म्याद गुज्रियो, प्रतिवेदन आएन

कर्णालीपत्र संवाददाता ७ आश्विन २०७६, मंगलवार ०९:३३

बाँके ७ असोज । (कर्णालीपत्र) :
भदौको १२ गते राती नेपालगञ्जदेखि दैलेख लैजाने क्रममा सुर्खेतको कटकुवा जंगलमा मरेका र जिउँदो गाई छोडियो । आठ वटा ट्रकमा लगिएको २ सय ९१ वटा गाई, बाछाबाछीमध्ये नेपालगञ्जमा २ सय ३३ वटा फिर्ता गरियो । बाँकी ५८ वटामध्ये कति मरे यकिन छैन । जंगलमा ३७ वटा मृत भेटिएको थियो ।
कटकुवा जंगलको ठाउँठाउँमा मरेको गाई भेटिएपछि देशैभरी खल्बली मच्चियो । दैलेखको श्रीस्थान भनेर लगिएको गाई कटकुवा जंगलमा मरेको अवस्थामा भेटिएपछि हिन्दु धर्मावलम्बीको ‘बहुमत’ भएको देशमा खल्बली मच्चिनु स्वभाविक नै मान्नु पर्छ ।
सरकारले पनि गाई काण्डलाई गम्भीरतापूर्वक लियो । गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा छानबिन समिति गठन ग¥यो । समितिका अधिकारीहरु स्थलगत अध्ययन गरेर फर्किसकेका छन् । समितिलाई १५ दिनको ‘म्याद’ दिइएको थियो । त्यो अवधि कटिसकेको छ । तर, गाई काण्डको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।
नेपालगञ्ज उपमहानगरपालिकाले वार, नेपालगञ्जका अध्यक्ष विकास आचार्यको संयोजकत्वमा छानबिन समिति बनायो । भदौ १४ गते गठन गरिएको समितिलाई १५ दिनकै समय दिइएको थियो । यो समितिले पनि ‘म्याद’ गुजारिसकेको छ । प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । वारका अध्यक्ष एवं छानबिन समितिका संयोजक आचार्यले ‘अब छिट्टै’ प्रतिवेदन सार्वजनिक गर्ने बताउनुभयो ।
ठूला घटना हुँदा छानबिन समिति बनाउने र प्रतिवेदन ‘लुकाउने’ नेपालको पुरानै रोग हो । गाई काण्डमा त्यस्तो त नहोला । तर, किन दुवै समितिले म्याद गुजारिरहेका छन् ? चासोको विषय बनेको छ । कतै दुवै समितिले सुर्खेत प्रहरीको अनुसन्धान र अदालतको आदेश त पर्खिरहेका छैनन् ? एकथरीको यस्तो आशंका रहेको छ ।
सुर्खेत प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका आठ जना नगर प्रहरीलाई सुर्खेत प्रहरीले नियन्त्रणमा राखेको छ । नगर इन्चार्जसहित आधा प्रहरी थुनामा परेपछि नेपालगञ्ज बजार अतिक्रमणदेखि फुटपाथ व्यवस्थित गर्ने काम ठप्पजस्तै छ । ट्रक चालक र सहचालकका साथै ढुवानी केन्द्रका सञ्चालकसमेत सुर्खेत प्रहरीको नियन्त्रणमा छन् ।
गाई पु¥याउन गएका नगर प्रहरी, ट्रक चालक, सहचालक र ढुवानी केन्द्रका सञ्चालकलाई थुनेर गाईको काण्डको अनुसन्धान पूर्ण हुन्छ त ? ‘सानालाई ऐन’ भनेजस्तो भएन र ? खासमा नेपालगञ्जका गाईलाई दैलेख लैजाने निर्णय कसले गरेको थियो, कसको चाँजोपाँजोमा गाई दैलेख लैजाने भन्दै सुर्खेतको कटकुवा जंगलमा छोडिएको थियो ? अनुसन्धानको यो पाटोमा सुर्खेत प्रहरीले हात हाल्न सकेको छैन । उसले पनि गृहमन्त्रालयको उपसचिव पाठकको संयोजकत्वमा रहेको छानबिन समितिको प्रतिवेदन कुरेको हुन सक्छ ।
त्यो गाई काण्डपछि नेपालगञ्जका बजारमा रहेका गाईलाई कसैले छुन सकेको छैन । उपमहानगरपालिकाका नगर प्रहरीले धपाउन छोडेका छन् । न त कान्जीहाउसमा नै लगिएको छ । कान्जीहाउसमा रहेका गाईलाई खानपानमा ध्यान भने दिइएको छ । अहिले कान्जीहाउसमा २ सय ८० वटा गाई, बाछाबाछी, गोरु रहेका छन् । त्यसलाई घाँस खुवाउन तीन जना कर्मचारीलाई त घाँस काट्ने ‘डिउटी’मा खटाइएको छ । घाँसको ‘सिजन’ पनि भएकाले तीन जनाले दिनभरी घाँस काट्ने र खुवाउने गरिरहेका छन् । कान्जीहाउसलाई अलि व्यवस्थित गरिदा बजारमा रहेका गाईबारेमा भने नेपालगञ्ज उपमहानगरपालिकाका पदाधिकारीले आँखा चिम्म गरिदिएका छन् । कान्जीहाउसमा राख्दा हुने दुर्घटनालाई आफैलाई दोष पर्ने भएकाले सडकमा जे सुकै होस् भन्नेमा जनप्रतिनिधिहरु पुगेका छन् ।
यता, केही महिना तातिएका ‘अभियान्ता’हरु अहिले चुप बसेका छन् । केही अभियान्ताहरु छाडा पशु व्यवस्थापन समितिमा रहेको र सुर्खेतको कटकुवामा धेरै गाई मरेको विषयमा तानिन सक्ने भएकाले चुप लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश खेलकुद : योजना बन्छन्, कार्यान्वयन हुँदैनन्

७ आश्विन २०७६, मंगलवार ०९:३३
सुर्खेत, ७ असोज । प्रार्देशिक रंगशाला निर्माण गर्न सामाजिक विकास मन्त्रालयले सात करोड रूपैयाँ विनियोजन ग¥यो । काम हुन नसकी उक्त रकम पूरै फ्रिज भयो । यस्तै रुकुम पश्चिमको चौरजहारीमा क्षेत्रीय रंगशाला निर्माणका लागि दुई करोड विनियोजन भयो । यो रकम पनि खर्च हुन नसक्दा रकमान्तर गरियो । यति मात्र […]

सम्बन्धित शीर्षक