नेता–कर्मचारीको देउडा जुहारी

कर्णालीपत्र संवाददाता ५ आश्विन २०७६, आईतवार ०५:३५

मुगु, ३ असोज ।

अधिकार कागजमा आयो, व्यावार (व्यवहार) मा नाई जान
सहरमा छ, गाउँमा छैन दिवस संविधान

यो गीत सुन्ने बित्तिकै उपस्थित सबैले निकै ठूलो हुटिङ मात्रै लगाएनन् जोडदार ताली पनि बजाए । कुनै नेताले निर्वाचनमा गरेको भाषणमा कार्यकर्ताले बजाएको भन्दा अझ चर्को । होहल्ला र ताली बजाएको सुनेपछि गमगढी बजारमा भएका अन्य मुगालीसँगै सोरु गाउँपालिका जाडेपानीका नन्दबहादुर मल्ल पनि हुलमै कार्यक्रमस्थल महाकाली माध्यमिक विद्यालयतिर हानिए । केही मिनेटमै मल्ल कार्यक्रमस्थल पुगे । त्यहाँको वातावरण रोचक मात्रै थिएन, जिल्लाका जनप्रतिनिधि र नेताप्रति गरिएको घोचपेच पनि सँगै थियो । जुन नन्दबहादुरलाई समेत निकै घत लाग्यो ।

संविधान दिवसको अवसरमा जिल्लाका राजनीतिक दलका नेता र राष्ट्रसेवक कर्मचारीबीच आयोजना गरिएको मैत्रीपूर्ण देउडा खेलमा कर्मचारीले स्थानीय तहका जनप्रतिनिधि र दलका नेताहरूलाई संविधानले कागजीरूपमा अधिकार दिए पनि दुर्गम गाउँहरूका नागरिकले अधिकार प्रयोग गर्न नपाएको दृष्टान्तलाई देउडामा उल्लेख गरेका थिए । कर्मचारीको देउडा सकिएपछि राजनीतिक दलका नेता पनि के कम । नेताहरूको टोलीको नेतृत्व गरेका छायाँनाथ रारा नगरपालिका–१, का वडासदस्यसमेत रहेका नेकपाका जिल्ला नेता गोविन्द मल्लले यो गीत फलाकेपछि दर्शकबाट फेरि हुटिङ र तालीको वर्षा भयो ।

कानुनमा संस्थागत भयो, नेताको भासन
सहर बसी गाउँ नगयाँ, क्या हुन्थ्यो कासन

सधैंभरि विभिन्न बाहनामा कहिले नेता त कहिले कर्मचारीबाट धोका खाएका मल्ल नेता र कर्मचारीको देउडा गीतबाटको भनाभन गद्गद् भए । दुवैपक्षको देउडालाई ध्यान दिएर सुनेका उनले कर्णालीपत्रसँग भने, ‘धेरै समयपछि आज बल्ल नेता र कर्मचारीले आआफ्ना पोल खोलेर आरोप प्रत्यारोप गर्न लाग्या ।’ २०७२ साल असोज ३ गते जनताका प्रतिनिधिले शताब्दीयौं लामो एकात्मक शासन व्यवस्थाको अन्त्य गर्दै संघीय लोकतान्त्रिक व्यवस्थासहितको संविधान जारी गरेको सम्झनामा देश तथा विदेशमा रहेका नेपालीले बजार सरसफाइ, ¥याली, अन्तरक्रिया कार्यक्रम र फलफूल वितरण जस्ता कार्यक्रमको आयोजना गरेर मनाए । तर दुर्गम हिमाली जिल्ला मुगुमा नीति निर्माणकर्ता मानिने राजनीतिक दल र स्थायी सरकार मानिने राष्ट्रसेवक कर्मचारीबीच मैत्रीपूर्ण देउडा खेलको आयोजना गरिएको थियो । जसले एकआपसमा घेचपेचसमेत ग¥यो ।

‘कार्यालयमा काम गर्दा नेता र जनप्रतिनिधिमार्फत् पाएको पेलाइलाई खुलेरै भन्ने मौका पाइयो,’ कर्मचारीको देउडा समूहका टोली नेता तथा पशु कार्यालय मुगुका लेखा अधिकृत कृष्णबहादुर रोकायाले भने, ‘देउडा खेल भएकाले खासै अन्यथा नमान्ने स्थानीय चलनअनुसार मैले देउडाबाट भनेको हुँ ।’ संविधान दिवस सहर र सदरमुकाममा सीमित गर्नुभन्दा गाउँगाउँमा आयोजना गरेर संविधानका अन्तरवस्तुबारे जानकारी दिनसमेत नेतालाई आफूले आग्रह गरेको रोकायाले बताए ।

उता राजनीतिक दलको समूहमा लागेका खत्याड गाउँपालिकाका अध्यक्ष तथा नेकपाका जिल्ला नेता उब्जन शाहीले संविधान दिवसको अवसरमा अन्य रेडिमेट कार्यक्रमभन्दा स्थानीयको रूचीमा आधारित कार्यक्रम भएकोले दिवस प्रभावकारीरूपमा मनाइएको बताए ।

जिल्ला समन्वय समिति मुगुका प्रमुख पूर्णबहादुर रोकायको संयोजकत्वमा गठन गरेको संविधान दिवस मूल समारोह आयोजक समितिले मैत्रीपूर्ण देउडा प्रतियोगितासहित बजार सरसफाइ, माविस्तरीय वक्तित्वकला प्रतियोगिता, वृक्षारोपणलगायतका कार्यक्रमको आयोजना गर्ने कार्यक्रम तय गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सडकको कारण सास्ती !

५ आश्विन २०७६, आईतवार ०५:३५
अटो संवाद चालक ; अजुर्न रोकाय वीरेन्द्रनगर–१२, चनौटे सुर्खेत अटो नम्बर ;भे १ ह ५४६ सिद्धपाइला यातायात सेवा प्रालि कहिलेबाट अटो चलाउन सुरु गर्नुभयो ? वीरेन्द्रनगरमा अटो चलाउन लागेको ढाई वर्ष जति भयो । पहिला चार वर्षजति ट्याक्टर चलाएँ । पछि अटोबाट राम्रो आम्दानी हुने देखिएपछि त्यो काम छोडेर आफैँ […]