गोदाममै थन्कियो तिते फापर

कर्णालीपत्र संवाददाता ८ आश्विन २०७६, बुधबार ०९:५१

सुर्खेत, ८ असोज l (रासस)
वीरेन्द्रनगर–६, गोदामलाइनस्थित सुपथ मूल्य पसलमा सिमी र चामल किन्न आएका उपभोक्तालाई खाद्य संस्थानका कर्मचारी तिते फापरको फाइदाबारे बताउन व्यस्त हुन्छन्, तर कर्मचारीले जति बुझाउन खोजे पनि उपभोक्ताको रोजाईमा पर्दैन तिते फापर ।
संस्थानका अनुसार सिमी एक क्विन्टल बिक्री हुँदा तिते फापर कसैको रोजाईमा पर्दैन । संस्थानका शाखा प्रबन्धक भीमबहादुर थापाले हालसम्म सिमी सात क्विन्टल र तिते फापर पाँच केजी बिक्री भएको जानकारी दिए । ‘तिते फापर स्वास्थ्यका लागि लाभदायक मानिन्छ, तर यहाँ यो उपभोक्ताको रोजाईमा परेन,’ उनले भने, ‘बजारभन्दा धेरै सस्तो मूल्यमा दिँदासमेत मुस्किलले पाँच केजी तिते फापर बिक्री भएको छ ।’ संस्थानको सुर्खेत गोदाममा ८२ क्विन्टल तिते फापर थन्किएको छ । यो मधुमेह र उच्च रक्तचापका बिरामीका लागि लाभदायक मानिन्छ । संस्थानले बर्सेनि कर्णालीका हिमाली जिल्लाबाट सिमी, फापरलगायत रैथाने उत्पादन खरिद गरेर सहरी क्षेत्रमा बिक्री गर्दै आएको छ ।
संस्थानको सुर्खेत शाखा कार्यालयले कालीकोट, जुम्ला र मुगुबाट तिते फापर र सिमी खरिद गरेको हो । डोल्पा र हुम्लामा सडक पहुँच नहँुदा यसपटक ती जिल्लाबाट रैथाने उत्पादन खरिद गर्न नसकिएकोे संस्थानका शाखा प्रबन्धक थापाले बताए । सुपथ पसलबाट सिमी प्रतिकेजी एक सय २० र तिते फापर ७० मा बिक्री हुने गरेको छ । ‘प्रायजसो उपभोक्ता जुम्ली सिमी छ भन्दै आउँछन्, सिमीको खपत अत्यधिक छ, दालका लागि धेरैले कर्णालीको सिमी खोज्छन्,’ संस्थानका कर्मचारी लक्ष्मी अधिकारीले भनिन्, ‘तर यता वीरेन्द्रनगरमा फापर खाने अझै बानी परेको छैन, त्यसले गर्दा पनि बिक्री कम भएको हुनुपर्छ ।’ संस्थानले फापर तिहारसम्म बिक्री नभए काठमाडौं पठाउने सोच बनाएको छ ।
उपभोक्ताले भने तिते फापर लिए पनि दानाका लागि प्रयोग गरेका छन् । सुपथ मूल्य पसलमा भेटिएका वीरेन्द्रनगर तातोपानीका लक्ष्मी रेग्मीले पिसेर पीठो बनाउन झन्झटिलो हुने हुँदा चाहेर पनि लिन नसकिएको बताइन् । ‘पसलमा प्याकेटमा फापरको पीठो पाइन्छ, अहिले नपिसेको फापर लिएर फेरि मिलमा जान झन्झट हुन्छ,’ उनले भने । दशैं–तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले भदौ २४ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । संस्थानअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, सिमी र तितेफापर तथा साल्ट ट्रेडिङले नून–चिनी बिक्री गर्दै आएका छन् । चाडपर्वका बेला बजारमा कृतिम अभाव, कालोबजारी हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले पछिल्ला वर्ष सुपथ मूल्यका पसल सञ्चालन गर्ने गर्दछ ।
बजारमा भन्दा सुपथ मूल्य पसलबाट चामलको मूल्य प्रतिकेजी १० घटाइएको छ । मोटा चामल ३७, सोना मन्सुली चामल ४०, जिरा मसिनो चामल ५०, जापानी चामल ४६।५० मा बिक्री वितरण भइरहेको छ । संस्थानले प्रतिव्यक्ति सिमी छ केजी र चामल एक क्विन्टलसम्म सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ । त्यस्तै उक्त संस्थानले नून प्रतिकेजीमा दुई र चिनी प्रतिकेजी पाँच छुट दिएको जनाएको छ । सुपथ मूल्य पसलबाट प्रतिव्यक्ति ६ केजीका दरले नून र चिनी बिक्री वितरण भइरहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा प्रतिपक्ष; मुद्दा उठाउँदै छाड्दै

८ आश्विन २०७६, बुधबार ०९:५१
संसदीय शासन व्यवस्थामा प्रमुख प्रतिपक्षी जहिले पनि सरकारको विकल्प हो । त्यति मात्र होइन, सरकारका गल्ती कमजोरी औँल्याउँदै उसलाई सही बाटोमा हिँडाउने जिम्मेवारी पनि उसकै हो । जब गल्ती औँल्याउने प्रतिपक्षी कमजोर हुन्छ, त्यतिबेला स्वेच्छाचारिता हाबी हुन्छ, विधि र पद्धतिहरू मिचिन्छन् । कर्णालीमा कमजोर भूमिकाका कारण सरकारी स्वेच्छाचारिता हाबी भएको र आमनागरिकका गुनासोहरू सम्बोधन गर्न सरकार उदासिन रहेको कतिपय घटनाले पुष्ट्याइ गरेको छ ।