उद्धार गरिएका बालबालिका परिवारको जिम्मामा

कर्णालीपत्र संवाददाता १४ आश्विन २०७६, मंगलवार ०९:३४

कर्णालीपत्र
हुम्ला, १४ असोज। भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताँथलीमा रहेको एक बालगृहबाट उद्धार गरिएका आठजना बालबालिकालाई परिवारको जिम्मा लगाइएको छ । गएको असार १८ मा ताँथलीको महिला समाज नामक संस्थाले सञ्चालन गरेको बालगृहबाट जोखिमपूर्ण अवस्थामा उद्धार गरिएका बालबालिकालाई केन्द्रीय बालकल्याण समितिले उद्धार गरेको थियो ।

बालगृहबाट उद्धार भई काठमाडौं ट्रान्जिट होममा रहेका हुम्लाका दशजनामध्ये आठजना बालबालिकालाई हिमाली नविन समाज नामक गैरसरकारी संस्थाले जिल्ला प्रशासन कार्यालयको रोहबरमा परिवारलाई हस्तान्तर गरेको छ । उद्धार गरिएका बालबालिकालाई अविभावको जिम्मा लगाउँदै हिमाली नविन समाजका कार्यकारी निर्देशक धनबहादुर लामाले बोर्डिङ पढाउने नाममा आफ्ना सन्तानलाई नबेच्न बालबालिकाका अविभाकलाई आग्रह गरे । ‘४०\५० हजारमा पढाउने भन्दै तपाईंहरूले आफ्ना नानीहरूलाई नारकीय अवस्थामा पु¥याउनु भएको छ,’ कार्यकारी निर्देशक लामाले भने, ‘तपाईंहरू आफ्ना छोराछोरी काठमाडौं बोर्डिङमा पढेछन् भनेर ढुक्क हुनुहुन्थ्यो होला तर अवस्था कस्तो थियो अब आफैँ सोध्नुहोस् ।’

निःशुल्क शिक्षा र पालनपोषणको नाममा आफ्नै बालबालिकालाई त्यसरी बेच्ने अविभावकलाई कानूनअनुसार कारबाही गर्ने बताएकी प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले त्यस्ता गतिविधिमा संलग्न अविभावक र बीचमा व्यक्तिलाई कुनै पनि हालत कानूनी दायरामा ल्याइछोड्ने बताइन् । जिल्लाका सिमकोट, खार्पुनाथ सर्केघाड गाउँपालिकाबाट अविभावकलाई निःशुल्क पढाइ दिने भन्दै केही स्थानीयले लिएका बालबालिकालाई बालगृहमा निकै दयनीय अवस्थामा राखिएको सूचनाका आधारमा राष्ट्रिय बाल परिषद् (केन्द्रीय बाल कल्याण समिति ललितपुर), समाजकल्याण परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र र चाँगुनारायण नगरपालिका भक्तपुरबाट संयुक्तरूपमा खटिएको टोलीले उद्धार गरेको थियो । उद्धार गरिएका दशजना हुम्लाका बालबालिकामध्ये आठजनालाई सिमकोटमा पु¥याएर हिमाली नविन समाजले अविभावकको जिम्मा लगाइएको छ । उद्धार गरिएका दुईजनालाई काठमाडौंमै आफन्तको जिम्मा लगाइएको संस्थाका हुम्ला संयोजक रमेश रावतले जानकारी दिए ।

जिल्लाकै बिचौलियाले अविभावकलाई बोर्डिङ पढाइ दिने लोभ देखाएर अभिभावकबाट २० हजारदेखि एक लाखसम्म रकम असुलेर बर्सेनि बालबालिकालाई काठमाडौंलगायतका सहरमा लिने गरेको हिमाली नविन समाजले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०७६-०६-१४

१४ आश्विन २०७६, मंगलवार ०९:३४