखेको करणी लुकाउन नसक्ने अवथा आइलाग्यो । कारण, उनको पेटमा बच्चा थियो । कर्णाली प्रदेश अस्पतालले १०९८ मा फोन गरेर करणीमा परेकी ती बालिकालाई न्याय दिलाउने माध्यमका रूपमा बाल हेल्पलाइनलाई रोज्यो । त्यसपछि मनमा लुकाएर राखेको करणी घटनालाई ती बालिका बाहिर ल्याउन बाध्य भइन् ।

दैलेखको गुराँस गाउँपालिकाका १७ वर्षीय एक बालकले १५ वर्षीया बालिकालाई भगाएर घरमा ल्याए । त्यसको केही समयमा घरपरिवारले उक्त बालक जोडीको सामाजिक मान्यताअनुसार विवाहको तयारी ग¥यो । विद्यालयमा पढिरहेका बालजोडीको भविष्यप्रति चिन्ता व्यक्त गरेका एक छिमेकीले उक्त विवाह रोक्न अनेक प्रयास गरे, तर सकेनन् । विवाह नरोकिने भएपछि न्यायको खोजी गर्न उनले बाल हेल्पलाइनमा फोन गरे र फोनलगत्तै घटनास्थलमा गएको प्रहरीको सहायतामा उक्त विवाह रोकियो ।

सुर्खेतमा सञ्चालित १०९८ को बाल हेल्पलाइनको सहायताले कानूनी उपचार पाउने करणीमा परेकी सुर्खेतकी बालिका र दैलेखका बालजोडी त नमूना पात्र मात्रै हुन् । घरपरिवार, साथी र छरछिमेकबाट हुने अनेक थरि हिंसामा परेका बालबालिकाहरूको उद्धार गर्नेदेखि न्याय दिलाउने प्रभावकारी माध्यम बन्दै गएको छ । चौबिसै घण्टा खुला रहने १०९८ नम्बरको बाल हेल्पलाइन पीडामा परेका बालबालिकालाई नै सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको निःशुल्क टेलिफोन हो । ‘यसमा आएका मौखिक सूचनाकै आधारमा हामीले तत्कालै उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गर्छौं,’ हेल्पलाइन सञ्चालन गरिरहेको आवाज संस्थाकी प्रमुख मनोविमर्शकर्ता निशा पौडेल भन्छिन्, ‘हेल्पलाइनमा आउने हरेक फोनले अनेकखाले पीडामा परेका बालबालिकालाई उद्धार गर्ने र न्याय दिने काम गरेको छ ।’ दैलेखको गुराँस गाउँपालिकामा हुन लागेको बालविवाह अन्तिममा रद्ध गरेको घटना सम्झदै पोडेलले सूचना पाउने बित्तिकै दैलेखको जिल्ला प्रहरीमा फोन गरेर तत्कालै विवाह रद्ध गर्न सफल भएको बताइन् ।

हरेक दिन बालबालिकामाथि हुने हिंसामा बढोत्तरी हुँदै गएपछि आवाज संस्थाले सुर्खेतमा २०६४ सालदेखि केन्द्रीय बाल कल्याण समितिको सहयोगमा बाल हेल्पलाइन सञ्चालनमा ल्याएको थियो । हेल्पलाइनमा दैनिक २५ वटाभन्दा बढी सूचना आउने गरेका छन् ।

बालिका बलात्कारका सूचना पनि हेल्पलाइनमै
सामाजिक त्रास र भएका जबर्जस्ती करणीका पीडा लुकाउने गरेका बालिकाहरू हेल्पलाइन स्थापना गरेपछि न्यायको लागि सूचना दिन थालेका छन् । बाल हेल्पलाइनको तथ्यांक हेर्ने हो भने, गत आर्थिक वर्ष २०७५/७६ मा १८ जना बालिका जबर्जस्ती करणीको सिकार भएका बालिकाहरूले न्यायको खोजी गर्दै आफूमाथि भएको घटनाको सूचना दिएका छन् ।

करणीमा परेर पनि लुकाउन लागिएका घटनालाई बालिकाकै फोनका आँडमा पीडक कानूनी कारबाहीको दायरामा आएको बताएकी मनोविमर्शकर्ता पौडेल भन्छिन्, ‘बालिका करणीका घटनाका आधारमा भन्ने हो भने हेल्पलाइन अभिभावकभन्दा सुरक्षित देखिएको छ ।’ हेल्पलाइनमार्फत् आफू करणी भएकाले न्याय पाउने आशाले पनि पीडित बालिका अहिले फोनबाटै सूचना दिने गरेको आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीले बताइन् । उनका अनुसार हरेक वर्ष ५० भन्दा बढीका करणीका घटना आउने हेल्पलाइनमा अधिकांश पीडकलाई कारबाहीको दायरामा ल्याउने गरेको संस्थाले उल्लेख गरेका छ ।

२५ जिल्लाका बालबालिकाको उद्धार

हेल्पलाइनको पछिल्लो एक वर्षको तथ्यांकअनुसार २५ जिल्लाका बालबालिका परिवारिक मिलनमा पुगेका छन् । ‘पूर्वको झापा, पश्चिमको कैलालीदेखि उत्तरको हुम्लासम्मका बालबालिकाहरूको उद्धार तथा पुनस्र्थापनाको काम हेल्पलाइनमै आएको सूचनाका आधारमा गरेका छौं,’ संस्थाकी कार्यकारी निर्देशक शाहीले भनिन्, ‘गएको एक वर्षमा हेल्पलाइनकै सहयोगले २५ वटा जिल्लाका बालबालिकाहरूको उद्धार तथा पुनस्र्थापना गरिएको छ ।’ उनका अनुसार हेल्पलाइनमा गत आर्थिक वर्ष तीन हजार तीन सय ७५ वटा टेलिफोन सूचना आएका छन् ।

आएका फोनहरूमध्ये सबैभन्दा धेरै फोन अभिभावकद्वारा आएका छन् । बालबालिकाका समस्यासम्बन्धी सूचना लिएर दुई हजार दुई सय १९ जना अभिभावक तथा संरक्षक बाल हेल्पलाइनसँग जोडिएका छन् । ९ सय १२ जना बालबालिकाले स्वयम्ले आफ्नो पीडाका सूचना फोनबाट दिएका छन् । हेल्पलाइनको तत्थ्यांक अनुसार यसबीचमा एक सय १५ वटा साइलेन्स कलसमेत आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरीले बुझायो महराको प्रतिवेदन

९ कार्तिक २०७६, शनिबार १०:१०
महरालाई दोस्रोपटक सात दिन हिरासतमा राख्ने अनुमति लिएको भोलिपल्ट शुक्रबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।