युवापुस्तामा छाएन सिंगारु

कर्णालीपत्र संवाददाता ८ आश्विन २०७६, बुधबार ०६:४१

वसन्त भण्डारी,
सुर्खेत, ८ असोज।

‘ढुंङ्गीमुनि गंगटिअ उपर फाल्यो फार
यो थलीमा कहिल्यै आइन् थली नमस्कार
हाट जाउँला बाक्रो पाउँला तिउन खाउँला लौकी
हामीसँग माया लाउने कोही मायालु छौकी
माथिबाट बगाइल्यायो दाङ खोली बबईले
सिम्तालीको रंगे नाँचो रम्चाइदेऊ सबैले

माथिका शब्द कुनै समय गाउँघरमा एकदमै धेरै घन्किन्थे । गाउँ ठाउँका कुराहरू मौलिक गीतमार्फत् खबर आदानप्रदान गर्दै एक आपसमा रमाइलो गर्दै नाच्दथे । मादल, कुरकुट्टी, झ्याली, बाँसुरीको तालमा युवायुवती छमछम्ती नाच्दथे । विशेग गरेर यो सिंगारु नाचलाई चार्डपर्वहरू दशैं, तिहार, जात्राहरूमा धेरै गाउने गरिन्थ्यो । पुरुषहरू महिलाको भेषमा बाजाको तालमा गाउँदै नाच्दथे ।

आफ्नै पहिचान बोकेको ऐतिहासिक मौलिक सिंगारु नाच कुनै समय निकै प्रख्यात थियो । तर अहिलेको युवापुस्ताहरू सिंगारुतिर धेरै आकर्षित नहुँदा त्यसमा गाउने गीत, त्यसको आफ्नो भाका त्यो बिस्तारै लोप हुँदै जाने खतरा देखिएको छ ।
‘धेरै पहिले सिंगारु सुर्खेतको सिम्ता र सल्यानको बनगाड क्षेत्रको मौलिक संस्कृतिको रूपमा चिनिथ्यो,’ मध्यपश्चिमाञ्ल विश्वविद्यालयका उपप्राध्यापक युवराज शर्मा भन्छन्, ‘यो एक परम्परागत लोक गीतको भाका हो । यसलाई समाजअनुसार फरक फरक शैलीमा पनि गाइन्छ । यो जाजरकोट, रुकुम पश्चिम, दैलेख, दाङ, बर्दिया, बाँकेमा पनि फैलिएको थियो ।’

‘जसरी सुदूरपश्चिमको पहिचानका रूपमा देउडा स्थापित भएको छ,’ उनले भने, ‘त्यसरी नै कर्णाली प्रदेशको पहिचानका रूपमा सिंगारु नाचलाई पनि स्थापित गर्नुपर्छ ।’ ‘पुरानो पुस्ताले सिंगारु गाउने नाच्ने गरे पनि यसमा युवापुस्ताको चासो बिस्तारै कम हुँदै गएको छ,’ उनले थपे, ‘सिंगारु हाम्रो संस्कृति हो । अहिले पुराना पुस्ता सकिने बित्तिकै लोप हुने खतरा हुन्छ । यसलाई संरक्षण गर्न युवापुस्ता जाग्नुपर्छ । नत्र भाका लोप हुने खतरामा छ ।’

खास गरी बाइसे, चौबिसे राज्यको समयमा राजाहरूले कुनै उत्सवको समयमा पुरुषलाई महिलाजस्तै सिंगारेर नाचिने भएकाले त्यसलाई सिंगारु नाच भनिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतका अध्यक्ष खड्क चन्द बताउँछन् । ‘यसलाई कुनै ठाउँमा दुई समूह बनाएर पनि नाचिन्छ,’ उनले भने, ‘यो अहिले लोप हुने अवस्थामा छ । युवा पुस्ताहरूको ध्यान यतातिर जान सकेको छैन ।’ सिंगारुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गर्न सबै आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर

८ आश्विन २०७६, बुधबार ०६:४१
दुई देश र दुई पार्टीको सम्बन्धलाई थप विकसित र नयाँ उचाईमा लान खोजिएको चर्चा गर्दै उपप्रमुख रिजालले नेपाल सरकार र नेकपा एक चीन नीतिप्रति विगतदेखि नै प्रतिबद्ध रहेको छ ।