सभामुख निवासबाटै महरा पक्राउ

कर्णालीपत्र संवाददाता १९ आश्विन २०७६, आईतवार १९:१६

असोज १९, काठमाडौं । संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परको छन् ।

आज साँझ सभामुख निवासबाटै महरालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । यौन दुव्र्यवहार आरोपमा जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको उहाँले बताउनुभयो ।

आज दिउँसोमात्रै काठमाडौँ जिल्ला अदालतले यौन दुव्र्यवहारको आरोप लागेका महरालाई पक्राउको अनुमति दिएको थियो । न्यायाधीश ब्रजेश प्याकुरेलको आदेशले पक्राउको अनुमति दिएलगत्तै प्रहरीले सभामुख निवास गएर नियन्त्रणमा लिएको हो ।

एक अनलाइनसँगको अन्तर्वार्तामा ती महिलाले यही असोज १२ गते राति आफूलाई महराले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । सोही घटनाका कारण महराले सभामुखबाट राजीनामा दिनुभएको थियो ।

त्यसको दोस्रो दिन अर्को अनलाइनसँगको भिडियो अन्तर्वार्तामा उनले बुबा समानको मान्छेले त्यस्तो गर्नै नसक्ने र आफूले डिप्रेसनमा परेर रिसको झोँकमा आरोप लगाएको बताएकी थिइन् । सोही विषयलाई पुष्टिसहित महिलाले प्रहरीमा निवेदन दिँदै महराले आफूलाई दुव्र्यवहार नगरेको जनाएकी थिइन् ।

असोज १६ गते शुक्रबार पुनः यौन दुव्र्यवहारको आरोप लगाउँदै उनले प्रहरीमा जाहेरी दिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता बोगटीले जानकारी दिनुभयो । सोही जाहेरीका आधारमा आज महरालाई पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जीप दुर्घटना एकको मृत्यु (फोटोफिचर सहित)

१९ आश्विन २०७६, आईतवार १९:१६
जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला हिमा गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको सो दुर्घटनामा मृत्यु भएको हो । उहाँको उपचारको क्रममा मृत्यु भएको हो भने चालकसहित नौजना घाइतेको उद्धार गरिएको छ ।