कर्णाली कठघरामा सभामुख; म मुख्यमन्त्री हुनुपर्ने मान्छे हो …..

कर्णालीपत्र संवाददाता ५ आश्विन २०७६, आईतवार ०६:००

कर्णालीपत्रले शुरु गरेको कर्णाली कठघरामा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीसँग गरिएको कठघरा संवाद….

तपाईंले संसद्मा प्रभावकारी भूमिका खेल्नु भएन । तपाईंको भूमिका कमजोर हुँदा संसद्को प्रभावकारिता भएन भन्ने आरोप छ । सदनलाई ढाँटेर गुमराहमा राख्दासमेत तपाईंले आफनो भूमिका देखाउनु भएन ?

आरोप लगाउनेले पुष्टि गर्नुपर्छ । के कुरामा प्रभावकारी भएन भनेर । सरकारले कुन सन्दर्भमा कहाँ कसरी ढाँट्यो ढाँट्ने प्रश्न संसद् र त्यसको नेतृत्वसँग सम्बन्धित प्रश्न पनि हैन । संसद्ले ढाँट्यो त्यसको नेतृत्वले ढाँट्यो भने मलाई पश्न गर्न सकिन्छ । त्यसमा मैले ढाँटेको हैन संसद्ले ढाँटेको हैन सरकारले ढाँटेको हो ।

संसद्मा तपाईंको भूमिका प्रभावकारी नहुँदा सरकारले ढाँट्ने संसद्लाई समेत छल्ने मौका पायो हैन र ?
प्रवृतिहरू कसमा अन्तरनिहीत छन् । त्यो कुरा प्रमुख प्रश्न हो । तपाईंले कुनै गल्ती गर्दा तपाईंको रिलेटिभलाई आरोप लगाउन मिल्छ ? व्यक्तिगतरूपमा तपाईंले केही कमजोर गर्नु होला कसैलाई ढाँट्नुहोला केही गर्नुहोला । त्यसको अपजस घरपरिवारले लिन सक्दैन । कर्णाली प्रदेशसभाले सरकारलाई हरेक कुरामा सचेत गराएको छ । संसदीय समितिहरू, प्रदेशसभा सदस्यहरूको प्रस्तुतिको सन्दर्भमा सबैभन्दा बढी चलायमान कर्णाली प्रदेशसभामा भएको छ ।

जेठ २४ गते आर्थिक मामिलामन्त्रीले रारा पर्यटन महोत्सवको खर्च पेस गरेको खर्चको विवरण ४९ लाख छ । तर तपाईं कै संसद्को सार्वजनिक लेखा समितिको अध्ययन उपसमितिले २०७५ फागुन १७ दिएको प्रतिवेदनअनुसार ८६ लाख झन्डै खर्च भनेको छ । संसद्लाई सरासर झुठ बोल्दा पनि तपाईं मुखदर्शक भएर बस्नुभयो ?

त्यो विषयमा संसद्को समितिले नै पत्ता लगाएको हो । खोज प्रस्ताव कसले सरकारले हैन संसद्ले गरेको हो । यदी संसद्का समितिहरूले गरेका हुन भने मैले कसरी त्यसलाई ढाकछोप गरे ? म प्रमुख भएको संसद्ले नै त्यसको सबै विवरण सार्वजनिक गरेको हो । त्यो एक किसिमको पूर्वाग्रहबाहेक के हुन सक्छ । जब संसद्को समितिले नै यो कुरा पत्ता लगायो भनेपछि सरकारलाई यर्थात् पत्ता लगाउने काममा दबाब दिन मेरो भूमिका देखिन्छ नि । मैले भन्नु पर्ने विषय होइन ।

तपाईंको भूमिका कमजोर भएर संसदीय समितिले दिएका प्रतिवेदन कार्यान्वयन गर्न दबाब दिन तपाईंले नसकेको आरोप छ नि ?

प्रदेश सरकार यति दबाबमा छ की तुलनात्मकरूपले अरु प्रदेश सरकारभन्दा धेरै नै । राराको महोत्वदेखि अरु विषयमा सरकार एकदमै दबाबमा छ । सबैभन्दा बढी प्रभाव पारेको राराको विषयमा हो । त्यो भएको कारणले प्रभावहीन भयो भन्ने कुरामा म सहमत छैन । हुन सक्छ केही कमजोरीहरू होलान् तर यो प्रश्न स्वभाविक प्रश्न हो भन्ने मलाई लाग्दैन ।

तपाईंकै कमजोरीले डेढ वर्षको अवधिमा २४ वटा मात्रै विधेयक पास भएको, धेरै विधयेकहरू संसद्मा थन्किएको, संसदीय समितिको सभापति चयन गर्न नसकेको जस्ता आरोप तपाईंमाथि छन् नि ?

समितिको चिर्वाचन भएन यो सत्य कुरा हो । यो सभामुखको अप्रभावकारिताका कारण निर्णय नगरेका कारण मात्रै भएको हैन । यो एउटा प्राविधिक कुरा पनि थियो । हाम्रो पार्टी एकीकरणका कुरादेखि अन्य कुरा धेरै छन् । खासगरी सभामुखले पार्टीहरू तयार भएपछि समन्वय गरेर अघि बढ्ने कुरा हो । जबसम्म सम्बन्धित पार्टीहरू तयार छैनन् । पार्टीहरूले हामीहरू तयार नहुन्जेलसम्म ज्येष्ठ सदस्यहरूलाई नै सभापति बनाए अघि बढ्ने भनेर सहमति गरेका हुन् । सोही बमोजिम भएको हो । सभामुखले त्यसलाई नै निरन्तरता दिएको हो । यसमा पार्टीहरू तयार नहुन्जेलसम्म सभामुखले निर्णय गरेर जानु हुँदैन । तर जान सक्ने अधिकार छ । त्यो बेक्लै कुरा हो । तर पार्टीहरू तयार नहुन्जेलसम्म सभामुखले अगाडि बढ्नु हुँदैन भन्ने ठान्दछुँ । अर्को विषय प्रदेशभामा प्रदेश सरकारले अहिलेसम्म ३६ वटा विधेयक प्रदेशसभामा पठाएको थियो । तिमध्ये २/३ वटा विधेयक चित्त नबुझेको हाम्रो अधिकार क्षेत्रभित्र नरहेको, हामीले आवश्यकता नठानेको सन्दर्भमा र सबै राजनीतिक शक्ति जो संसद्मा प्रतिनिधित्व गर्दछन् उनीहरूको सहमति नभएको विधेयकहरूबाहेक अरु सबै विधेयकहरू प्रक्रियामा छन् । विधेयक धेरै बनायो की बनाएन भन्ने कुराले त्यसको परफरमेन्स राम्रो भयो की भएन भन्ने कुरासँग अर्थ राख्दैन । विधेयकहरू कतिको संवेदनशील तरिकाले लियो कतिको गहन छलफल भयो त्यो यहाँको आवश्यकताको सन्दर्भमा निर्माण भयो की भएन । त्यसमा सांसदहरूले कतिको गहिरिएर भाग लिनुभयो । समितिले त्यसलाई कतिको महŒवका साथ लियो भन्ने कुरा त्यसको प्रभावकारितासँग जोडिएको हुन्छ । धेरै कानुन बनाउन सकेन भन्ने आरोप गलत हो ।

संसद्मा तपाईंको विरोध नहोस् भनेर प्रतिपक्ष दलको नेताहरूलाई अलिकति बढी स्पेस दिनुहुन्छ । उहाँहरूलाई अलिकति बढी हिरो बनाउन खोज्नुभयो । त्यसकारणले पनि पटकपटक संसद् अवरुद्ध भयो भन्ने आरोप छ ?
यो अकमण्यहरूले लगाउने आरोप हो । संसद्मा प्रतिपक्ष दलको नेता मैले चयन गरको त हैन । प्रतिपक्षले नै चयन गर्ने हो । प्रतिपक्षी दलको नेता संसद्मा पदाधिकारीभित्र पर्दछ् । संसद्को तेस्रो बरियतामा पर्दछ । तेस्रो बरियातमा पर्ने भएकाले उसले बोल्न चाहेपछि सभामुखले बोल्न दिनु हुँदैन भन्ने हुँदैन् ।

यदी सत्तारुढ दलको संसदीय दलको नेताले बोल्न चाहेको बेलाबाहेक उसले बोल्न चाहेपछि सुरुमा बोल्न पाउँछ । उसले रोष्ट्रम प्रयोग गर्न पाउँछ । उसले कुन कुरा उठायो त्यसको प्रभावकारिता उसमा भरपर्छ । मेरो कारण प्रतिपक्ष हिरो बनेको होइन ।

प्रतिपक्षले संसद् जता लैजान चायो त्यतै लगिरहेको र त्यसलाई रोक्नुको सट्टा तपाईंले पनि साथ दिएको सत्तापक्षका सांसदको आरोप छ ?

त्यो मेरो कमजोरी हैन । संसद्मा जे कुराको बहस हुन्छन्, संसद्को काम कारबाही, प्रक्रियासम्बन्धी र त्यससँग अन्तरनिहीत विषयवस्तुसम्बन्धी बहस भयो भने संसद्को सरोकारको विषय हुन्छ । सरकारले कुनै कमजोरी ग¥यो प्रतिपक्षले त्यसको प्रश्न उठायो भने पनि सभामुखले केही गर्न सक्दैन, सभाले पनि केही गर्न सक्दैन् । प्रतिपक्षले उठाएका विषयहरू सुन्नुपर्छ । त्यसो भए सत्तापक्षका पार्टीका सांसदहरूले किन त्यसको प्रतिबाद गर्नु भएन् । किन त्यसको खण्डन गर्नु भएन ?

तपाईंले सरकारलाई सहयोग गर्नु भएन, प्रतिपक्षलाई बढी स्पेस दिनुभयो भन्ने आरोप छ । तपाईंकै नेतृत्व क्षमतामा प्रश्न पनि छ । तपाईंको भूमिको कारण संसद् धेरैपटक अवरुद्ध भइरहेको हुन्छ भन्ने आरोप छ ?

कर्णाली प्रदेशसभामा आजसम्मका जुन निर्णयहरू छन्, तीमध्ये एउटा बजेटबाहेक अरु सबै निर्णयहरू सर्वसम्मत्रूपमा भएका छन् । त्यो समाभुखको नेतृत्वको कौसलताको परिचायक हो । प्रतिपक्षले बजेटसम्म धेरै कुरामा विमति जनाएको थियो । बैठक अवरुद्ध गरेको थियो । अहिलेसम्मका जुन सुकै निर्णयहरू सर्वसम्मतिमा हुनु त नेतृत्व क्षमता राम्रो रहेको बुझ्नुप¥यो नी ? संसद् अवरुद्ध हिंसात्मक प्रतिवादलाई मात्रै भनिँदैन । कुनै पनि प्रदेशसभा सदस्य उठ्न बित्तिकै संसद् अवरुद्ध भएको मानिन्छ । त्यसलाई व्यवस्थापन गरेर लैजानु नेतृत्वको कौसुलता हो । मैले संसद्लाई भिडन्ततिर लैजान चाहेको छैन ।

तपाईंले प्रतिपक्षलाई स्पेस दिँदा संसद्बाट सरकारको काममा अवरोध भयो भन्ने आरोप छ ?
सरकारको काम कारबाही सरकारका कारणले प्रभावकारी हुने हो । केही नगरिदियोस्, प्रतिवाद नगरिदियोस्, अनि म सुरक्षित हुन्छु भन्ने खोज्ने हैन । काम कारबाही र त्यसका रिजल्टले प्रभावकारिता प्रदर्शन गर्ने हो । त्यसैले प्रतिपक्षले केही नगर्दा खेरि हामी सफल भयौं भन्ने ठान्नु हुँदैन । प्रतिपक्षले विरोध गर्दा पनि सरकारले आफ्नो जायज कामलाई सहमतिमा लैजानु सक्नुपर्छ । प्रतिपक्षले विरोध गरेर सरकारको काम रोकिएको छैन । त्यो गलत आरोप हो ।

तपाईंको स्वाभाव ठाडो छ भनिन्छ । उपसभामुख, दलका सचेतक, संसदीय दलका परामर्श गर्नु हुँदैन भन्ने आरोप छ ?
त्यो त उहाँहरूलाई सोध्नुपर्छ । तपाईंहरूले उहाँहरूलाई यो कुरा सोध्नु भएको हो भने त्यो शतप्रतिशत गलत कुरा हो । मैले कुनै पनि निर्णय सहमति बेगर भएको हो भन्न सक्छ भने म नैतिक जिम्मेवारी लिन्छुँ । सबै निर्णयहरू सर्वसम्मत् ढंगले गरेको छुँ । जुनसुकै संसद्का काम कारबाही भएका छन्, ती सबै सर्वसम्वतररूपमा भएका छन् ।

तपाईंले नेतासँग नजिक हुन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सेनालाई प्रदेशसभामा त एकल निर्णयले सम्बोधन गर्न बोलाउनु भयो । मुख्यमन्त्रीलाई समेत थाहा नदिएको आरोप छ ?
मुख्यलाई जानकारी थियो । त्यसमा एउटा कुरा के साँचो हो भने मुख्यमन्त्रीको भन्नुस् वा प्रदेशसभा सदस्यको भन्नुस् उहाँलाई ल्याउँदा अलि विवादित हुन्छ की नल्याउँदै राम्रो हुन्छ की भन्ने थियो होला । त्यो म मान्दछुँ । यसमा मेरो स्वार्थ धेरै थियो होला त्यो पनि म मान्दछुँ । राष्ट्रियसभा अध्यक्षलाई ल्याएर म केन्द्रसँग जोडिने नत्र नजोडिने हैन । केन्द्रसँग जोडिने अरु बाटाहरू धेरै छन् । तर हाम्रो कार्य व्यवस्थामा कुनै पनि प्रदेशसभा सदस्यले उहाँलाई ल्याउनु हुँदैन भनेर भन्नु भएन् । यसको विरोध गर्नु भएन् । मनमा थियो होला त्यसको जिम्मेवारी म लिन सक्दैन ।

तपाईं २०५२ सालतिर नेपाल मजदूर किसान पार्टीबाट नेकपामा प्रवेश गर्नुभयो २०५४ सालमा गाविस अध्यक्ष, त्यसपछि लामो समयसम्म जिल्ला छाड्नुभयो । पार्टीमा योगदानभन्दा अवसर लिनुभयो भन्ने आरोप छ ?
म त्यो मान्दिनँ । निर्वाचनपछि तत्कालीन नेकपाको संसदीय दलको बैठक बस्यो । बैठकमा मैले तत्कालीन संसदीय दलको नेता यामलाल कँडेल र अर्का प्रकाश ज्वाला दुईजना सदस्यबाहेक अरु कोहीभन्दा म सिनियर हुँ भनेको हो । उहाँहरूलाई पनि म सिनियर ठान्दिनँ । भावनात्मक, पदीय हिसाबले मान्ने कुरा बेग्लै हो । कम्युनिस्ट आन्दोलन र योगदानका हिसाबले धेरै सिनियर ठान्दिनँ । अरु मभन्दा सिनियर होइनन् । अरु सबैलाई जुनियर ठान्दछुँ । यसको अर्थ म २०३९ सालमा म कम्युनिस्ट संगठनमा जोडिएर निरन्तर रूपमा काम गर्दै आएका हुँ । एउटा मेरो स्वभाव के हो भने नेतृत्वमा मरेर आइलाग्नुपर्छ भन्ने मेरो स्वभाव नभएको हुनाले मलाई कसैले चिन्नु भएन होला । छायाँमा देखिनु भएन होला । जुनियर देख्नु भएको होला । त्यो बेग्लै हो । तर कम्युनिस्ट आन्दोलनमा संलग्नता र निरन्तरता र योगदानका हिसाबले म अरुभन्दा कम ठान्दिनँ । त्यसैले मैले यो पाएको पद स्वभाविक र न्यायिक छ । अझ भन्नु पर्दा म मुख्यमन्त्री हुनुपर्ने मान्छे हो ।

प्रदेशसभाको सभामुख हुन दोहोरो रोल खेल्नु भएको आरोप छ । संसदीय दलको नेता छान्दा पनि तपाईंको भूमिका शंकास्पद भयो भन्ने छ ?

यो विषयमा कोही कुनै पनि विषयममा बोल्न सक्दछ भने म मात्र बोल्न सक्दछु भन्ने ठान्दछुँ । संसदीय दलको नेताको निर्वाचनमा डबल रोल खेल्नुभयो भन्ने कुराचाहिँ सत्य होइन । संसदीय दलको नेता छान्दा अर्का प्रत्यासी प्रकाश ज्वाला कहाँ गएर हामीले १२ जनाको हस्ताक्षर बुझाउने कार्यक्रम थियो । हस्ताक्षर बुझाउने र वार्ता गर्ने मान्छे नै म हो । तपाईं कुनै पनि हालतमा संसदीय दलको नेता जित्नु हुँदैन । यामलाल कँडेललाई सर्वसम्मतिले गरौं भनेर वार्ता गर्ने मान्छे म नै हुँ । त्यसैले कुनै पनि विषयमा म प्रष्ट छँु । यो आरोप पूर्वाग्रही आरोप मात्र हो ।

जिल्लामा दुःख गर्ने तपाईंभन्दा धेरै पुराना नेताहरू पनि छन् । उनीहरू कष्टकर जीवन बिताइरहेका छन् । अहिले तपाईं राजकीय सानमा हनुहुन्छ । तपाईं विगत बिर्सेर ठालु बन्न खोजेको आरोप छ ?
उहाँहरूप्रति एकदमै सम्मान छ । मेरो उम्मेदवारी छान्दाखेरि पार्टीको आन्तरिक भेला थियो । मैले उम्मेदवारी प्रस्तुत गर्दाखेरि मलाई सदस्यता दिने गुरु पनि त्यहीँ प्रक्रियामा हुनुहुन्थ्यो । म आफूभन्दा सिनियरलाई एकदमै सम्मान गर्छुं । त्यो क्रममा उहाँहरूभन्दा अगाडि आएँ भने मैले कुनै पनि जालझेल गरेर आएको हैन । खुलारूपमा आफ्नो कुरा राखेर आएको हो । मैले कुनै राजकीय ठाँट देखाएको छैन ।

तपाईंले केन्द्रका हाई कमाण्डसँग मेरो प्रत्येक्ष सम्बन्ध छ भनेर दम्भ देखाउनुहुन्छ भन्ने आरोप छ ?
म कहिल्यै पनि केन्द्रको नेतृत्वसँग टच छुँ भनेर भनेको छैन । त्यो मान्छेहरूको गलत बुझाइ हो । मेरो कसैसँग नजिकको सम्बन्ध छैन । म सबैभन्दा कम नेताहरूलाई भेट्ने मान्छे हुँ । म सीमित नेताहरूलाई मात्र चिन्छुँ ।

तपाईं पावर सेन्टर बनाउन खोजेको आरोप खोजेको आरोप छ नि ? बजेटको बेला सरकार ढल्छ भनेर आफूलाई मुख्यमन्त्रीको रूपमा प्रस्तुत गर्नुभएछ ?
हैन मैले कसैसँग मुख्यमन्त्री बन्छु भनेको छैन । बरु त्यतिबेला सरकार ढलेपछि तपाईं मुख्यमन्त्री बन्नुपर्छ भनेर भन्नु भएको थियो । मैले यो सम्भव नै नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अपराध नियन्त्रणका लागि कार्ययोजना

५ आश्विन २०७६, आईतवार ०६:००
रुकुम पश्चिम, ५ असोज ।  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चाडपर्व लक्षित अपराध नियन्त्रण कार्ययोजना सार्वजनिक गरेको छ । आउँदै गरेको दसैंतिहार र छठपर्वमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न २० बुँदे कार्ययोजा सार्वजनिक गरेको हो । नागरिकको जीउधनको सुरक्षा तथा शान्तिपूर्ण वातावरण कायम राख्न विशेष सुरक्षासहितको योजना बनाइएको प्रहरी […]