नलसिंहगाड जलविद्युत् परियोजना अघि बढ्ने

कर्णालीपत्र संवाददाता १० आश्विन २०७६, शुक्रबार ०८:०५

कर्णालीपत्र
काठमाडौं, १० असोज । जाजरकोटमा अवस्थित ४१७ मेगावाटको नलसिंहगाड जलविद्युत् परियोजना अघि बढ्ने भएको छ । जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र जापानी विकास नियोग (जाइका) का कार्यकारी उपाध्यक्ष काजुहीको कोशिकावाबीच बिहीबार भएको भेटवार्तामा उक्त परियोजनालाई अघि बढाउने विषयमा सहमति भएको हो ।

मन्त्री पुनले उक्त परियोजनालाई अघि बढाउने विषयमा बुधबार जापानका संसदीय, परराष्ट्र, उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका ईता र जापान संसदीयमैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसँग छलफल गरेका थिए । भेटवार्तामा उर्जा मन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका उच्च अधिकारी सहभागी थिए । उर्जामन्त्री पुनले जाइकाले पीपीपी मोडेलमा उक्त आयोजना अघि बढाउने गरी प्रस्ताव गरेको जानकारी दिए । उनकाअनुसार उक्त परियोजनालाई जाइकाले उच्च प्राथमिकतामा राखेको छ ।

‘जाइकासँगको छलफल अत्यन्तै सकारात्मक भएको छ, डीपिआरको अध्ययनलगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिबद्धता जनाएकाले पनि चाँडै यसले मूर्तरूप पाउनेमा म आशावादी छुँ,’ मन्त्री पुनले भने । त्यसका साथै छलफलको क्रममा जाइकाका उपाध्यक्ष कोशिकावाले नेपालको उर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धतासमेत जनाए । भेटमा मन्त्री पुनले नेपालमा हाल पाँच वर्षको लागि स्थायी सरकार रहेको भन्दै थप लगानीका लागि आग्रह गरे । उनले नेपालमा जलविद्युत्को बजारसमेत सुरक्षित रहेको र नाफासमेत सजिलै लिन सकिने अवस्था सरकारले बनाएको दाबीसमेत गरे ।

मन्त्री पुनले कुलेखानी जलाशययुक्त आयोजना र कन्काई सिँचाइ आयोजनामा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित बिजुली बेच्नका लागि भारत र बंगलादेशसँग सम्झौता भइसकेको मन्त्री पुनको भनाइ थियो ।

मन्त्री पुनले उत्पादकले चाहेमा छिमेकी देशमा बेच्ने वातावरणसमेत बनाइदिने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०७६-०६-१०

१० आश्विन २०७६, शुक्रबार ०८:०५