जोखिममा बालबालिका

कर्णालीपत्र संवाददाता ६ आश्विन २०७६, सोमबार ०७:४२

चन्द्रा कँडेल
सुर्खेत, ५ असोज। दैलेखको डुंगेश्वर गाउँपालिकाका खड्के खड्का ९ महिनादेखि सुर्खेतस्थित वीरेन्द्रनगरका सडकमा थिए । आर्थिक अवस्था कमजोर भएका उनी एक्लै सडकमा आएनन्, भाई सागरलाई पनि सँगै ल्याए । उनीजस्तै वीरेन्द्रनगर–२, का जीवन कुमाल एक वर्षदेखि वीरेन्द्रनगरका सडक धाउँदै हिँड्थ्यें । सडकमा आउनु उनको रहर थिएन असीमित चाहाना बोकेका उनी बाध्य भएर सडक रोज्नु प¥यो । अहिले खड्के, सागर र जीवनसहित ९ जना बालकलाई सुर्खेतमा सञ्चालित आमा घरले जिम्मा लिएको छ ।

यो मात्र होइन, कर्णालीका धेरै बालक परिबन्धले सडकमा आउँछन् । आमा अर्काे विवाह गरेपछि बाबाले अर्काे विवाह गर्नु, घरपरिवारको माया नपाउनु, गरिबी, विभिन्न कारणले आमाबा गुमाएका सडक बालबालिका, मानसिक सन्तुलन गुमाएका बृद्धबृद्धा सडक रोज्छन् । जसका कारण त्यस्ता व्यक्तिहरूको मानव अधिकारको रक्षामा पनि चुनौती थपिएको छ ।

सिविन नेपालका अनुसार नेपालमा करिब ९ हजारभन्दा बढी बालबालिका सडक बालबालिकाको रूपमा छन् । यस्ता सडक बालबालिका शिक्षा, स्वास्थ्य र पोषणलगायतका आधारभूत आवश्यकताबाट वञ्चित छन् । बालविवाह, छाउपडी पर्था, बालश्रम, सडक बालबालिका, जबरजस्ती विवाह, प्रजनन स्वास्थ्य समस्या, घरेलु हिंसाको सिकार, पारिवारिक बिछोड, अपांगता, कुपोषण, कक्षा छाड्ने, यौन शोषण, दुव्र्यवहार, बलात्कार, अपमानित, कुटपिट, यातनाजस्ता समस्याले गर्दा उमेर नपुग्दै होटेल, कलकारखाना र यातायातलगायतका स्थानमा बालबालिका मजदूरी गर्न बाध्य छन् ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार हाल ४१ जना बालबालिका सडकमा छन् । सबैभन्दा बढी ६ देखि १० वर्ष उमेर समूहका २० जनाअर्थात् ४९ प्रतिशत बालबालिका सडकमा रहेको तथ्यांकले देखाएको छ । त्यस्तै १ देखि ५ वर्ष उमेर समूहका बालबालिका दुईजनाअर्थात् ५ प्रतिशत रहेको पाइएको छ ।

११ देखि १५ वर्षका १८ जनाअर्थात् ४४ प्रतिशत १६ वर्षमाथिका एकजनाअर्थात् २ प्रतिशत रहेको पाइएको छ । त्यस्तै एक महिनादेखि दुई वर्षसम्म सडकमा काम गर्न थालेका बालबालिकाको संख्या बढी रहेको छ । जसमा २१ जनाअर्थात् ५१ प्रतिशत छन् । सबैभन्दा कम संख्या ७ वर्षसम्म सडकमा काम गर्ने तीनजनाअर्थात् ७ प्रतिशत रहेको छ ।

यसका साथै ३ वर्षदेखि ४ वर्षसम्म काम गर्नेको संख्या १२ जना र ५ देखि ६ वर्षसम्म सडकमै काम गर्ने पाँचजना बालबालिका छन् । सडक बालबालिका विशेष गरी वीरेन्द्रनगरमा बस्ने गरेको सामाजिक विकास मन्त्रालयअन्तर्गत महिला तथा बालबालिका तथ्यांक अधिकृत अनिता ज्ञावलीले बताइन् । राति सडकमै बास बस्ने दुईजना, अर्काको घरमा बस्ने १० जना, राति आफ्नै घर जाने २९ जना रहेको तथ्यांक छ ।

प्रायः जसो दैलेख, जाजरकोट, कालीकोट, र जुम्लाबाट बसाइँसराइ गरी सुर्खेतको सुकुमबासी क्षेत्रमा बसोबास गर्ने परिवारका बालबालिका बढी सडकमा देखिएको उनको भनाइ छ । बालबालिकाको अवस्था हेर्दा बुबा नभएका ६, आमा नभएका आठ, बुबा आमा दुवै नभएका एक, सौतेनी आमा भएका ६, बुबा आमा दुवै भएका २० जना सडकमा छन् ।

सडक बालबालिकाहरूका अभिभावकको पेसा (आमा/बुबा) 

सडक बालबालिकाहरूको अभिभावक आमाले गर्ने पेसाको तथ्यांक हेर्दा सबैभन्दा बढी ज्यालादारी काम गर्ने ५२ प्रतिशत रहेको । त्यसैगरी गिट्टी कुट्ने १२, होटेलमा भाडा माँझ्ने ६, घुम्ति पसल नौ, मह बेच्ने ६ र गृहणी १५ प्रतिशत छ भने बुबाले गर्ने पेसा ज्यालादारी ३४ प्रतिशत, भारत जाने ११ प्रतिशत, सामान लोड, अनलोड गर्ने १४ प्रतिशत, जेलमा परेको नौ प्रतिशत, अपांगता भएको ६ प्रतिशत,मिस्त्री ११ प्रतिशत, बसमा सहयोगीको काम गर्ने ३ प्रतिशत, पलम्बर ३ र अटोचालक ३ प्रतिशत रहेको पाइएको छ ।

सडक बालबालिकाको अध्यनन/स्वास्थ्य

जम्मा ४१ जना बालबालिकामध्ये कक्षा एकदेखि पाँचसम्म अध्ययन गर्ने ३० जना रहेको पाइएको छ, यसका साथै कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने ६ जना, पाँचजना विद्यालयनै नगएको पाइएको छ । त्यसैगरी टाउको दुख्ने ९, पेट दुख्ने १२, छाति दुख्ने ३, नााकबाट रगत बग्ने २, हातखुट्टा दुख्ने ६, आँखा कमजोर तीन, मुखबाट रगत बग्ने एक, खोकी लागि रहने एक, खासै समस्या नभएका १९ जना रहेको तथ्यांकले देखाएको छ ।

के काम गर्छन सडक बालबालिकाले सडकमा

माग्ने, कवाड खोज्ने, बाइकको पेट्रोल चोर्ने, फलाम खोज्ने, घरमा रंग लगाउने काम गर्ने, फोहोर बोतल, प्लास्टिक खोज्ने, घुम्ति फुटाउने चोर्ने काम गरेरआफ्नो जीविका चलाउने गरेको पाइएको छ ।

त्यस्तै कर्णाली प्रदेश सरकारले जोखिममा परेका सडक बालबालिकाका लागि ‘आमा घर’ सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक माहाशाखाले विभिन्न बालबालिकासँग सम्बन्धित काम गर्ने संघसंस्थाको सहकार्य र समन्वयमा जोखिममा परेका बालबालिकाको उद्धार तथा पुनस्र्थापनाका लागि ‘आमा घर’ सुरु जनाएको छ ।

विरेन्द्रनगर–९, स्थित एकल महिला समूहको कार्यालयमा सञ्चालन गरिएको ‘आमा घर’ मा ९ जना बालकहरूलाई सडकबाट उद्धार गरेर राखिएको आमा घरका अभियान्ता नगेन्द्र उपाध्यायले जनाए । जोखिममा परेका सडक बालबालिकाको उद्धार र पुनस्र्थापनाका लागि सामाजिक महाशाखाको प्रमुख संयोजक हुने गरी सडक बालबालिका उद्धार तथा व्यवस्थापन समिति गराइएको उनले बताइन् ।

प्रदेश सरकारले आफ्नै बालगृह नभएकाले हाललाई अल्पकालिन रुपमा एकल महिलाको कार्यालयमा अल्पकालिन रुपमा राखिएको सामाजिक विकास महाशाखाका अधिकृत यशोदा शर्माले जानकारी दिइन् ।उनका अनुसार आमा घर सञ्चालनका लागि सुर्खेतस्थित आवाज संस्था, स्याक नेपाल, सुन्दर नेपाल संस्था, एसओएस, एकल महिला समूहलगायतको सहयोग छ । आमा घरमा राखिएका बालकहरूका लागि संस्थाबाट स्वास्थ्य जाँच, आवास, खाद्यान्न, खेलकुदका सामग्रीलगायत सहयोग भएको शर्माले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘पहिला आफूले आफैँलाई जितौं’

६ आश्विन २०७६, सोमबार ०७:४२
पूर्व मिस सुर्खेतका पूर्व प्रतियोगीहरूले आफैँभित्रको डरलाई जितेको अनुभव सुनाउँदा समाजमा आफैँभित्र हुने डर जित्नुको उत्साह पनि दर्साउथ्यो ।

सम्बन्धित शीर्षक