सावरी चालक फूलमाला लगाउँदै प्रहरी : यात्रा सफल रहोस्

कर्णालीपत्र संवाददाता १३ आश्विन २०७६, सोमबार ०९:०७

वसन्त भण्डारी
सुर्खेत, १३ असोज। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट आवतजावत गर्ने सवारी चालक, सहचालक र यात्रुलाई फूलमालासहित दसैंको शुभकामना दिइएको छ । दसैंतिहार तथा छठको अवसरमा जिल्ला प्रहरी तथा ट्राफिक प्रहरी कार्यालय सुर्खेतद्वारा आइतबार आयोजित यात्रु तथा सवारी चालकहरूलाई ‘सुरक्षित यात्राको शुभकामना’ कार्यक्रममा माला पहिराएर सुखद् र सफल यात्राको शुभकामना दिइएको हो ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले बसपार्कमा भएको उक्त कार्यक्रममा चालक, सहचालक र यात्रुलाई फूलमाला लगाएर शुभकामनासहित सुरक्षित यात्राको शुभकामना दिएका थिए । सधैंजसो समयमा यात्रु लगेर आफ्नो गन्तव्यतिर जाने सावारी चालकहरू प्रहरीले फूलमाला लगाउँदा मख्ख देखिन्थ्ये । सधैं लाइसेन्स, बिलबुक चेक गर्ने, गल्ती गरे जरिवाना तिराउने प्रहरीले आफूलाई सम्मानपूर्वक अविरसहित माला लगाउँदा आफूहरू खुसी भएको चालकहरूको भनाइ छ । यस्तो सम्मानले आफूहरूलाई अझै जिम्मेवारी थपिएको उनीहरूको भनाइ छ ।

वीरेन्द्रनगरबाट आवतजावत गर्ने सावरी चालक, यात्रुलाई फूलमाला लगाउँदै प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जोशीले भने, ‘तपाईंहरूको यात्रा सफल रहोस् । दसैंतिहारको शुभकामना ।’ ‘दसैंको समयमा अन्य समयभन्दा धेरै दुर्घटना भएको पाइन्छ,’ प्रहरी नायब महानिरीक्षक जोशीले भने, ‘यो समयमा यातायात क्षेत्रमा धेरै भिडभाड हुन्छ । त्यो समयमा चालक, यात्रु दुवै सचेत हुनुपर्छ ।’ ‘सवारी दुर्घटनामा धेरै ठाउँमा चालकको लापर्बाहीले भएको पाइन्छ,’ उनले थपे, ‘त्यसैले चालकलाई सचेत गराए दुर्घटना धेरै मात्रामा न्यूनीकरण गर्न सकिन्छ ।

प्रहरीले सम्भावित दुर्घटनालाई मध्ये नजर गर्दै चालकलाई सचेतनादेखि अन्य विभिन्न कामहरू गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) डिल्लीराज पन्तले सावरी चालकसँगै यात्रुहरू पनि सचेत भएर यात्रा गर्न आग्रह गरे । यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदय सिजापतिले सम्भावित दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिए । प्रहरीले दसैंतिहारलाई मध्येनजर गर्दै केही दिन अघि मात्रै बसपार्कमा यात्रुलाई सहजताको लागि यात्रु सहायता कक्षको स्थापनासमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देवकी तिमल्सिनाको युद्धले जुर्मुराएको साहित्य

१३ आश्विन २०७६, सोमबार ०९:०७
करिब चार/पाँचजना महिला दिदीबहिनीहरू हुनुहुन्थ्यो । उहाँहरूको कथा दर्दनाक थियो । प्रहरी/सेनाद्वारा भिडन्तमा पक्राउ परेपछि उहाँहरूमाथि बलात्कार भएको थियो ।