सुर्खेत र दैलेखको विवादले नेकपा एकता प्रक्रिया अवरुद्ध

कर्णालीपत्र संवाददाता १२ आश्विन २०७६, आईतवार १०:४२

वसन्त भण्डारी
सुर्खेत, १२ असोज

घोषणा भएको १६ महिना बितिसक्दा पनि कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया सकिएको छैन । दशवटा जिल्ला तहको एकीकरण सकेको पार्टीले केही स्थानीय तह, वडा र भातृ संगठनको एकीकरणको काम अझै बाँकी रहेको जनाएको छ ।
कर्णालीका दश जिल्लाका ७९ स्थानीय तहमध्ये सुर्खेत, दैलेख र जाजरकोट गरी तीन जिल्लाका २७ वटा स्थानीय तहको नेतृत्वसहित कमिटी घोषणा गर्न बाँकी रहेको नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेश कार्यालयले जनाएको छ । जसमध्ये जाजरकोटका सातवटा स्थानीय तहमा सहमति भइसके पनि घोषणा हुन सकेको छैन । कार्यालयका अनुसार हिमाली जिल्ला डोल्पाका आठवटा स्थानीय तहमध्ये चारवटा तहमा एकता भएको छ भने चारवटामा बाँकी नै रहेको बताइएको छ । जसमा एक पूर्व माओवादीको भागमा परेको छ भने तीन पूर्व एमालेको भागमा परेको छ । एकताको लागि जिल्लामा कार्यदल खटाएको र उक्त कार्यदलले एकताको काम गरिरहेकाले केही समयमा नै एकता प्रक्रिया सकिने जनाइएको छ । यता दैलेख र सुर्खेतका स्थानीय तहको एकताको भने टुंगो लागेको छैन । कर्णाली प्रदेशको राजधानीसमेत रहेको जिल्ला सुर्खेत र दैलेखमा पार्टीभित्रको विवादका स्थानीय तहको एकीकरणको काम बाँकी रहेको पार्टी स्रोतले जानकारी दिएको छ । सुर्खेतमा पूर्व एमाले र पूर्व माओवादीले कति÷कति वटा स्थानीय तह लिने भन्ने विवाद छ । नौवटा स्थानीय तह रहेको सुर्खेतमा पूर्व एमालेले ६ र पूर्व माओवादीले चारवटा दाबी गरेको कारण एकीकरणमा ढिलाइ भएको जनाइएको छ । त्यस्तै ११ वटा स्थानीय तह रहेको दैलेखमा पूर्व एमालेले कम्तीमा आठ स्थानीय तह आफूहरूले पाउनु पर्ने दाबी गरेपछि एकीकरण प्रक्रिया लम्बिएको बताइएको छ । पूर्व माओवादीको संगठन कमजोर रहेको र जिल्लाका कुनै स्थानीय तहमा निर्वाचन जित्न नसकेको भन्दै पूर्व एमालेले पूर्व माओवादीलाई बढीमा तीनवटा मात्र स्थानीय तह दिन सकिने बताएपछि स्थानीय तहको एकीकरणको काम प्रभावित भएको एक नेताले बताए ।
पार्टीभित्रको आन्तरिक कुरा नमिलेको कारण एकता प्रक्रिया ढिलो हुँदै गएको नेकपाका केन्द्रीय सदस्य मायाप्रसाद शर्माले बताए । ‘पार्टीभित्र पूर्व एमाले र पूर्व माओवादी आफैँभित्र नै कुरा मिल्दैन,’ उनले भने, ‘सांसदहरू सबै जम्मा भएर छलफल हुँदैन । कोही सांसदहरू काठमाडौं छन् । कोही प्रदेशमा छन् । सबै नेताहरू जम्मा भएर छलफल भयो भने यो दसैंतिहारसम्म सबै प्रक्रियाहरू मिल्छ होला ।’
केन्द्रीय सदस्य शर्माका अनुसार रुकुम पश्चिम, जाजरकोट, कालीकोट, मुगु, हुम्ला जिल्लामा वडा तहको एकता भइसकेको छ भने अन्य जिल्लामा बाँकी रहेको छ ।
भातृ संगठनको एकतामा अन्योल
पार्टी एकतासँगै विगठन भएका भातृ संगठनको एकता पनि अलपत्र परेको छ । भातृसंगठनको केन्द्रीय संयोजक तोकिए पनि प्रदेश र जिल्ला नेतृत्व चयन भएको छैन । पार्टीभित्रका आन्तरिक विवादका कारण भातृ संगठनका प्रदेश हुँदै जिल्ला तहसम्म एकता प्रक्रिया रोकिएको हो । लामो समयसम्म एकता नहुँदा भातृ संगठनका नेता तथा कार्यक्रताहरू जिम्मेवारीविहीन बनेको गुनासो गर्दै आएका छन् ।
२०७५ साल जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेपाल माओवादी केन्द्र) बीच एकता भएको थियो । यता नेकपा कर्णाली प्रदेशले भने एकता प्रक्रिया जारी रहेकाले दसैंतिहारसम्म जिल्ला र स्थानीय तहसम्म टुंगो लाग्ने बताएका छन् । एकता प्रक्रियामा पटकपटक म्याद थप हुँदै सकिए पनि एकताको सबै प्रक्रिया पूरा हुन सकेको छैन । कर्णालीका १० वटा जिल्लाहरूमा यस अघि नै ६ जिल्लामा पूर्व माओवादी र चार जिल्लामा पूर्व एमालेले नेतृत्व सम्हाल्ने गरी कमिटीको टुंगो लगाइएको छ । जसमा हुम्ला, जुम्ला, मुगु, कालीकोट, रुकुम पश्चिम, जाजरकोट पूर्व माओवादी र डोल्पा, सल्यान, सुर्खेत र दैलेख पूर्व एमालेको भागमा परेको नेकपा कर्णाली प्रदेशले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश स्वास्थ्य : कर्णालीमा ई–हेल्थको तयारी

१२ आश्विन २०७६, आईतवार १०:४२
सुर्खेत, ११ असोज (कर्णालीपत्र ) : कर्णाली प्रदेश सरकारले अब ई–स्वास्थ्य (इन्टरनेटको प्रयोगबाट) सेवा प्रदान गर्ने भएको छ । प्रदेशको भौगोलिक जटिलताले हिमाली जिल्लाका नागरिकलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा दिन नपाएको ठहर गर्दै कर्णाली प्रदेश सरकारले प्रदेशमा स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ मार्फत् यस्तो व्यवस्था गर्न […]