तरकारीमा ८० प्रतिशत मूल्य वृद्धि

कर्णालीपत्र संवाददाता १७ आश्विन २०७६, शुक्रबार ११:४९

पुनम बिसी
सुर्खेत, १७ असोज। वीरेन्द्रनगर–६, की सीता न्यौपाने बिहीबार तरकारी किन्न बजार निस्किइन् । तरकारीको बजार भाउले उनलाई आश्चर्य बनायो । एकाएक तरकारीको भाउ बढेपछि उनले थोरैमात्र तरकारी किनिन् । उनको भान्सामात्र होइन कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरका भान्सा महँगिएका छन् ।

अस्वभाविकरूपमा तरकारीको मूल्य वृद्धि भएपछि यहाँका भान्सा महँगिएका हुन् । ‘तरकारीको मूल्य बढेको बढ्यै छ,’ उनले भनिन् । कर्णालीका लागि भारतबाट आयात हुने टमाटर, प्याजलगायतका तरकारीको मूल्य ८० प्रतिशतसम्म बढेको छ । गत भदौ २५ गतेसम्म प्याजको थोक मूल्य प्रतिकेजी ५५ रूपैयाँ थियो । त्यसको तीन सातापछि असोज १५ गते प्याज केजीको एक सय पाँच रूपैयाँमा बिक्रीवितरण भइरहेको छ । नागरिकहरूले एक सय २० देखि ३० रूपैयाँ केजीसम्म फुटकर मूल्यमा प्याज खरिद गरिरहेका छन् । यसैगरी टमाटरको मूल्य ४८ रूपैयाँ केजीमा थोक बिक्री भइरहेको थियो । अहिले टमाटरको मूल्य ७५ रूपैयाँ केजी थोक बिक्रीवितरण भइरहेको छ । नागरिकलाई फुटकररूपमा ८० रूपैयाँ केजीसम्म बिक्री वितरण हुन्छ ।

वीरेन्द्रनगरमा तरकारीको मूल्य आकासिएसँगै यसको प्रभाव समग्र प्रदेशमा देखिन्छ । खासगरी भारतको बजारसँग निर्भर रहेको कर्णालीको तरकारी बजारमा भारतीय उत्पादनले स्थान पाएका छन् । उच्च मूल्य दरमा भारतबाट आयात गरिएका तरकारीले यहाँको उत्पादनलाई विस्थापित गरिदिएको छ । मुख्यतय भारतबाट आयात गरिएको प्याज र टमाटरमा तरकारीमा मूल्य वृद्धि भएको हो । आलु, बन्दागोवी, काउली, मुला, भान्टा, सिमी, तिते करेला, लौका, फर्सी, बोडी, भिन्डी, चिचिन्डा, गाजर, केरा, अनार, कागती, काँक्रा, अदुवा, हरियो खुर्सानी, भेडे खुर्सानी र लसुनको १० देखि ३० रूपैयाँसम्म मूल्य वृद्धि भएको छ ।

भारतबाट आयातित तरकारीको तुलनामा जुम्लामा उत्पादन भएको स्याउको मूल्य भने भारतबाट आयातित तरकारीको अनुपातमा वृद्धि भएको छैन । गत भदौ २५ गते जुम्लाको स्याउको बजार मूल्य ६० रूपैयाँ प्रतिकेजी थोक थियो । ६० रूपैयाँ प्रतिकेजी थोक रहेको जुम्ली स्याउको मूल्य २५ प्रतिशतसम्म वृद्धि भएर असोज १५ गतेसम्म ७५ रूपैयाँमा बिक्रीवितरण भइरहेको छ ।

३९ सय मेट्रिकटन जुम्ली स्याउ

साउनयता सुर्खेतमा ३९ सय मेट्रिकटन स्याउ जुम्लाबाट ल्याइएको छ । नेपालका विभिन्न जिल्ला तथा भारतमा बिक्रीवितरणका लागि कृषि बजार सुर्खेतमा रहेका फलफूल तथा तरकारी पसलहरूले स्याउ सुर्खेतमा ल्याएका हुन् । साथै साउन २०७६ यता भारतबाट नौं सय ५० मेट्रिकटन प्याज आयात गरिएको छ । कृषि बजार व्यवस्थापन समिति सुर्खेतको तथ्यांकअनुसार बजारमा रहेका फलफूल तथा तरकारी बिक्रेताहरूले भारतका विभिन्न स्थानबाट प्याज आयात गरेको बजारका व्यवस्थापक केशर रास्कोटीले जानकारी दिए । प्याज सँगसँगै साउनयता भारतबाट कर्णालीका लागि १२ सय ४० मेट्रिकटन टमाटर आयात भएको छ । साउनयता कृषि बजारमार्फत् कर्णालीमा चार हजार चार सय ९८ मेट्रिकटन टमाटर बिक्रीवितरण भएको थियो । जसमध्ये तीन हजार दुई सय ५८ मेट्रिकटन टमाटर कर्णालीमै उत्पादन भएको हो ।

कृषकमुखी नीति आवश्यक

कृषि विशेषज्ञ छबिलाल पौडेलले सरकारले कृषकमुखी नीति ल्याउन नसकेको बताए । ‘तरकारी नागरिकको स्वास्थ्यसँग प्रत्येक्ष जोडिएको संवेदनशील विषय हो,’ उनले भने, ‘कर्णालीमा तरकारी उत्पादनको विषय हेर्दा लाजमर्दो बनेको छ । कर्णाली क्षेत्रमा तरकारी उत्पादन गरे उच्च गुणस्तरका तरकारी उत्पादन गर्न सकिन्छ । स्वास्थ्यका लागि स्वस्थकर तरकारी तथा फलफूल उत्पादनको सम्भावना प्रदेशमा छ ।’
प्रदेशभर ११ प्रतिशत मात्र जमिन खोतीयोग्य रहेको तथ्यांक छ । भिरालो जग्गाहरूमा मौसमी तथा बेमौसमी तरकारी, फलफूल उत्पादन गर्न सकिन्छ । कर्णालीको जैविक विविधतालाई प्रयोग गर्दै जैविक मल बनाउन सके अर्गानिक उत्पादन कर्णालीले पाउने छन् ।

उत्पादन वृद्धि गर्नुस्ः मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्पादन वृद्धि गर्न नागरिकलाई अनुरोध गरेका छन् । आयातित सामग्रीलाई मात्र ध्यान दिएको बताउँदै मुख्मन्त्री शाहीले स्याउ, सिमीलगायतका रैथाने उत्पादनमा उत्पादन वृद्धि गर्नुपर्ने बताएका हुन् ।

कालीकोटको खाँडाचक्र नगरपालिका–८, को जनप्रभात माध्यमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले यसो बताएका हुन् । उनले भने, ‘हामीले उत्पादन गर्न सकेका छैनौं केवल कोकाकोला, चाउचाउ, चामल ल्याएका छौं, पैसा पठाएका छौं । हाम्रो विगतको पुस्ता आफैँ उत्पादन गरेर बिक्री गर्ने कर्णालीको पुस्ता हो, अहिले कोही आयो कि माग्ने काम मात्रै भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीले पठाए दसैं खर्च

१७ आश्विन २०७६, शुक्रबार ११:४९
डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका छोरीहरूको चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं खर्च पठाएका छन् ।