चाडपर्वमा बढ्दै अपराधिक क्रियाकलाप

कर्णालीपत्र संवाददाता २८ आश्विन २०७६, मंगलवार १०:४३

पुनम बिसी
सुर्खेत, २८ असोज।
अन्य समयको तुलनाभन्दा चाडपर्वको समयलाई सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिन्छ । चाडपर्वका समयमा विभिन्न अपराधिक क्रियाकलाप धेरै हुन्छन् । कर्णाली प्रदेशमा पनि चाडपर्वको समयमा धेरै अपराधिक क्रियाकलाप हुने गरेका छन् ।
पछिल्ला तीन वर्षयता यहाँ दोब्बरभन्दा बढी अपराधिक क्रियाकलाप बढेका छन्, जसले शान्तिपूर्ण वातावरणमा खलल पु¥याएको छ । पछिल्लो तीन वर्ष अघि दसैं, तिहार र छठसम्ममा यहाँ ३५ वटा अपराधिक क्रियाकलापका घटना घटेका थिए । गत वर्ष बढेर ३९ वटासम्म पुग्यो । यो वर्ष दसैंको समयमा मात्रै ३८ वटा अपराधिक क्रियाकलापका उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । तिहार र छठसम्म यो संख्या बढ्ने प्रहरीको अनुमान गरेको छ ।
यस वर्ष कर्णालीमा लागूऔषध सेवन, जुवातास, चोरीलगायतका सार्वजनिक अपराधका घटना घटेका छन् । असोज १८ गतेदेखि २६ गतेसम्ममा प्रहरीमा कूल ३८ वटा अपराधिक घटना दर्ता भएका हुन् । यस वर्ष दसैंको समयमा कर्णाली प्रदेशभरि ज्यान मार्ने उद्योगमार्फत् तीन, फुटकर ६, लागूऔषध तीन, जुवातास एक, सार्वजनिक अपराधका ६ वटा घटना भएका छन् ।
आर्थिक वर्ष २०७४÷७५ मा दसैं, तिहारको समय (करिब एक महिना) मा ६ जनाले झुण्डिएर र चारजनाले विष सेवन गरेर आत्महत्या गरेका थिए । साथै भवितव्य ज्यानतर्फ ६, सार्वजनिक अपराध आठ, लागूऔषध एक, ज्यान मार्ने उद्योग दुई, फुटकर ज्यान दुई, सवारी ज्यान तीन, कर्तव्य ज्यान दुईवटा घटना घटेका थिए । यसैगरी आर्थिक वर्ष २०७५÷७६ मा दसैं, तिहारको समय (करिब एक महिना) मा दुईजनाले झुण्डिएर र एकजनाले विष सेवन गरेर आत्महत्या गरेका थिए । साथै भवितव्य ज्यानतर्फ तीन, सार्वजनिक अपराध पाँच, लागूऔषध दुई, ज्यान मार्ने उद्योग तीन, फुटकर ज्यान एक, किर्ते एक, चोरी तीन, कर्तव्य ज्यान तीन, जुवातास तीन, जबर्जस्ती करणी पाँच, जबर्जस्ती करणी उद्योग तीन र एक ठगी घटना भएको प्रहरीले जनाएको छ ।
यस वर्ष दसैंको अवधिभरि कर्णालीमा १६ जनाको मृत्यु भएको छ । जसमध्ये १४ जनाले आत्महत्या गरेका छन् भने दुईजनाको विभिन्न कारणवश पानीमा डुबेर मृत्यु भएको छ ।
गरिबीले आत्महत्या
दसैंको समयमा नै कर्णालीका विभिन्न जिल्लामा १४ जनाले आत्महत्या गरे । असोज १८ देखि २६ गतेसम्ममा कर्णालीमा १० जनाले भुण्डिएर र चारजनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् । सुर्खेतमा एक, दैलेखमा दुई, जाजरकोटमा एक, सल्यानमा दुई, रुकुममा दुई, जुम्लामा एक र हुम्लामा एकजनाले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । यसैगरी सुर्खेतमा दुई, दैलेखमा एक र रुकुममा एकजनाले विष सेवन गरेर आत्महत्या गरेका छन् ।
आत्महत्याको मुख्य कारण गरिबी रहेको प्रहरीले जनाएको छ । चाडपर्वका समयमा समाजमा हुने देखासिखीका कारण आर्थिक भारले नागरिकहरू आत्महत्या गर्न बाध्य हुने प्रहरीको भनाइ छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिम्सिनाले भने, ‘झुण्डियर र विष सेवन गरी आत्महत्या गर्नुको मुख्य कारण समाजमा विद्यमान देखासिखी नै भएको पाएका छौं । चाडपर्वका समयमा देखासिखीले निम्त्याउने आर्थिक भारका कारण आत्महत्या गरिएको आंकलन छ ।’
यस वर्ष दसैंको समयमा डुबेर दुई, आगलागीमा तीन जना र १४ जनाले आत्महत्या गरेको घटना दर्ता भएको डिएसपी तिम्सिनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपद् पूर्व तयारीबारे तालिम

२८ आश्विन २०७६, मंगलवार १०:४३
सुर्खेतः २८ असोज (कर्णालीपत्र) वीरेन्द्रनगरका जनप्रतिनिधिलाई विपद्को पूर्व तयारीका विषयमा तालिम दिन सुरु गरिएको छ । नयाँ सवुज गण र वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा उक्त तालिम दिन सुरु गरिएको हो । सोमबारदेखि सुरु भएको उक्त तालिम चार दिनसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । तालिममा विपद्सम्बन्धी पूर्व तयारीका विषयमा नेपाली […]