संसदको आडमै झुपडी कथा; पुगेन सरकार र सांसद्को ध्यान

कर्णालीपत्र संवाददाता १० आश्विन २०७६, शुक्रबार ०८:५९

वसन्त भण्डारी
सुर्खेत, ९ असोज। ठूलो बाँसको झ्याङ । त्यससँग जोडिएर बनाएको सानो झुपडी । पानी पर्दा टहराभित्र रहेको चुलोमै पानी चुहिन्छ । त्यहीँ झुपडीभित्र कालीकोटका महेन्द्रबहादुर हमाल । त्यतिमात्र होइन उनको सिरानीमा कर्णाली प्रदेशसभा भवन छ । त्यहीँ भवनकै भित्तामा जोडेर उनले झुपडी बनाएका छन् । उनकै सिरानीमा रहेको प्रदेशसभा भवनमा कर्णालीका दुखी, गरिब र विपन्नका लागि बनाइएको नीति तथा कार्यक्रम पास हुन्छ । तर विडम्बना भवनसँगै जोडिएको झुपडीमा उक्त कार्यक्रम पस्न सकेन, जसले गर्दा महेन्द्र वर्षाैंदेखि चुहिने छानोमुनि बस्न बाध्य छन् ।

संसद् बैठक र अरु समयमा केही सांसद, मन्त्रीहरू उनकै अगाडिबाट हिँड्छन्, तर महेन्द्रको झुपडी उनीहरूको आँखामा पर्दैन, जसले कर्णाली सरकारले निमार्ण गरेका नीति तथा कार्यक्रम वास्तविक गरिब, विपन्नभन्दा पहुँचवालासम्म पुग्छ भन्ने यो एउटा उदाहरणले पनि पुष्टि गर्छ ।

प्रदेशसभा भवनको ५० मिटर पछाडि वालको आँडैमा महेन्द्रले झुपडीबाट दैनिकी गुजारा गर्छन् । प्रदेशसभा भवनको वरिपरि घेरिएको वाललाई घरको मूल खम्बा बनाएर, माथितिर बाँसको रुखलाई अर्को खम्बा बनाएर केही च्यातिएका जस्तापाता, वरिपरि भाँडाकुँडी, ढुंगा, माटोले घेरेर झुपडी बनाएका छन् । उनी बसेको १० मिटर जति माथितिर प्रदेशसभाको सुरक्षार्थ खटिएका प्रहरी छन् । उनीहरूको दुरीको बीचमा त्यो बाँसको रुख छ भने उनी बसेको पूर्वतर्फ करिब २० मिटर पर कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी सुरक्षार्थ तैनाथ छन् । बीचमा बाटो छ, जहाँ मानिसहरू वारपार गर्छन् ।

आफ्नो स्थायी घर कालीकोट (साविकको घौलाकोट गाविस) बताउने महेन्द्रको समस्या अहिलेसम्म संसद्मा कुनै सांसदले पीडा सुनाएका छैनन् । ओडारजस्तै उनको झुपडीले वर्षायामको झरि, हिउँदमा चिसो र गर्मीमा घाम छेक्दैन । वरिवपरि हरियाली रुखहरू रहेको उक्त क्षेत्रमा वर्षायामको समयमा सर्प, लामखुट्टे जस्ता अन्य जीवजन्तुको डरको प्रवाह नगरी उनी अमानवीय जीवन बिताउन बाध्य छन् ।

‘पहिले मेरो झुपडी भएको ठाउँमा प्रदेशसभा भवन बनाउँदा सवारी साधन आवतजावत गर्ने बाटो बनाइयो,’ उनले भने, ‘त्यतिबेला मेरो झुपडी भत्काइएको थियो ।’ पछि केहीयता सरेर झुपडी बनाएको उनी बताउँछन् । ‘मेरो झुपडी भत्काउँदा हाँसीहाँसी भत्काए,’ उनले भने, ‘मेरो केही वास्तै गरिएन ।’ हाल प्रदेशसभा भएको क्षेत्रमा शैक्षिक तालिम केन्द्र बसेको थियो । तर पछि प्रदेशसभाको भनव बनाउँदा त्यसको आकार बढाइएको थियो ।

करिब २०५५ सालतिर सुर्खेत आएका महेन्द्रले जीवनमा ठूलो संघर्ष गर्नुप¥यो । ‘कालीकोटमा रहँदा ठूलो समस्या आयो,’ उनले भने, ‘श्रीमतीको रक्तचापका कारण मृत्यु भयो । मरेको बच्चा जन्मियो । त्यसो हुँदा म रातभरि बेहोस् भए ।’ उनले श्रीमतीलाई बर्दियासमेत लिएका थिए । त्यहाँ पनि निको नहुँदा सुर्खेत नै फिर्ता ल्याए । सुर्खेतमा उनले जीवनसाथि गुमाउनु प¥यो । त्यसपछि उनी कालीकोट फर्किएका छैनन् । पहिलो श्रीमतीको मृत्यु भइसकेपछि उनले दोस्रो विवाह गरे । दोस्रो विवाह भएपछि उनले ठेलागाडा चलाउँथ्ये । उनले भने, ‘पछि दोस्रो श्रीमतीले पनि छोडेर गइ । सँगै तीन छोराछोरी लिएर गइ । उनीहरू कहाँ छन्, अत्तोपत्तो छैन । अहिले म एक्लै छुँ ।’

त्यो समयदेखि २०७५ सालसम्म भाडामा रिक्सा चलाउने गरेको उनी बताउँछन् । ‘२०७५ सालसम्म रिक्सा चलाएँ । अब रिक्सा चलाउन सक्दैन । आँखामा समस्या छ,’ उनले भने, ‘डाक्टरले अप्रेसन गर्नुपर्छ भनेका छन् । पैसा छैन ।’ अहिले बजार क्षेत्रमा मागेर ल्याएपछि मात्र खान पुग्ने उनको भनाइ छ । कालीकोटमा केही जग्गा भए पनि त्यहाँ जान नसकेको उनले बताए । ‘सधैं मागेर ल्याउन सकिँदैन,’ उनले भने, ‘कहिलेकाहिँ त भोकभोकै बस्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा विप्लव; ६ महिनामा ९९ पक्राउ,

१० आश्विन २०७६, शुक्रबार ०८:५९
कर्णालीपत्र सुर्खेत, १० असोज । एकीकृत जनक्रान्तिका नाममा अर्धभूमिगत गतिविधि सञ्चालन गरिरहेको नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि सरकारले प्रतिबन्धलगाएयता कर्णालीमा उसका ९९ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । कर्णालीका १० जिल्लाबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गत फागुन २८ गते सरकारले अपराधिक गतिविधिमा […]