घटस्थापना आज

कर्णालीपत्र संवाददाता १२ आश्विन २०७६, आईतवार ०७:३१

१२ असोज । आइतबार (आज) घटस्थापनासँगै यसवर्षको दसैं औपचारिकरूपमा आरम्भ भएको छ । मीठो मसिनो खाने, राम्रो लगाउने, रमाइलो गर्ने वर्षदिनको चाड दसैंमा नेपालीहरू जहाँसुकै भए पनि मूलथलोमा भेला हुने गर्छन् ।

चाडपर्वका बेला घर, गाउँमा आफन्तदेखि साथीभाईको समेत जमघट हुने भएकाले धेरै यही समयलाई घर फर्किन उत्तम बेला ठान्ने गर्छन् । घटस्थापनाको शुभ साइत भने असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा नै रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकरी दिए । यस वर्ष असोज २१ गते परेको दसैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

के हो घटस्थापना ?

उनका अनुसार विजया दशमीको दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विर्सजन गरेर टीका ग्रहण गर्न सकिने भए पनि उत्तम साइत भने १० बजेर ३५ मिनेटमा रहेको छ । यस्तै असोज २६ गते आइतबार दसैंको अन्तिम वा क्रोजागत पूर्णिमाको दिन भने जतिबेला पनि जमरा सेलाउन सकिनेछ ।

आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महŒवपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवीदेवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धिपश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।

माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्न जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश) को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ । ब्रह्मवैवर्त पुराण भन्ने ग्रन्थका अनुसार वर्णन गरिएका नवदुर्गाहरू यी हुन्; प्रकति–पूर्व, चण्डिका–आग्नेय, भद्रकाली–दक्षिण, सर्वमंगला–वायव्य, वैष्णवी–उत्तर, शिवप्रिया–ईशान, जगदम्बिका–जल, थल र आकास । यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको कुराको चाल पाइन्छ । हाम्रो धर्म, संस्कृतिअनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवम् तीर्थहरू निहीत छन् जुन कुरा कालीका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमंगलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ । आधारहरूको कारण उपयुक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैं पूजाको थालनी गरिएको हो । यसैले दसैंको अवसरमा आआफ्नै आगमस्थित देवी भगवती जगदम्बाको पूजा गरिनुबाहेक अन्य देवीस्थलहरूमा गई देवीदेवताहरूको पूजा–उपासना, पुकार तथा दर्शनको लागि जानु आवश्यक नपर्ने वास्तविकतातिर औँल्याएको पाइन्छ ।

यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शंख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती (चण्डी), स्त्रोत्ररत्नावली, कालीकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ । पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । बलि दिइसकेपछि यस दिनको कार्य समापन गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०७६-०७-१२

१२ आश्विन २०७६, आईतवार ०७:३१

सम्बन्धित शीर्षक