पर्यटन बजेटको सदुपयोग गर !

कर्णालीपत्र संवाददाता ७ आश्विन २०७६, मंगलवार १६:१५

नयाँ संविधानअनुसार संघीय लोकतन्त्रान्त्रिक गणतन्त्रको कार्यान्वयन सँगै २०७४ फागुन ४ मा गठन भएको कर्णाली प्रदेश सरकारले कर्णालीको पर्यटन क्षेत्रलाई आफ्नो समृद्धिको आधार मान्यो । सोही बमोजिम प्रदेश सरकारले २०७५ वैशाख १० सार्वजनिक गरेको प्रदेश सरकारको पहिलो नीति तथा कार्यक्रमदेखि २०७६ मा सार्वजनिक गरेको पछिल्लो नीति तथा कार्यक्रमसम्म आइपुग्दा पर्यटन क्षेत्रले नीतिगत र कार्यक्रमिक हिसाबले निकै महŒव पायो । बिडम्वना, यसको कार्यान्वयनको गति भने ठीक उल्टो देखियो ।

कर्णालीका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरेर आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्दै प्रदेशको आर्थिकस्तर माथि उकास्ने लक्ष्य लिएको प्रदेश सरकारको विनियोजित बजेट होडिङ बोर्ड, फोटो बनाउने, भिडियो प्रोफाइल बनाउने, स्टीकर, टोपी, पम्पलेट छाप्नेजस्ता कार्यमा सकियो । यसको परिणाम न सोचेअनुरूप आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्यो न त प्रदेशको वार्षिक आम्दानीमा नै वृद्धि भएको देखियो । प्रदेश सरकार र स्थानीय सरकारले विनियोजन गरेको बजेट त सकियो तर समृद्ध प्रदेश निर्माण गर्ने सरकारी लक्ष्यअनुरूप आन्तरिक आम्दानीमा पर्यटन क्षेत्रको योगदान शून्य भयो । पर्यटन क्षेत्रले प्रदेश समृद्धिको आधार तय गर्ने सरकारी योजना नीतिमा मात्रै सीमित भयो ।

एकातर्फ प्रदेश मातहतका दशैवटा जिल्लाका लोभ लाग्दा पर्यटकीय क्षेत्रले संरक्षणको अभाव झेलिरहे भने अर्कोतर्फ कर्णालीको भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई निश्चित गन्तव्यभन्दा बढी समय बिताउने विकल्प अहिलेसम्म तयार पार्न सकिएन । पुरातनरूपमा चलिएका हाम्रा भाषा संस्कृति र चलाचलनलाई न संरक्षण गर्न कुनै ठोस पहल भयो, नत यसको व्यावसायिक सुरुवात नै भयो । वार्षिकरूपमा आन्तरिक तथा बाह्य पर्यटक कर्णाली भिœयाउने प्रदेश सरकारको लक्ष्यलाई विसुद्ध धार्मिक भ्रमणका रूपमा हिल्सा भएर स्वशासित क्षेत्र चीनको तिब्बतमा पर्ने कैला मानसरोवर जाने हजारौंको संख्याका भारतीय पर्यटकले संख्यात्मक योगदान मात्रै गरे । उनीहरूबाट प्राप्त गर्ने आर्थिक मुनाफा निजी हेलिकोप्टर कम्पनी र निजी विमान कम्पनीबाहेक अरु कसैले लिन सकेनन् । केहीरूपमा रारा भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि भए पनि रारासम्मको हवाई तथा स्थलगत यात्रा गर्न र खान बस्नको उचित प्रबन्ध नहुँदा कुनै पनि पर्यटकको सहजै दोहोरिएर आउने मनस्थिति देखिँदैन ।

विसुद्ध कर्णालीको भ्रमण गर्न वर्षमा कति पर्यटक आउँछन् ? उनीहरूले बढी समय बिताउनका के चाहन्छन् ? भन्ने जानकारीसहितको तत्थ्यांकसमेत प्रदेश सरकरासँग छैन । केही समययता रारा राष्ट्रिय निकुञ्ज, बुलबुले ताल, काँक्रेविहार र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको भ्रमणमा आउने पर्यटकको दैनिक तथ्यांक संकलनको सामान्य अभ्यास भए पनि अझै व्यवस्थित गर्न धैरै काम बाँकी छन् ।

यति मात्रै होइन् अहिलेसम्म प्रदेशका विभिन्न स्थानमा आयोजना गरिएका पर्यटन महोत्सवहरूको तत्थयगत विवरण र तर्कसंगत उपलब्धि सार्वजनिक गर्ने कामसमेत भएको देखिँदैन । मोटो रकम खर्चिने तर उपलब्धि हासिल नगर्ने परिपाटीले पर्यटन प्रवद्र्धनका नाममा आयोजना हुने महोत्सव प्रदेशका मन्त्री, नेता र सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरूको भ्रमण गर्ने अवसरका रुपमा मात्रै प्रयोग हुने गरेका छन् । पर्यटनको पूर्वाधारको विकास गर्ने भन्दै विनियोजित बजेट मन्त्री र नेताका आफन्तको जीविकोपार्जन गर्ने पेसाका रूपमा चित्रित छन् । जुन निकै दुःखद हो ।

प्रदेशमा भएका तमाम प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पर्य–पर्यटकीयस्थलहरूको प्रवद्र्धन कसरी गर्ने ? बर्सेनि प्रदेश सरकारले पर्यटन क्षेत्रबाट कति आम्दानी गर्ने ? भन्नेबारेमा प्रदेश सरकार नै स्पष्ट छैन भने स्थानीय सरकारसँग हुने कुरै भएन । कर्णालीको पर्यटन क्षेत्रले झेलेका यावत् समस्याहरूको बुद्धिमतापूर्ण तवरले समाधानका उपायको खोजीमा सरकार लाग्ने होइन भने ‘सुन सिरानीमा राखेर नुनको खोजी गर्ने’ अवस्था कर्णालीको पर्यटन क्षेत्रले पनि नभोग्ला भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किसानसंग लाखौ उठाएर संचालक सम्पर्कबिहिन

७ आश्विन २०७६, मंगलवार १६:१५
पीडित कर्मचारीको भनाईमा किसानलाई निःशुल्क बिउविजन दिने भन्दै कम्पनीले यहाँका ११ सय कृषि समूहमा आबद्ध ११ हजार कृषकबाट दुई हजारको दरले रूपैयाँ संकलन गरेको थियो

सम्बन्धित शीर्षक