प्रभावकारी भएन छोरीको नाममा खाता कार्यक्रम

कर्णालीपत्र संवाददाता ४ कार्तिक २०७६, सोमबार ०९:१२

पुनम बिसी
सुर्खेत । वीरेन्द्रनगर–३, की राधा न्यौपानेले (नाम परिवर्तित) २०७५ भदौमा पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिइन् । कर्णाली प्रदेश अस्पतालमा पहिलो सन्तानको रूपमा छोरी पाएकी न्यौपाने वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको ‘छोरीको नाममा खाता’ कार्यक्रमका बारेमा जानकार थिइन् । तर झन्झटिलो प्रक्रियाले उनी उक्त कार्यक्रममा सहभागी भइनन् । उनी मात्र होइन प्रक्रिया झन्झटिलो र उक्त पैसा पाउन धेरै रकम खर्च हुँदा गरिब तथा विपन्न र नगरका दुर्गम क्षेत्रमा बसोबास गर्ने बासिन्दा यो कार्यक्रमबाट लाभान्वित हुन सकेका छैनन् ।

‘उक्त रकम लिन वीरेन्द्रनगर आवतजावत गर्न चार सयभन्दा बढी अटो भाडा लाग्छ,’ नाम नबताउने सर्तमा उनले भनिन्, ‘यति रकम खर्च गरेर आउँदा पनि सहजै छोरीका नाममा खाता खोल्न सकिँदैन ।’ वीरेन्द्रनगर नगरकार्यपालिकाको पहिलो बैठकले २०७४ मा छोरीको नाममा खाता खोल्ने निर्णय गरेको थियो । लैंगिक विभेद् न्यूनीकरणको अपेक्षासहित नगरकार्यपालिकाले बैंकमा छोरीको नाममा प्रतिबालिका एक हजार रूपैयाँ जम्मा गरिदिने निर्णय गरेको थियो । छोरा र छोरीबीचको विभेद न्यूनीकरण गर्न प्रोत्साहनस्वरूप ल्याइएको उक्त कार्यक्रम प्रभावकारी हुन सकेन, जसले नगरभित्र जन्मिने पूरै बालिकाको नाममा खाता खोल्न सकिएको छैन ।

हरेक छोरीले बैंकमा बचत गर्ने र त्यसबाट उनीहरू आर्थिकरूपमा सवल हुने अपेक्षा नगरपालिकाले लिएको थियो । तर छोरीको नाममा खाता खोल्ने विषयमा भने अपेक्षाकृत नागरिकको सहभागिता हुन सकेको छैन । ‘छोरीको बैंक खाता कार्यक्रम’ अन्तर्गत आर्थिक वर्ष २०७४/७५ मा ५८ जना अभिभावकले छोरीको नाममा खाता सञ्चालन गरे । अर्को आर्थिक वर्षमा आएर उक्त संख्या घट्यो । आर्थिक वर्ष २०७५/७६ मा ३३ जना बालिकाको नाममा खाता खोलिएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ । चालू आर्थिक वर्ष २०७६÷७७ असोजसम्म २० जना बालिकाको नाममा खाता खोलिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको तथ्यांक हेर्ने हो भने २०७५ को वैशाखदेखि चैतसम्म कूल ६ हजार एक सय ४२ जना बालबालिकाको जन्मदर्ता भएको छ । जसमध्ये दुई हजार नौं सय ३९ जना बालिका छन् ।

छोरीको नाममा खाता कार्यक्रम
क्रम संख्या आर्थिक वर्ष खाता खोल्नेको संख्या
१ २०७४/७५=  ५८ जना
२ २०७५/७६=  ३३ जना
३ २०७६ साउन–असोजसम्म २० जना
जम्मा १११ जना

नगरपालिकाको कार्यक्रम राम्रो भए पनि प्रक्रिया झन्झटिलो भएको वीरेन्द्रनगर–१०, का रवीन्द्र रेग्मीले बताए । झन्झटिलो प्रक्रिया भए पनि आफू उक्त कार्यक्रममा सहभागी भएको उनको भनाइ छ । ‘ प्रक्रिया भने निकै झन्झटिलो छ,’ उनले भने, ‘वडा कार्यालय, नगरपालिका र बैंक जाँदाजाँदै खर्च पनि धेरै हुन्छ ।’ वीरेन्द्रनगर–११, का टेकराज लामिछानेले नगरपालिकाको बजार क्षेत्र आसपासका नागरिक मात्र कार्यक्रममा समावेश भएको बताए । ‘बजार आसपासकालाई सजिलो छ,’ उनले भने, ‘अरु वडाका नागरिकका लागि यो कार्यक्रम व्यर्थ नै छ ।’ अन्य वडाका तुलनामा नगरपालिकाका दुर्गम वडाका रूपमा हेरिने १४, १५ र १६ नम्बर वडाका नागरिक यस कार्यक्रमले लाभान्वित नहुने उनले बताए । छोरीलाई बैंक खाता कार्यक्रमअन्तर्गत छोरीका नाममा खाता खोल्न दुर्गमका अभिभावक सम्पर्कमा नआएको तथ्यांकले जनाएको छ । सबैभन्दा धेरै ८ नम्बर वडाका बालिकाहरूको खाता खोलिएको छ भने १५ र १६ नम्बर वडामा खाता खोल्नेहरूको संख्या न्यून रहेको छ ।

तथ्यांकअनुसार वीरेन्द्रनगर नगरपालिकाको कार्यालय आसपासका वडाहरूमा बालिकाको नाममा खाता खोल्नेहरूको संख्या धेरै छ । १ नम्बर वडामा आठजना, २ नम्बर वडामा आठजना, ३ नम्बर वडामा ६ जना, ४ नम्बर वडामा पाँचजना, ५ नम्बर वडामा तीन जना, ६ नम्बर वडामा पाँचजना, ७ नम्बर वडामा दुईजना, ८ नम्बर वडामा १६ जना, ९ नम्बर वडामा सातजना, १० नम्बर वडामा सातजना, ११ नम्बर वडामा नौजना, १२ नम्बर वडामा १५ जना, १३ नम्बर वडामा नौजना, १४ नम्बर वडामा ६ जना, १५ र १६ नम्बर वडामा दुई÷दुईजना बालिकाको नाममा बैंक खाता खोलिएको छ ।

वडास्तरबाटै सेवा दिनुपर्छ

महिला अधिकारकर्मी शीतल सिंह राठोरले छोरीको बैंक खाता कार्यक्रम वडास्तरबाटै सञ्चालन गरिनुपर्ने धारणा राख्छिन् । वडाबाट नगरपालिका र नगरपालिकाको कार्यालयबाट बैंक जानुपर्ने परिधिलाई कम गरेर वडाबाटै सेवा प्रवाह गर्न सकिए कार्यक्रम प्रभावकारी हुने उनले बताइन् । उनले भनिन्, ‘आर्थिक विपन्नहरू केही समावेश त होलान् । तर आर्थिक भएकाहरु यो कार्यक्रममा समावेश हुँदैनन् । वडा–नगरपालिकाको कार्यालय–बैंक धाउन लाज मान्छन् । उनीहरूलाई पनि कार्यक्रममा समावेश गर्नुपर्छ ।’

कार्यक्रमले आर्थिक पाटोभन्दा सामाजिक पाटोलाई बोकेको हुँदा सबै वर्ग तथा समुदायको सहभागिता भएमा मात्र छोरीको बैंक खाताले पूर्णता पाउने उनले बताइन् । कार्यक्रमले समाजमा विद्यमान लैंगिक विभेद् न्यूनीकरणमा महŒवपुर्ण योगदान दिने बताउँदै उनले वडास्तरबाटै खाता खोल्न सकिने व्यवस्था मिलाउनुपर्ने बताइन् ।

प्रचारप्रसार गर्छौं

छोरीको बैंक खाता कार्यक्रमलाई नगरपालिकाले समयमै जन्मदर्ताको पक्षमा हेरिरहेको बताउँदै वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले कार्यक्रमको बारेमा प्रचारप्रसारमा ध्यान दिइने बताइन्् । उनले भनिन्, ‘नागरिकहरूको जन्मदर्ता समयमा गर्दैनन् । छोरीको विषयमा हेर्दा समयमा नै जन्मदर्ता पनि भएको पनि न्यून देखिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भाइटीकाको साइत बिहान ११ः५५ बजे

४ कार्तिक २०७६, सोमबार ०९:१२
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । कात्तिक १२ गते मंगलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए ।

सम्बन्धित शीर्षक