यौन संस्कार की स्वतन्त्रता

कर्णालीपत्र संवाददाता ७ आश्विन २०७६, मंगलवार ०९:५८

निर्मला ढकाल
सामान्य भाषामा शिक्षा दिने व्यक्तिलाई शिक्षक भनिन्छ । हाम्रो बुझाइमा विशेष गरी आफूभन्दा जान्ने, धेरै पढेको वा कुनै विषयमा ज्ञान प्राप्त भएको बुझिन्छ । म पनि शिक्षक हुँ, तर केही विषय र केही दिइएका पाठ्य सामग्रीभन्दा अन्यमा शिक्षकको भूमिका निभाउन सक्षम नहुन सक्छुँ । धेरै व्यक्ति जुन उमेर र ओहोदामा पनि मभन्दा साना थिए, मेरो लागि शिक्षक बनेर आए, धेरै पाठ मात्र होइन समाज पनि बुझाएर गए ।
‘म्याम, मैले २ वर्ष भयो ब्याच्लर सकेको । अब मास्टर गर्नुप¥यो, सजिलो विषयमा । समाजशास्त्रमा के कसो सुझाव पाऊ न ?’ सञ्जालको म्यासेज लिस्टमा आएको प्रश्नले केही ध्यान खिच्यो । नचिनेकोलाई उत्तर दिन्न तर आफू र विषयसँग सम्बन्धित रहेकोले चुप रहन सकिनँ । इन्स्टाग्राममा फ्लो थियो करिब २४÷२५ वर्षको केटो । त्यसपछि प्रायः पढाइसम्बन्धी केही कुरा आदानप्रदान हुन्थ्यो । आफू काम गर्ने र पढाइलाई धेरै समय दिन नसक्ने तर डिग्री हासिल गर्नुपर्ने हुनाले पढाइ सुरु गर्ने मनसाय रहेको बताए । एकदिन फेसबुकमा प्रस्ताव आयो, उनैको रहेछ । सरसर्ति हेरे ५० भन्दा धेरै साथी रहेछन्, सबैलाई म चिन्दिनथिएँ, तर सञ्जालमा जोडिएका मध्ये एकजनाको प्रोफाइलले मेरो ध्यान तान्यो । इन्स्टामा फोटो मात्र थियो, यता कामको विवरण पनि । कुनै विज्ञापन संस्थामा काम गर्ने र आफू मोडल पनि रहेछन् । उनको प्रोफाइलमा देखिने साथी, प्रतिक्रिया दिने र उसको उमेरबीचमा केही अमिल्दो लागेको थियो । तीन÷चार सय मात्र साथी र प्रायः ३५ नाघेका विवाहित जस्ता देखिने महिला धेरै थिए । उसको आफ्नै उमेर समूहका चाहिँ मुस्किलले २० देखि ३० जना मात्र ।
प्रायः म्यासेज गरिरहन्थेँ । कहिले फोटोको बारे टिप्पणी गर्थें भने कहिले लुगामा समय मिल्दा उत्तर र प्रतिक्रिया दिन्थेँ । म उनको नाम उचारण गरेर बोलाउँथें भने उनी म्याम भन्थे । बिस्तारै केही सहज वातावरण बन्दै थियो कुनै मुद्दामा बहस गर्न । पत्रपत्रिकामा आउने यौन र यौन सम्बन्धका लेख प्रायः हेर्छु । चासोको विषय पनि हो, दिनमा १५ सय जति वैदेशिक रोजगारका लागि देशबाट बाहिरिएको समूहमा (जसमा पुरुष धेरै होलान्) र यहाँ हुने महिलाहरूको सम्बन्ध विशेष गरी अनैतिक भनेर लागाइने लान्छनादेखि उनीहरूको इच्छा र आकांक्षाबीचको खाडलको केही अध्ययन गर्न मन थियो तर सुरुवात कहाँ र कसरी अन्योल उस्तै । अनैतिक बनेर आउने सम्बन्ध र व्यक्तिगत स्वतन्त्रता कसरी जोडिन पुग्छ त्यो भाग हेर्न चाहन्थेँ ।
एकदिन मौका मिल्यो सोधें, ‘मेरा साथीहरू त धेरै चिनेको रहेछौं, नाता पर्छ र ?’ सुरुमा अज्ञात रहे जस्तो गरे पनि फोटो नै पठाए । सायद उम्किने ठाउँ थिएन सहजै उत्तर आयो, ‘कोही चिन्नलाई नाता, आफन्त वा नजिकैको हुनुपर्छ भन्ने छैन म्याम । उमेर, इच्छा र परिस्थितिको सम्बन्ध पनि जोडिन्छ यहाँ ।’ हो आफैँमा धेरै अर्थ बोकेको उत्तर थियो यो सहज तर गहिरो । मेरा लागि योभन्दा ठूलो मौका अर्को हुँदैनथ्यो र व्यक्ति पनि सही नै थिए । समय मागे कफी पिउन, उनी पनि मसँग भेट चाहन्थे ।
केही समयपछि भेट भयो, उनी निकै आकर्षित थिए । अग्लो कद, जीम गएर बनाएको जस्तो देखिन्थ्यो शरीर । उमेर, शरीर र रूपको राम्रो संयोजन । मैले पहिले नै भनेको थिए आफ्नो अनुभव खुलेर व्यक्त गर्नुपर्छ, म केही लेख लेख्दै छुँ, मेरो लागि सहयोग हुनसक्छ । तर तिम्रो नाम र पहिचान कहिलेकाहिँ खुल्दैन भनि विश्वस्त पारेको थिए । भेट्ने बित्तिकै हात मिलाउन खोजे । म असहज भएको देखेरे रोकिएँ, तर मैले निराश बनाइन् । पहिलो भेटमै हात मिलाउन, त्यहीँ पनि उमेरको अन्तर । विचार नगरी अप्ठ्यारो लागेनभन्दा अब साथी जस्तो भएर अनुभव बाड्न बोलाउनु भो, के असहज फेरि मेरो त हजुर जस्तो उमेरका नै साथी ज्याँदा छन् भनि हाँसेर टारिदिए । अब कौतुहलता झनै बढ्न थाल्यो ।
शरला शाक्य (नाम परिवर्तन) उमेर ४८, श्रीमान् बाहिर, २ छोरी । तीनकुनेमा घर छ । दुवै छोरी होस्टल छन् । मेरो निकै राम्रो साथी हो र राम्रो सम्बन्ध पनि छ । भावनात्मकरूपमा हामीबीच केही छैन, तर दुवैको इच्छाअनुरूप हामी सम्बन्ध राख्छौं । कुनै नैतिक जिम्मेवारी भन्ने छैन, मन लाग्दा र समय मिल्दा म प्रायः उहाँको घरमा जाने गर्छु । छोरीहरू पनि मलाई चिन्दछन्, तर आमाको चिनजान धेरै नै माथि छ । मलाई एउटा प्रोफाइल देखाउँदै सम्बन्ध खुलाउन थाले, ‘मेरोमा फेसबुकमा हुनुहुन्थ्यो उहाँ ।’
उहा“ सेक्स बम हो । कोही पनि उहाँको बारेमा नसोची बस्न नै सक्दैन । अर्को ३४÷३५ वर्षको महिला, सुन्दर तस्बिर देखिन्थ्यो फेसबुकमा, मेरो ध्यान त्यता तान्दै भने, ‘यतै सञ्जालमा भेटेको, घर पुगेको छुँ दुईपटकसम्म ।’ श्रीमान् यहाँ छैन होला सायद । त्यसरी जाँदा डर हुन्न छिमेकी, नातेदारले देख्दैनन् । दिउँसो जाने, भाडामा बस्ने धेरै हुन्छन् कसलाई के मतलब, थाहा हुन्छ र । उनी डिभोर्सी हुन, दुई सन्तान छन् थाहा छैन भनि जिस्काएँ । खै मलाई त श्रीमान् बाहिर भन्नुहुन्थ्यो । दुवैको इच्छा भयो, परिस्थिति मिल्यो, सकियो । मलाई अरु के जान्न प¥यो र । कुनै पश्चताप थिएन उनको बोलिमा । मलाई ति महिलाको बारेमा केही जानकारी थियो, मेरो साथीको आफन्त, पाँच वर्ष अगाडि नै सम्बन्धविच्छेद गरी दुई सन्तानका साथ सुविधा सम्पन्न फ्ल्याट भाडामा लिएर बस्थिन् । एक विद्यालयको पुस्तकालयमा काम गर्ने उनी सन्तानलाई निकै महँगो स्कुलमा बोडस राखेकी थिइन् । निकै शान र रवाफ पूर्ण जिन्दगी ।
विवाह र सेक्स जोडिएर आउने, अन्य सम्बन्ध अनैतिक र पाप हुन भनि सिकाउने समाजमा हुर्किएकी मलाई ‘क्याजुअल सेक्स’ फ्रेन्ड विथ बेनिफिटले यौनको नयाँ अभ्यास र परिस्थितिस्वरूपसँग चिनारी गराउँदै थियो । दुवै शब्द व्यक्तिको यौन स्वतन्त्रता, इच्छा र अधिकारसँग जोडिएको थियो । गुगल गरी हेर्दा कही बेमेल थिएन । स्वतन्त्रता र बदलिँदो यौन जिन्दगीको बारेमा बुझ्न सहज भयो । अझ केही थाहा पाउन सकिन्छ भन्ने हेतुले सञ्जालतिर नै आँखा घुमाउन थाले । मेरो प्रश्नको उत्तर दिन सक्ने अर्को व्यक्ति भेटिने आशामा ।
समीर क्षेत्री (नाम परिवर्तन) उमेरले ४५ बढी । परिवार सबै विदेशमा, यहाँ राजनीतिमा अग्रसर र संस्थानमा ठूलै पदमा हुनुहुन्छ । हाइड्रोपावरमा लगानी र आफ्नै व्यवसायमा निकै सफल व्यक्तित्व । राम्रै चिनजान थियो तर खुला सोचविचार र कुनै मुद्दामा पनि तार्किक बहसमा जान सक्ने व्यक्तिको रूपमा म चिन्दथेँ उहाँलाई । माथिल्लो वर्ग र खुला समाजको प्रतिनिधिपात्रको रूपमा उहाँलाई लिन सकिन्छ । ‘क्याजुअल सम्बन्ध’ र ‘फ्रेन्ड विथ बेनिफिट’ को अर्थ र उपयोगिता हाम्रो समाजमा कसरी राख्न सकिन्छ ? सायद उहाँबाट उत्तर अपेक्षित थियो । ‘निष्क्रियता र सभ्यता’ को बारेमा लेक्चर दिने म्याम कताबाट यस्तो आधुनिक सभ्यतामा आइपुग्नु भयो ? हाँसेर टार्ने बहाना देखियो । सही र गलत मान्य एक ठाउँ, व्यक्तिको यौन इच्छा र स्वतन्त्रता अर्को । हाम्रो संस्कारले सही मान्दैन भन्दैमा कुनै कुरा गलत नै भनि ठोकुवा गर्न मिल्दैन । मेरो श्रीमती मसँग छैनन् तर म सँग सेक्सुअल पार्टनर छन् । राजीखुसी, हाम्रो स्वतन्त्रता हो । उहाँको उत्तरले पनि उदारतातर्फ नै संकेत ग¥यो । तपाईंलाई धेरै भोक लागेको छ, खानेकुरा एकथरि मात्र छ भने त्यसैले भोक मेटाउनु हुन्छ । तर खानेकुराका अप्सन, किन्ने क्षमता र रहर पनि छन् भने आफ्नो रोजाइतर्फ नै जानुहुन्छ । तपाईंको स्वाद तपाईंको अधिकार हुन जान्छ । ठट्यौली पाराको अभिव्यक्ति धेरै उत्तर बोकेर आयो । क्याजुअल सम्बन्ध तपाईंको व्यक्तिगत स्वतन्त्रता, साथीसँगको विश्वास र तपाईंको आवश्यकताले निकाल्ने हुन, यसको बारेमा जज नगर्नुहोला । सहर र युवापुस्तामा यो सामान्य भइसक्यो । संस्कार मात्र होइन व्यक्तिगत स्वतन्त्रताले निर्माण हुन्छन् यस्ता प्रवृति । स्वतन्त्र जमात यौनको लागि विवाह नै कुरेर बस्छन् भन्ने छैन, सहजता र मन मिले ठूलो कुरा होइन । माया, प्रेम, विवाह, परिवार, धर्मसँग मात्र होइन यौन त शारीरिक आवश्यकता र व्यक्तिगत स्वतन्त्रतासँग जोडिन्छ । सायद लिविङ टुगेदरको संस्कारलाई पनि यसैमा जोड्न सकिन्छ । प्रश्नभन्दा उत्तर जटिल हुन थाले मेरा लागि ।
बढ्दो सहरीकरण, एकल परिवारको अभ्यास, वैदेशिक रोजगारी, व्यस्त जीवनको भागदौड, बढ्दो सम्बन्धविच्छेद, व्यक्तिगत स्वतन्त्रताको अभ्यास, ढिलो विवाह, तनावका बीच समाजमा देखिने समस्यालाई सतहीरूपमा जसरी प्रस्तुत गरिएका हुन्छन्, त्यसको अध्ययन र विश्लेषण पनि समयसापेक्ष नै हुनुपर्छ । यौन स्वतन्त्रतालाई अपराधको रूपमा लिने हो वा अधिकार आआफ्नै बहस होलान तर बढ्दै गइरहेको खुलापनलाई अस्विकार गर्न सकिँदैन । हाम्रो संस्कार, पारिवारिक मूल्य मान्यताले यौनलाई सीमित घेरामा राखेको छ तर बदलिँदो परिवेशले यसमा स्वतन्त्रता खोज्छ । लामो समयसम्म श्रीमान् श्रीमती एक अर्काबाट टाढा रहनु पर्दा जागृत हुने कुन्ठित भावना, एक्लो जीवनका निरासा आदिले यौन स्वतन्त्रता खोज्न थाल्छ । तर समाज संस्कार र आचरणको बार लगाइदिन्छ । यही द्वन्द्वमा मानिसको इच्छाआकांक्षा दमित मात्र होइन विभिन्नस्वरूप लिएर प्रस्फुटन हुन थाल्छ । क्याजुअल सम्बन्ध जुन विवाह वा कुनै कागजी र कानुनी सम्बन्ध त होइन तर यौन आवश्यकता पूरा गर्न स्थापित छोटो समयावधि रहने गरी बाँधिने सम्बन्ध हो । कुनै प्रतिबद्धताको जञ्जिरमा नबाँधिकिन शारीरिक आवश्यकता पूरा गर्न लागि मात्र स्थापित हुने यस्ता सम्बन्ध बिस्तारै नेपाली समाजमा बढ्दै छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अरुलाई रुवाउने रोएपछि...

७ आश्विन २०७६, मंगलवार ०९:५८
  सुर्खेत, ७ असोज तिमै्र छेऊमा रुँदै थिएँ फेर्दा तिमले अन्तिम सास एउटै पीर थियो तिमलाई कल्ले बोक्ला मेरो लास, छोराजस्तै छोरी मानी तिम्रो जीउको खुन छ तर पनि यो समाजमा विभेद किन हुन्छ पीर नलिनु तिमले एकरति बैकुण्ठमा बास गरेहंै, आमा मै छोरीले, देइछुँ दागबत्ति । यो कुनै काल्पनिक […]

सम्बन्धित शीर्षक