सामाजिक सञ्जालबाट महिला हिंसा

कर्णालीपत्र संवाददाता ११ आश्विन २०७६, शनिबार ०९:१२

पुनम बिसी
सुर्खेत, ११ असोज
घटना १ ः कालीकोटकी रामजानकी ठकुरीको (नाम परिवर्तन) सँग केमराज केसी नाम गरेका व्यक्ति गफिन थाले । कुराकानी मात्रै गरेरनन् उनले रामजानकीको अनुमतिबिना फेसबुकमार्फत् अश्लिल तस्बिर पनि पठाउन थाले । कालीकोटबाट अध्ययनको सिलसिलामा सुर्खेत बसोबास गर्ने रामजानकीको व्यक्तिगत जीवनमा यो घटनाले निकै प्रभाव पा¥यो । सामाजिक जीवनमा उनले आफूलाई असहज महसुस गर्न थालिन् ।
–––
घटना २ ः सुर्खेत बराहताल गाउँपालिकाकी रामकुमारी बस्नेत (नाम परिवर्तन) लाई पनि ठकुरीको झै फेसबुकमार्फत् पुरुषका नांगा तस्बिरहरू आउन थाले । सुरज भण्डारी नामको फेसबुक एकान्ट भएका व्यक्तिले उनलाई पुरुषका नांगा तस्बिर तथा अश्लिल मेसेज पठाउन थालेका थिए । उनी भन्छिन्, ‘हरेक दिन उसले मलाई अश्लित तस्बिर पठाउँथ्यो । बोल्न नमिल्ने खालका शब्दसहित उसले मलाई फेसबुकमा मेसेज गथ्र्यो ।’
विवाहित बस्नेतलाई त्यो घटनाले हिंसामा पर्न बाध्य बनायो । मेसेजमा त्यस्ता अश्लिल शब्द र तस्बिर आउन थालेपछि घरमा झगडाको बीउ रोपियो । श्रीमान्ले उनलाई दिनहुँ यातना दिन थाले ।
–––
घटना ३ः यस्तै वीरेन्द्रनगर–९, निवासी एक व्यक्तिले वीरेन्द्रनगरकी नेत्रा चालिसे (नाम परिवर्तन) लाई अश्लिल भिडियो पठाउने गरेका थिए । चालिसेको अनुमतिबिना ति व्यक्तिले फेसबुक मेसेजमार्फत् अश्लिल भिडियोका साना क्लीपहरू पठाइरहेका थिए ।
–––
घटना ४ः रजनी मल्ल (नाम परिवर्तन) पनि सामाजिक सञ्जालमार्फत् भएका हिंसाबाट बच्च सकिनन् । उनलाई पनि विपना नाम गरेको फेसबुक एकान्टमार्फ्त नांगा फोटोहरू आउन थाले । जसको कारण उनको वैवाहिक जीवनमा पनि असर प¥यो । सोही कारण उनी आफ्ना श्रीमान्बाटै घरेलु हिंसाको सिकार भइन् ।
–––

माथि उल्लेखित केही घटना प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । यी प्रतिनिधिमूलक घटनाहरूले समाजमा सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको देखाउँछ । प्रहरीले पनि सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बताएको छ । सामाजिक सञ्जालमार्फत् हिंसाका घटना बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत तथा प्रहरी निरीक्षक भरतबहादुर शाहीले बताए । ‘सामाजिक सञ्जालले हिंसा बढाउँदैछ,’ उनले भने, ‘फेसबुकमार्फत् अश्लिल फोटो÷भिडियो पठाएका घटना समाजमा थुप्रै छन् ।’
गत वर्ष दुईवटा मात्र सामाजिक सञ्जालमार्फत् महिलामा भएका हिंसाका घटना दर्ता भएका थिए । यस आर्थिक वर्षको असोज पहिलो सातासम्म प्रहरीकोमा दुई मुद्दा दर्ता भइसकेका छन् । एक प्रहरीले भने, ‘हामीकहाँ सामाजिक सञ्जालमार्फत् भएका हिंसाका घटना प्रायः आउँछन् । यसमा जघन्य खालका घटनाहरूलाई हामी केन्द्रिय स्तरमा पठाउने गर्छौं । ससाना मुद्दाहरू आए पनि अभिलेखमा नभएको उनको भनाइ छ ।
अन्यायमा हुँदा पनि प्रायः महिलाहरू मौन बस्ने गरेकाले सामाजिक सञ्जालमार्फत् महिला हिंसाका घटना बढिरहेको महिला अधिकारकर्मी मधुरानी ढकालको धारणा छ । ‘थोरै मात्रामा मात्र घटना बाहिर आएका छन्,’ उनले भनिन्, ‘यस्ता खाले धेरै घटनालाई महिलाहरू सहेरै बस्ने गर्नुभएको छ ।’ आफूमाथि अन्याय तथा हिंसा हुँदा प्रतिकार गर्नुपर्ने उनले भनाइ छ ।
कानूनी प्रक्रिया पनि झन्झटिलो भएको धारणा व्यक्त गर्दै ढकालले यस्ताखाले सामाजिक कूप्रथाविरुद्व मुद्दा दिने चलन बढाउनुपर्ने बताइन् । उनले भनिन्, ‘हाम्रो समाजमा धेरै महिलालाई हिंसा सहँदै अन्यायमा बस्ने बानी परेको छ । बसेरै समस्याको समाधान हुँदैन । त्यसका लागि मुद्दा दिने चलन बढाउनुपर्छ ।’
पाँच वर्षसम्म कैद
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार विद्युतीय सञ्चार माध्यमद्वारा महिलालाई हैरानी गर्ने, जिस्काउने तथा अपमान गर्ने गरेमा एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
ऐनको दफा १७ को उपदफा १ मा ‘कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनि रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ,’ भन्ने व्यवस्था गरिएको छ । साथै उल्लेखित बमोजिमको कसूर पटकपटक गरेमा त्यस्तो कसुरबापत अघिल्लोपटक भएको सजायको डेढी सजाय हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माननीयज्यू सभ्य बोल्ने कि ?

११ आश्विन २०७६, शनिबार ०९:१२
कांग्रेस नेता प्रदीप गिरीले प्रतिनिधिसभाको बैठकमा बेलाबखत् केही सांसदहरूलाई कटाक्षय गर्दै भन्ने गर्छन्, ‘सभामा बस्नका लागि तिनै व्यक्ति उपयुक्त हुन्छन्, जसलाई सभ्य भन्ने चलन छ ।’ सांसद, चिन्तक, राजनीतिक विश्लेषक गिरीले भनेझंै सभामा बस्नेहरू सभ्य हुनुपर्छ की जे गरे पनि हुने होला ? यसै विषयमा कर्णाली प्रदेशसभा सदस्यहरूले सभामा बोल्ने […]