संसद्को पहिलो दिन…

कर्णालीपत्र संवाददाता ११ आश्विन २०७६, शनिबार ०९:५५
नवराज महतारा

२०६४ सालमा गठन भएको पहिलो संविधानसभाको बैठकमा समाचार संकलन गरेको सामान्य अनुभव थियो । नियमित नभए पनि कहिलेकसो संसद्मा जान्थे, त्यहीँ नै मेरो सामान्य संसदीय रिपोर्टिङको अनुभव बन्यो । तर पनि २०७२ को संविधानले एकात्मक शासन व्यवस्थाको अन्त्य गर्दै गणतान्त्रिक संघीय व्यवस्था संस्थागतरूपमै स्थापित गरेपश्चात् गठन भएका प्रदेशसभा होस् वा प्रतिनिधिसभा कुनैमा पनि व्यवस्थापिकाको बैठकमा रिपोर्टिङ गर्ने अवसर जुरेको थिएन । कर्णाली प्रदेशसभाको रिपोर्टिङको अवसर मेरा लागि त झन परको कुरा थियो ।

संविधानतः सबै प्रकारका अधिकार गाउँमै आएको अवस्थामा आफ्नो आवश्यकताले माग गरेका कानून आफ्नै क्षेत्रका प्रतिनिधिले आफ्नै भूगोलमा बनाउने व्यवस्थाका लागि शब्द, शक्ति र स्वर खर्चेको म बबुरोका लागि कर्णाली प्रदेशसभाको रिपोर्टिङ कम्तीको चाहनाको विषय थिएन् ।

पछिल्लो समय सुर्खेत बसाइँले आत्मैदेखि उत्कर्षमा पुगेको संसदीय रिपोर्टिङको तीव्र चाहनालाई पूर्ति गर्ने समयको पर्खाइमा थिएँ, म । त्यो समय गएको भदौ ३० गते जु¥यो । कर्णाली प्रदेशसभाको बैठक ३० गते अपरान्ह तीन बजे बस्दैछ भन्ने जानकारी पाएपछि म संसद्को रिपोर्टिङमा जाने पूर्व योजनामा थिएँ । जुन व्यवस्थाका लागि दशक अघिदेखि क्षतिपूर्तिसहितको स्वायत्त कर्णालीका बारेमा तमाम शब्द, आवाज, तागत र लवज खर्चियो उहीँ विषय प्राप्तिपछिको रिपोर्टिङमा जानुको हर्षले सिर्जित कौतुहलता कमी हुने झन कुरै भएन । हरेक पल र सेकेण्डको पदचापमा अघि बढिरहेको बबुरो रिपोर्टरका लागि ३० गतेको ३ बज्न पनि निकै बिलम्ब भएको महसुस मनमनै गरिरहेँ ।

तीन बजे शुरु हुने प्रदेशसभा बैठकको रिपोर्टिङमा जान कम्तीमा आधा घण्टा पहिले पुग्नुपर्छ भन्ने पूर्व योजनामा म थिएँ । सचिवालयसँग सम्पर्क गरेर प्रदेशसभाको बैठकमा जाने पासको व्यवस्थादेखि अन्य तयारी गर्नुपर्ने सोचले झन्डै दर्जनपटक घडी हेरेर समय कुरेको म २ बजेर ३० मिनेटमै प्रदशेसभाको बैठकको रिपोर्टिङमा जान तयार भएँ । सहकर्मी त्रिभुवन विसीसँग लिफ्ट मागेर संसद् भवन पुगेँ । सुन्दर नगरी वीरेन्द्रनगरलाई प्राकृतिक दृश्य, जैविक विविधता भौगोलिकस्थितिदेखि त्यसभित्र सम्पन्न हुने कामका आधारमा पनि निवास क्षेत्रको प्रदेशसभा भवन आसलाग्दै देखियो ।

मर्यादापालकले पालो नदिएपछि

संसदीय रिपोर्टिङमा मेरो निम्छरो अनुभवले रिपोर्टरको परिचय देखाएपछि सचिवालयभित्र सहज हुन्छ भन्ने मैले बुझेको थिएँ । सोहीअनुसार कर्णाली प्रदेशसभाको गेटबाट सीधै म प्रदेशसभाका पदाधिकारीको कार्यकक्ष भएको भवनतर्फ हानिएँ । मनमा पहिलोपटक प्रदेशसभाको रिपोर्टिङका विषयवस्तुको उठान र सभाभित्र सुनौलो कर्णाली प्रदेशका १७ लाख कर्णालीवासीको गौरवमय विगत, अभावी वर्तमान र सुनौलो भविष्यका बारेमा कस्तो छलफल हुँदो हो भन्ने जवाफको खोजीमा थिएँ । संसद्का पदाधिकारीको कार्यकक्षमै पुग्ने लक्ष्यमा कल्पिएको म गटेको अघि नपुग्दै रोक्नुहोस् ! भन्ने आदे्को सिकार भएँ । शुरुमा कुनै रैथाने नियमलाई मिचे कि भनेर रन्थनिएको बबुरोका अघि रोकिनुको कुनै विकल्प थिएन । न मैले सभाको रिपोर्टिङमा अनुभवी कसैको साथ नै लिएको थिएँ न मसँग कोही सांसद नै हुनुहुन्थ्यो । म नेपाली हुँ र मेरो राष्ट्रिय पोसाक दौरासुरुवाल हो भन्ने पहिचान दिने पहिरनमा सजिएर सबैका गतिविधिलाई नियमन गर्नु भएका मर्यादापालक मेरो अघि उभिएर सोधेको प्रश्नको जवाफमा मैले भने, ‘म संसद्को रिपोर्टिङमा आएको हो सर, सभामुख ज्यूकोमा केही सोधौं कि भनेर जान लागेको ।’

मेरो जवाफ फुत्किन नपाउँदै उहाँहरूले अहिले पर्खनुहोस् भनेर मेरो कदमलाई रोकेपछि त्यहीँ रोकिनुबाहेक कुनै उपाय नदेखेपछि म एकछिन नुनखाएको कुखुरो झैं सचिवालयको मूल भवनकै दैलोमा उभिएँ । मनमनै आफैँलाई प्रश्न गरेंं, ‘सार्वभौम संसद्भित्रका गतिविधिलाई नागरिक निगरानीका रूपमा रिपोर्टिङलाई लिने चलन नेपालको संघीय संसद्मा मात्रै होइन, संसारकै स्थापित मान्यता हो । तर मेरो प्रदेशमा किन यस्तो ?’ इतिहासमै पहिलोपटक जनताको ठूलो त्याग, तपस्या र बलिदानीबाट प्राप्त भएको संघीयताको सर्वोपरी अभ्यास गर्ने थलोमा प्रदेशसभाका गतिविधि हेर्न सर्वसाधारण नागरिक पनि सहजरूपमा आवतजावत पाउनु पर्ने हो । मनमनै भर्खरै जर्मनीमा भएको अन्तर्राष्ट्रिय खोजपत्रकारहरूको ग्लोबल सम्मेलनमा जर्मनीका मिडिया तथा संस्कृतिमन्त्रीको भनाइ निकै याद आयो । उनले सम्बोधनका क्रममा भनेका थिए, ‘पत्रकारिताले राम्ररी काम गरेन भने, बुझ्नुस् प्रजातन्त्रले राम्रोसँग काम गरेन ।’ कथित राज्यको चौथो अंग मानिने पत्रकारिताकै अध्यास गर्ने रिपोर्टरको प्रवेशमा सहजता नहुनुलाई अलिक असामान्य ठानेको म गेटमै केही समय अल्मलिएँ । यसको मतलब रिपोर्टर अन्य नागरिकभन्दा फरक हुन् । जसलाई बेग्लै व्यवस्था हुनुपर्छ भन्न खोजिएको कदापि होइन् ।

लक्ष्यअनुसारको भवनमा प्रवेश नपाएपछि म सीधै प्रदेशसभाको गेटतर्फ तेर्सिएँ । जहाँ सभाको बैठकमा सहभागी हुन पूरा गर्नुपर्ने केही नियम छन् । जसलाई सभाका सदस्य र केही विशिष्ठ व्यक्तिबाहेक अन्य सबैका लागि बाध्यात्मक हुन्छन् । गेटमा सचिवालयका कर्मचारी साथीहरूसँग आफ्नो काम र परिचयका बारेमा सविस्तार लगाएपछि मैले प्रदेशसभाको प्रवेशाज्ञ र संसद्को कार्यसूची प्राप्त गरेँ ।
यताउता गर्दै अपरान्हको ३ बजेर २० मिनेट गइसकेको थियो । ३ बजे तय भएको बैठक धकेलिँदै थियो । सांसदको चहलपहल पनि बढ्दै थियो । म फेरि संसद्का पदाधिकारीको कार्यकक्ष भएको सचिवालयको भवनतर्फ लागे । तेस्रोपटक पुगेको मैले गेटबाट प्रवेश गर्ने अनुमति पाएँ । ठूलै उपलब्धि हासिल गरेझैं संसद्का पदाधिकारीभित्रको प्रवेशले मनमा अनेक थरि जिज्ञासा जागे । मनले पत्रकार कम संघीयता र लोकतन्त्रका लागि अनेकन तहतप्काबाट लागेका म जस्ता बबुरालाई प्रवेशमा यस्तो सास्ती हुन्छ भने कुनै गाउँको नागरिकले कसरी प्रवेश पाउँला ?

सचिवालयको भवनमा प्रवेश पाउने बित्तिकै नेकपाका प्रमुख सचेतकको कार्यकक्षतर्फ मोडिएँ । जहाँ धेरै जना सांसद विभिन्न विषयमा छलफल गर्दै हुनुहुन्थ्यो । छलफलको सांक्षी बनेर बसेको मैले एकछिन निकै प्रफूल्लीत भएर सुनेँ । किनभने मैले कल्पना गरेको विषयमा सांसदहरूले रोचक ढंगले बहस गर्दै हुनुहुन्थ्यो ।


छेउको एसी र प्रतिपक्षको कविता

निर्धारित समयभन्दा झन्डै पौने घण्टा ढिलो ३ बजेर ३८ मिनेट जाँदा संसद्को ३१ औं बैठकको घण्टी बज्यो । संसद् बैठकको प्रचलित अभ्यासअनुसार घण्टी बज्ने बित्तिकै सबै सांसद सभातर्फ लाग्नुभयो । झन्डै ५ मिनेटमा शुरु भएको संसद्को ३१ औं बैठक सुचारु भयो । ओरालो लाग्दै गरेको सुर्खेतको गर्मीले आफ्नो प्रभाव संसद् हलभित्र समेत छोडेको थियो । बाहिरको गर्मीले प्रायः सांसददेखि बैठक हेर्न गएका दर्शकले पनि पसिना छुटाएका थिए । संयोग नै मान्नुपर्छ सबैतिर एसी जडान भएको संसद् हलमा प्रतिपक्ष दलका नेता बस्ने छेउको एसी नै चलेको रहेन छ ।

अपनत्व भएर पनि हुनसक्छ, सबै सांसदले गरेका गतिविधि नियाली रहन मन लाग्थ्यो । जसअनुसार संसद्को कर्मचारी बस्नेतर्फ बसाइँको म सबै सांसदका गतिविधिलाई माथिबाट नियाल्ने अवसरको सदुपयोग गरिरहेको थिएँ । ठीकै त्यहीँ बेला प्रतिपक्ष सांसदले एकआपसमा केही कुरा गरेको थाहा पाएँ तर विषयको गहिराइमा जाने अवस्था नै थिएन । लगत्तै सभामुख राजबहादुुर शाहीले प्रचलित व्यवस्थाअनुसार संसद्मा आफ्ना कुरा राख्ने समय प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीलाई दिनुभयो ।

व्यवस्थापिका र कार्यपालिकाको गतिलै अनुभव गरेका नेता शाहीले रोष्ट्रममा गएर तीन हरफको कविता भनेपछि बल्ल थाहा भयो, प्रतिपक्ष दलका सांसद छेउको एसी नचलेको पो रहेछ । आफ्नो छेउको एसी नचलेको, सरकारको ध्यान र विनियोजन विधेयकको अंग बनाउने भनेर सभाले पास गरेका विषय छुटेका प्रसंगलाई अन्त्यानुप्रास मिलाउँदै कवितात्मक हरफबाट शुरु गरेका शाहीको भनाइबाट संसद्को गतिरोध शुरुमात्रै भएन सभामुखले पटकपटक गरेको आग्रहलाई प्रतिपक्षले नमानेपछि ४ बजेर ११ मिनेट आधा घण्टाको लागि संसद् स्थगित भयो ।

पत्रकार शून्य संसद् र बिम्ब बदलिँदो पत्रकारिता

अठारौं शताब्दीको अन्ततिर बेलयातको संसद्मा सभामुखले मिडियालाई लक्षित गर्दै भनेका थिए, ‘यहाँ (संसद्मा) हामीमात्रै छैनौं, राज्यको चौथो अंगसमेत उपस्थित छ । जसबाट सिंगो दुनियाँले हाम्रा गतिविधि नियाली रहेको छ ।’ यो भनाइलाई मात्रै आधार मानेर आज राज्यको चौथो अंगका रूपमा अथ्र्याइएको पत्रकारिताका प्रयोगकर्ता पत्रकारहरूको उपस्थिति त्यहीँ प्रकृतिको कर्णाली प्रदेशसभामा आज कसरी उपस्थिति देखिन ?

सुर्खेत कार्यक्षेत्र बनाउने अवसर पहिलोपटक जुरेकाले सञ्चारकर्मीसँगको साममिप्यतामा देखिएको मेरो ग्यावले निकै झस्काइरहको थियो । त्यो दिन यो अवस्था अझ बढ्यो । मर्यादापालकको निर्देशनमा दर्शकको देब्रेपट्टि बसेको मैले सबैलाई सञ्चारकर्मीकै रूपमा बुझेको थिएँ । वास्तविकतासँगैका सबैलाई पत्रकार देख्ने बबुरो आफैँ गलत रहेछुँ । किन कि म त सञ्चारकर्मी बस्ने दीर्घामा नभइ कर्मचारीको दीर्घामा पो बसेको रहेछुँ । सञ्चारकर्मीलाई बस्ने भनेर दाहिनेपट्टि व्यवस्था गरिएको दीर्घामा कोही पनि देखिन । बाहिर आएर एकजना सांसदले भनेपछि मात्रै थाहा पाएँ, ‘संसद् बैठकमा म (सुनगाभा टेलिभिजनका क्यामरामेनबाहेक) म त एक्लै पो आएको रहेछुँ ।’

नेपाली राजनीतिमा देखिएको भन्दा नदेखिएका (अदृश्य) गतिविधि निकै महŒवका हुन्छन् । जहाँ सबै विषयको छायांकन भएर औपचारिक त केवल पर्दाको रूपमा मात्रै देखिने प्रचलन छ । यो (कर्णाली) प्रदेशमा पनि व्यापक छ तर यहाँका (सुर्खेतका) पत्रकारले त्यस्तो रिपोर्टिङ छुटाउँछन् । तपाईं त आउनु भएछ । किन आउनु भयो ? कोठामै बसेर समाचार तयार पारे भैगो नि ! भनेर एक जना सांसदको भनाइपछि मलाई निकै कौतुहलता जाग्यो । कर्णाली प्रदेशसभाका समाचार त राष्ट्रिय र स्थानीय समाचारमा निकै धेरै आउने गरेको पढेकै छुँ तर कसरी ? मेरो जिज्ञासा तिनै सांसदले मेटाइदिए । उनले भने, ‘संसद्को स्थलगत रिपोर्टिङ त सुनगाभा टेलिभिजनले गरिदिन्छ, पत्रकार त फेसबुकको अघि बसेर समाचार लेख्छन् ।’ ति सांसदको भनाइप्रति बाह्य सहमती जनाएको म दैनिकरूपमा आफैँले गरेको पत्रकारिताको बारेमा झस्किन बाध्य भएँ ।

पत्रकारितासँग सम्बन्धित प्रायः तालिम र गोष्ठीमा उठ्ने ‘हेलो पत्रकारिता’, दाजु÷कामरेड पत्रकारिता, ‘कन्ट्रोल सी र भि पत्रकारिता’ को बहस त अब सार्वभौम संसद्को क्षेत्रमा समेत प्रवेश गर्न थालेछ । आजीवन पत्रकारितामै जीवनको स्वर्णीम युग देख्ने म जस्ता बबुराको लागि यस्ता गम्भीर प्रकृतिका प्रश्नले निकै चित्त दुखाइ हुने रहेछ । हामीले गरेका गतिविधिले पत्रकारिता पेसालाई समाजले हेर्ने विद्यमान नजरमा निकै परिवर्तन हुँदै रहेछ भनेर निकै बेर घोत्लिएँ । मलाई लाग्यो अब पत्रकारिताप्रतिको बिरासत बिम्बमा खडेरी लाग्दैछ । हामीले पत्रकारिताको सिद्धान्तको लिकलाई व्यवहारिक प्रयोगमा छोड्दै गयौं भने समाजले आफ्ना सन्तानलाई उपदेश दिनेछ, ‘अरु जुन पेसा अंगाले पनि अंगाल्नु तर पत्रकार बन्ने पत्रकारिता पेसामा अब कहिल्यै नलाग्नु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रश्न गरिएन भने लोकतन्त्र मर्छ

११ आश्विन २०७६, शनिबार ०९:५५
हाम्रो समयको सबैभन्दा जटिल विषय ‘हामी’ हो। हामी अर्थात जनता कलरलेस हुन्छ वा कलरफुलरु त्योभित्रको डिभिजन के हुन्छरु पिपुल आफैमा बहुभाषी हो। हामी भन्ने शब्दलाई कसरी हेर्ने भन्ने सन्दर्भमा विगत १०–१५ वर्षको महत्वपूर्ण ‘भोकेसन अफ टाइम’ के हो भने कसले कसलाई प्रतिनिधित्व गर्छरु कसले कसका लागि बोल्दछरु कसले कसको नेतृत्व […]

सम्बन्धित शीर्षक