रिङरोडप्रति चीन सकारात्मक : मुख्यमन्त्री

कर्णालीपत्र संवाददाता ७ कार्तिक २०७६, बिहीबार ०९:३१

कर्णालीपत्र ।
सुर्खेत, ७ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतको रिङरोड र सुर्खेतदेखि बर्दियासम्मको टनेल मार्गको निःशुल्क सर्भे गर्न चीन सरकार सकारात्मक भएको बताएका छन् । १० दिने चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमण पूरा गरेर स्वदेश फर्किएका मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

‘कर्णाली प्रदेश सरकारको तर्फबाट औपचारिकरूपमा राखेको उक्त प्रस्तावप्रति चीन सरकार सकारात्मक छ,’ मुख्यमन्त्री शाहीले भने, ‘यस विषयमा संघीय सरकारले अनुमति दियो भने चीनको तिब्बत सरकारको लगानीमा काम गर्छाैं ।’ तिब्बत सरकार सुर्खेत–बर्दिया सुरुङ मार्ग निर्माणप्रति पनि सकारात्मक रहेको मुख्यमन्त्री शाहीले बताए । भ्रमणमा स्थानीय सान्ताउ प्रदेशबीच कर्णाली प्रदेशको भगिनी सम्बन्ध विस्तार गर्नेबारे पनि कुरा अघि बढेको बताइएको छ । संघीय सरकारले अनुमति दिए उक्त सम्बन्धले औपचारिकता पाउने भन्दै मुख्यमन्त्री शाहीले सुर्खेतको वीरेन्द्रनगर र तिब्बतको सान्ताउ सिटीबीच भगिनी सहरको सम्बन्ध स्थापित हुने बताए ।

त्यस्तै उनले तिब्बतका विभिन्न कम्पनीहरूसँग कर्णाली प्रदेशमा लगानी गर्ने विषयमा कुराकानी भएको जानकारी दिए । ‘पर्यटन विकास, पूर्वाधार, कृषि, एकीकृत बस्ती विकास र जडीबुटीमा चिनियाँ चासो छ,’ उनले भने, ‘संघीय सरकारले अनुमति दिए हामीले कर्णालीमा एकीकृत बस्ती विकास गर्न चिनियाँ लगानी भिœयाउने वातावरण तयार पारेका छौं ।’

गएको असोज २७ मा तिब्बत भ्रमण गएका मुख्यमन्त्री शाही बुधबार स्वदेश फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अस्पताल उद्घाटनको रहस्य; मन्त्रालयद्वारा आफ्नै अनुमतिपत्र अवज्ञा

७ कार्तिक २०७६, बिहीबार ०९:३१
आफैँले जारी गरेको स्वीकृतपत्रलाई अवज्ञा गर्दै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मुलुककै अतिविशिष्ट व्यक्तिलाई उद्घाटन कार्यक्रममा सहभागी हुनबाट वञ्चित गरेको छ ।