झुपडीमा खाना छैन, सांसदलाई २८ लाख

कर्णालीपत्र संवाददाता १७ आश्विन २०७६, शुक्रबार ११:३६

वसन्त भण्डारी र पुनम विसी

सुर्खेत, १७ असोज । कर्णाली प्रदेशसभाका सांसदलाई चाडपर्व खर्चभन्दै ठूलो रकम वितरण गरिएको छ । कर्णाली प्रदेशसभा सचिवालयले उनीहरूलाई चाडपर्व खर्चबापत २८ लाख ४१ हजार ६ सय १० रूपैयाँ वितरण गरेको हो ।

असोज १२ गते घटस्थापनाकै दिन उक्त रकम बैंक खातामार्फत् भुक्तानी गरेको प्रदेशसभा सचिवालयका लेखा अधिकृत यामबहादुर बिसीले जानकारी दिए । प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको सेवासुविधा सम्बन्धित मन्त्रालयबाटै हुने उनले बताए । लेखा अधिकृत बिसीका अनुसार प्रदेशसभाका सभामुख, उपसभामुख, सांसद शुसील थापाका स्वकीय सचिवबाहेक ३० जना सांसद, ३३ जना स्वकीय सचिव, ११ जना सांसदका सवारी चालक, चारजना कार्यालय सहयोगी र तीनजना प्रशासन सहायकलाई दसैं खर्च दिइएको छ ।

चाडपर्व खर्चबापत सभामुख राजबहादुर शाहीले ५३ हजार, प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही, नेकपाका सांसद यामलाल कँडेल र उपसभामुख पुष्पा घर्ती विष्टले ५० हजारका दरले रकम बुझेका छन् । यसैगरी संसदीय समितिका सभापति, दलका प्रमुख सचेतक र सचेतक गरी सातजनाले ४८ हजारका दरले दसैं खर्च बुझेका छन् । प्रदेशसभामा भएका अन्य २४ जना सांसदले प्रतिसांसद ४५ हजारका दरले चाडपर्व खर्च बुझेको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सांसदका स्वकीय सचिव र अन्य कर्मचारीले पनि दसैं खर्चबापतको रकम बुझेका छन् । रकम बुझ्नेमा सभामुख र उपसभामुखका स्वकीय सचिवले ३५ हजार नौ सय ९० रूपैयाँ लिएका छन् । ३१ जना सांसदका स्वकीय सचिव र दुईजना कम्प्युटर अपरेटर पनि छन् । जसले २८ हजार दुई सयका दरले रकम बुझेका छन् । कर्णालीपत्रलाई प्राप्त जानकारीअनुसार नौजना सवारी चालकलाई २२ हजार दुई सय १० र चारजना कार्यालय सहयोगीले १९ हजार चार सय ८० का दरले रकम बुझेका छन् ।

कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवथा गर्न बनेको विधेयक, २०७५ को नियम १० को चाडपर्व खर्चमा भएको व्यवस्थाअनुसार यो रकम भुक्तानी गरिएको प्रदेशसभा सचिवालयका लेखा अधिकृत बिसीले बताए । जसमा ‘पदाधिकारी र सदस्यले आफ्नो धर्म, संस्कृत र परम्पराअनुसार मनाइने चाडपर्वको लागि आफूले खाइपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक आर्थिक वर्ष चाडपर्व खर्चको रूपमा पाउने छन्’ भन्ने व्यवस्था गरिएको छ ।

झुपडीमा आएन दसैं

‘दसैं आयो, सबै घरमा जम्मा हुन्छन् । सुखदुःखका कुरा गर्छन् । विभिन्न खानाका परिकार खान्छन् । टीकाटाला लगाएर खुसी साट्छन् । तर मेरो भने रुवाइ हुन्छ,’ कर्णाली प्रदेशसभा भवन नजिकै बस्दै आएका महेन्द्र हमालले भने, ‘एक लरु काँ जाई मरु’ जस्तै भएको छ ।’

कालीकोटस्थित साविकको धौलाकोट गाविस स्थायी घर भएका महेन्द्र २०५५ सालदेखि यहाँ वीरेन्द्रनगरमा बस्दै आएका छन् । ‘सबै घरआउजाउ गर्छन,’ उनले भने, ‘न म कही जानु छ, न त कोही आउँछन् ।’ दसैं नजिकिँदै गर्दा पनि मिठो खाने र नयाँ लुगा लगाउने खर्चसमेत नभएको उनी बताउँछन् ।

‘काम गर्न सक्ने भए आफैँ गरेर खान्थे, कसैको आस थिएन्,’ उनले भने, ‘काम गर्न नसक्ने भएपछि पैसा पनि छैन । दसैं पीडामा पीडा थप्न आउँछ ।’ १८ वर्षदेखि खुसीका साथ दसैं मनाउन नपाएको उनले बताए । ‘पाँच वर्ष बढी भयो मैले मासु खान पाएको छैन,’ उनले भने, ‘झुपडीमा दसैं आएको महसुस भएको छैन ।’ ‘बजार जाँदा चहलपहल बढेको देखिन्छ,’ उनी भन्छन्, ‘मन अझ बहकिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तरकारीमा ८० प्रतिशत मूल्य वृद्धि

१७ आश्विन २०७६, शुक्रबार ११:३६
अस्वभाविकरूपमा तरकारीको मूल्य वृद्धि भएपछि यहाँका भान्सा महँगिएका हुन् । ‘तरकारीको मूल्य बढेको बढ्यै छ,’ उनले भनिन् । कर्णालीका लागि भारतबाट आयात हुने टमाटर, प्याजलगायतका तरकारीको मूल्य ८० प्रतिशतसम्म बढेको छ । गत भदौ २५ गतेसम्म प्याजको थोक मूल्य प्रतिकेजी ५५ रूपैयाँ थियो । त्यसको तीन सातापछि असोज १५ गते प्याज केजीको एक सय पाँच रूपैयाँमा बिक्रीवितरण भइरहेको छ ।