सांसद पद त्यागेकी झोवा

कर्णालीपत्र संवाददाता १ कार्तिक २०७६, शुक्रबार ११:०२

पुनम बिसी
सुर्खेत, १ कत्तिक । प्रदेश सांसद हुने मुगुकी झोवा विकको कल्पनाभन्दा बाहिरको कुरा थियो । घर व्यवहारमा व्यस्त उनी सक्रिय राजनीतिज्ञ थिएनिन् । संघीयतासँगै निर्माण भएको संरचनाले झोवाको त्यहीँ कल्पना बाहिरको कुरा भइदियो । उनी दलित कोठाबाट पहिलापटक बनेको प्रदेशसभामा सांसद बनिन् ।

सांसद भएर प्रदेशसभामा सहभागी हुँदा उनका क्रियाकलाप अन्य सांसदभन्दा फरक थिए । बोलीचाली, व्यवहार, रहनसहनसमेत फरक भएकी झोवालाई बाहिर हिँडडुला गर्दा सांसद भनेर चिन्नै हम्मेहम्मे हुन्थ्यो । ‘मैले सांसद हुने कुरा सोचेको पनि थिएन,’ उनले भनिन्, ‘एक्कासी सांसदको जिम्मेवारी आइप¥यो । यो अवसरलाई उनले अपत्यारिलोसँगै जिम्मेवार बोधको रूपमा लिएकी छिन् । यो जिम्मेवारीले चुनौतीको पहाडले घेरेको महसुस गर्छिन झोवा । पिछडिएको क्षेत्र मुगुबाट प्रतिनिधित्व गरेकी दलित समुदायकी झोवालाई आफँैभित्र कमजोरीहरू देखिन थालेका थिए । ‘तीन दिनसम्म सांसदको जिम्मेवारी पाउँदा सपनाजस्तै लागेको थियो,’ उनी भन्छिन्, ‘पार्टीले ठूलो जिम्मेवारी दिएको थियो । बहन गर्न सक्ने क्षमतामा आफूलाई कमजोर ठानिरहेकी थिएँ ।’

समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसले उनलाई छनोट गरेको हो । आफू योग्य नरहेको बताउँदै उनले त्यसको प्रतिकार पनि गरिन् । उनको प्रतिकारमा कांग्रेस नेताहरूले उनलाई झन हौसला दिन थाले । ‘मैले जानेको छैनभन्दा पनि उहाँहरूले मान्नु भएन,’ उनले भनिन्, ‘गाउँमा मानिसहरू मलाई सम्मान गरिरहेका थिए । फूलमाला लगाइन्थ्यो । खादा लगाउन्थे । पार्टी कार्यालयमा सम्मानको कार्यक्रममा पनि बोलाइयो । तर मेरो मनमा भने असक्षमताको डरले जरो गाडेको थियो ।’

एउटा अधिवेशनभरि बोलिन्

प्रदेशसभाको पहिलो बैठकका लागि सुर्खेत आइपुगेँ । अघिल्लो दिन निदाउन सकिन्ँ । पहिलो प्रदेशसभाको बैठकमा सहभागी हुँदै थिएँ । नेपालका लागि ऐतिहासिक दिन थियो । त्यो दिनमा मेरो सहभागितामा सोच्दै बसेँ । मनमा डरले जरो गाडेको थियो । रातभर भोलि के बोल्ने भन्ने चिन्ताले सताउथ्यो । रातभर के बोल्ने भनेर कण्ठ पनि पारेँ ।

पहिलो बैठकमा बोलिन्ँ । पहिलो बैठक त के, प्रदेशसभाको पहिलो अधिवेशनभरि नै मौन रहेँ । पहिलो अधिवेशनको २२ वटा बैठकमध्ये १९ बैठकमा मेरो उपस्थिति भयो । तर मबाट एक शब्द पनि निस्किएन्ँ ।

बाआमाको छोरा
२०३० फागुन ७ गते मेरो जन्मभयो । मुगु कार्मारोङ गाउँपालिका–७, मा बाबा टेसाङ विक र आमा छेवाङ पुटिकको कोखबाट कान्छी छोरीको रूपमा मेरो जन्मभयो । घरमा छोरा नभएकाले अंश खाने छोरीको रूपमा मलाई हेरिन्थ्यो । सानै उमेरदेखि म घरधन्दामा समय बिताए । बाआमाका लागि छोरा नै थिए म । औपचारिक शिक्षाले मेरो जीवनलाई छोएन । उमेर ढल्किने बेला सदरमुकाम गमगढीमा प्रौढ शिक्षामा सहभागी भए । मेरा लागि अक्षर चिन्न त्यहीँ प्रौढ शिक्षाले मद्धत ग¥यो ।

सुत्केरी उद्धारको सवाल

मुगु निकै पिछडिएको छ । सुत्केरीलाई उद्धार गर्न हेलिकोप्टर बस्ने ठाउँ पनि छैन । सदरमुकामबाहेक अन्य गाउँका महिलालाई सुत्केरी व्यथाले निकै सताउँछ । दुई÷तीन दिनसम्म महिलालाई घरमै राखिन्छ । अन्त्यमा मात्र डोको अथवा सम्भव भएसम्म स्टेचरमा बोकेर सदरमुकाम ल्याइन्छ । बाटो नपुगेको हाम्रो गाउँमा भौगोलिक विकटताले सुत्केरी उद्धारलाई थप संवेदनशील बनाइदिन्छ ।

१९ वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी हुँ । १८ वर्षको उमेरमा परिवारले श्रीमान् मैटुक छेवाङसँग विवाह गरिदिनुभयो । अहिले दुई छोरा छन् । अस्पताल जानेलाने कुरो थिएन । कष्ट सहेरै बालबच्चालाई जन्म दिएँ ।

जिम्मेवारीको अठोट

पहिलो प्रदेशसभा अधिवेशनमा बोल्न नसकेपछि साह्रै तनाव भयो । पहिलो अधिवेशन सकिएपछि मुगु गएँ । पार्टीले दिएको जिम्मेवारी बहन गर्न नसक्ने मानसिकता थियो । दोस्रो अधिवेशन सुरु नहुँदै पार्टीसमक्ष राजीनामा दिने निधो गरेँ । पहिलो अधिवेशनमा एक शब्द फुटाउन नसक्ने मेरा लागि पाँच वर्ष धेरै समय थियो । पाँच वर्षको समय जीवनकालभर झैं लाग्थ्यो ।

सदरमुकाम गमगढीमा रहेकी आफन्त बज्यैलाई सबै कुरा सुनाएँ । बज्यैले पनि सम्झाउनुभयो । मुगुका जनताका लागि मेरो जिम्मेवारी बताउनुभयो । अवसर सुनाउनुभयो । उहाँका शब्दले नै मलाई हौसाएका हुन् । मनमा जरो गाडेको डरलाई जितेँ । अहिले मलाई बोल्न डर र लाज लाग्दैन । डर र लाज भागेपछि जनताप्रतिको उत्तरदायित्वले मनमा जरा गाड्न थाल्यो । कर्णाली प्रदेशको आर्थिक वर्ष २०७६/७७ को बजेटका बारेमा बहस सम्बन्धमा आएका शब्दहरूले जनताको आशा बोकेका छन् । बजेटमा मुगु प्राथमिकतामा नपर्दा, ‘दियाँ पो लिन्याँ हो, नदियाँ के लिन्याँ । हाम्रा जनता पनि सोध्छन् । जनतालाई के जवाफ दिन्याँ ?’ धेरै बैठकमा बहस चले । हामीले आफ्ना कुरा राख्यौं । हाम्रा जनताका लागि बहस गरियो । म बोल्न सक्ने भइसकेकी रहेछुँ । प्रदेशसभामा प्रतिपक्षको भूमिका निर्वाहमा मेरो उपस्थिति प्रभावकारी भएको लागिरहेको छ । कुनै दिन डर मानेर एक अधिवेशनसम्म पनि बोल्न नसक्ने मेरा शब्दहरू सुनेर प्रदेश सरकारका मन्त्रीलगायत प्रदेशसभा सदस्यहरूको ओठमा हाँसो आएको थियो । लामा लवज मिसिएर बोलिने मेरो लवजले जनताका आशा बोलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालविवाह र सचेतना

१ कार्तिक २०७६, शुक्रबार ११:०२
बाल उमेर शारीरिक तथा मानसिक हिसाबले अपरिपक्व उमेर हो । यस्तो उमेरका बालबालिका पारिवारिक माया, स्नेह र अभिभावकत्वमा रमाउन चाहन्छन् । तर विडम्बना पारिवारिक स्नेह अभिभावकत्वमा रमाउने आधाभन्दा बढी बालबालिका उमेर नपुग्दै विवाहबन्धनमा बाधिन्छन् । कम उमेरमा हुने विवाहले बालबालिकालाई पारिवारिक तथा सामाजिक जिम्मेवारी सम्हाल्न बाध्य बनाउँछ । बाल्यावस्थामा हुने […]