संसद्को गतिरोध सरकारकै हातमा– नेता शाही

कर्णालीपत्र संवाददाता ८ आश्विन २०७६, बुधबार ०६:५३

कर्णालीपत्र
सुर्खेत, ८ असोज।  कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले जारी संसद्को गतिरोध प्रदेश सरकारकै हातमा रहेको बताएका छन् । मंगलबार सुर्खेतमा आयोजित दोस्रो चरणको जागरण अभियानलाई समापन गर्दै नेता शाहीले उक्त कुरा बताएका हुन् ।

सरकारले विनियोजन विधेयकको नियम ९ को प्रयोग गर्ने निर्णय कानूनसम्मत् भए संसद्को अवरोध खुलाउन आफ्नो पार्टी सकारात्मक रहेको संकेत गरेका शाहीले भने, ‘सरकारले जारी गर्ने आदेशले असार २९ मा प्रदेशसभाले पारित गरेका पाँच बुँदासमेत समावेश हुनुपर्छ ।’

‘वर्तमान सरकार जनताका आवश्यकता पूरा गर्न नलागेर ठूल्ठूला सपना देखाउने काममा लागेको छ,’ कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका शाहीले भने, ‘अहिले देशमा हत्या हिंसा भ्रष्टाचारका घटना बढिरहेका छन् । कांग्रेस त्यस्ता अन्याय र अत्याचारविरुद्धमा लाग्छ, तपाईंहरू यस्तो सूचना लिएर गाउँ जानुहोस् ।’

कर्णाली प्रदेशसभामा कांग्रेसको आकार सानो भए पनि ठूलो उपलब्धिपूर्ण भूमिका खेलेको बताएका शाहीले प्रदेश सरकारले तमाम कमजोरी गरेको आरोप लगाउँदै त्यसका बारेमा गाउँमा बस्ने नागरिकलाई जानकारी दिन नेता कार्यकर्तालाई निर्देशन दिए । सरकारले गरेका कमजोरीका बारेमा गाउँ र सदनबाट नागरिकलाई जानकारी नदिने हो भने वर्तमान सरकार थप अराजक हुने दाबी गर्दै उनले भने, ‘विकासे बजेटमा भएका अनियमितता सम्बन्धित सूचना तयार पारेर प्रदेश सरकारले गठन गरेको छानबिन समितिलाई दिनुहोस् ।’

सुर्खेतमा पनि भदौ २५ गतेदेखि उक्त अभियान शुरु भएको थियो । अभियान समापन कार्यक्रममा बोल्दै पूर्व सञ्चार राज्य मन्त्री तप्तबहादुर बिष्टले सरकार कमजोर हुँदा पनि प्रतिपक्ष कमजोर भएर बस्न नमिल्ने बताए । विगतदेखि पार्टीभित्रको गुटउपगुटले पार्टीलाई कमजोर बनाएको भन्दै उनले अब पुरानो परम्परालाई त्यागेर नेता तथा कार्यकर्ता एक भएर लाग्नु पर्नेमा जोड दिए । त्यस्तै नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले नेता तथा कार्यकर्ता छिन्नभिन्नभन्दा एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रशिक्षणमा लागि आएका नेपाली कांग्रेसका नेता तथा दलित आयोगका पूर्व अध्यक्ष मानबहादुर नेपालीले जागरण अभियानले कार्यकर्ताहरूमा ठूलो उत्साह छाएको बताए । दोस्रो चरणको जागरण अभियान भदौ २५ गते वीपी कोइरालाको १०६ औँ जन्मजयन्तीको दिनबाट शुरु भएको थियो ।

वैशाख २५ देखि जेठ २५ गतेसम्म पहिलो चरणअन्तर्गत जागरण अभियान शुरु गरेको कांग्रेसले आगामी पुस ७ गतेदेखि पुस १६ गतेसम्म तेस्रो चरणको अभियान सञ्चालन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

नागरिकको स्वास्थ्यमा संवेदनशील बन !

८ आश्विन २०७६, बुधबार ०६:५३
संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा १ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भन्ने स्पष्ट व्यवस्था छ । उल्लेखित धाराकै उपधारा ३ ले ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ’ भन्ने कुराको सुनिश्चितता […]