महामारीको संकटमा कर्णाली

कर्णालीपत्र संवाददाता ४ आश्विन २०७६, शनिबार ०९:५८

चन्द्रा कँडेल
सुर्खेत, ४ असोज
२०६६ सालमा फैलिएको झाडापखालाको महामारीले जाजरकोटका दुई सय बढी सर्वसाधारणले ज्यान गुमाए । गतवर्ष विभिन्न रोगको संक्रमणले जुनीचाँदे गाउँपालिकामा १३ जनाको मृत्यु भयो भने यही असार २३ गते पनि पुनः दूषित पानीका कारण जिल्ला सदरमुकाम खलंगामा झाडापखाला फैलियो । यसको प्रमुख कारण पानीको मुख्य मुहान बुदबुदीमा कोलिर्फमको मात्रा अत्यधिक हुनु हो ।
२०७२ मा यहाँको दसेरामा झाडापखाला देखिएको थियो । हजारौं सर्वसाधारण झाडापखालाले थलिए । यति मात्र होइन यही वैशाख दोस्रोसाता हुम्लाको ताँजकोट गाउँपालिकामा अज्ञात रोग फैलियो । त्यतिबेला यहाँ आठजनाको मृत्यु भयो भने दर्जनौं व्यक्ति बिरामी भए । यो उदाहरण मात्र हो, कर्णालीका विकट जिल्लाका सर्वसाधारण अशिक्षा, गरिबी र सरसफाइले विभिन्न रोगको सिकार बन्ने गरेका छन् । बर्सेनि कूल जनसंख्याको करिब ५० प्रतिशत जनसंख्या विभिन्न रोगले ग्रसित हुने गरेका छन् ।
कर्णालीका ग्रामीण बस्तीका बासिन्दा झाडापखालाले मात्र होइन रुघाखोकी, टाइफाइट, अमलियपन, श्वासप्रश्वासलगायतका रोगले बर्सेनि थलिने गरेका छन् । तथ्यांक हेर्दा कर्णालीमा गत वर्ष आठ लाख २३ हजार ४६ जना सर्वसाधारण विभिन्न रोगले थलिए । करिब १८ लाख जनसंख्या रहेको कर्णालीमा २०७४/७५ मा ६ लाख ४७ हजार एक सय ६७ जना बिरामी भएका थिए । प्रतिशतका आधारमा हेर्दा सहर बजारभन्दा ग्रामीण बस्ती अझ बढी रोगको संक्रमण हुने गरेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा झाडापखालाबाट ४६ हजार सात सय ९४ जना बिरामी परेका थिए । यो संख्या बढेर गत वर्ष ४९ हजार आठ सय ६१ जनामा पुग्यो । गरिबी, अशिक्षा, सरसफाइको अभाव, जनचेतनाको अभाव, भौगोलिक दुर्गमता, प्राकृतिक प्रकोप, खानपान तथा जीवनशैली, असुरक्षित पिउने पानी, धुवाँधुलोका कारणले गर्दा कर्णालीका धेरै मानिस रोगको सिकार हुने गरेको स्वास्थ्य महाशाखाका निर्देशक बृषबहादर शाहीले जानकारी दिए । विशेष गरी बच्चाहरूमा निमोनिया हुने गरेको र ठूला व्यतिmमा रुघाखोकी, दम, टाउको दुख्ने समस्या देखिने गरेको उनको भनाइ छ ।
कर्णालीमा सबैभन्दा बढी ग्यास्ट्रिक हुने गरेको छ । गत वर्ष यहाँ एक लाख २६ हजार सात सय ५४ जना ग्यास्ट्रिकबाट संक्रमित भए । दोस्रोमा श्वासप्रश्वासको समस्या देखिएको छ । कर्णाली हिमाली र पहाडी भूभाग भएकाले यहाँ अध्यधिक चिसो हुन्छ । चिसो, वातावरण प्रदूषण हुनुलगायतका कारणले श्वासप्रश्वास हुने गरेको स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत विनोद आचार्यले जनाए । उनका अनुसार सबैभन्दा कम लुतो लाग्ने गर्छ । गत वर्ष यहाँ ३० हजार एक सय ७९ जनामा लुतो लागेको थियो ।
यसका साथै पानी र खाने कुराबाट झाडापखाला, आऊ, ज्वरो टाइफाइट जस्ता रोगले संक्रमण हुन सक्ने बताउँदै उनले पानीलाई राम्रोसँग उमालेर मात्र खानुपर्ने बताए । त्यस्तै बाँसी सडेगलेका खानेकुरा खान नहुनेमा समेत उनले जोड दिए । बढ्दो प्रदूषण, फोहर र धुवाँधुलोका कारण छालामा नकारात्मक असर देखिने बताउँदै आफ्नो आनीबानी र सरसफाइमा समेत सुघार गर्न शाहीले सुझाव दिए । सरसफाइमा ध्यान पु¥याए ७० देखि ८० प्रतिशत रोग रोकथाम गर्न सकिने उनको भनाइ छ । भौगोलिक विकटता, स्वास्थ्यमा पहुँच नहुनुले पनि कर्णालीका बासिन्दा रोगले थलिने गरेका छन् । विभिन्न रोगका कारण बर्सेनि कति मान्छेले ज्यान गुमाउँछन् भन्ने तथ्यांक स्वास्थ्य निर्देशनालयमा छैन ।
‘अशिक्षा र गरिबीले सरसफाइमा ध्यान दिँदैनन्,’ प्रदेश अस्पतालका चिकित्सक डा. नवराज केसीले भने, ‘सरसफाइ नहुँदा रोगको संक्रमण हुन्छ ।’ कतिपय व्यक्ति बिरामी पर्दासमेत स्वास्थ्य संस्था नजाने गरेको उनले बताए । बिरामी हुँदा वा कुनै पनि रोगको लक्षण देखिँदा स्वास्थ्य संस्था नजाँदा स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै उनले रोगबाट बच्न पहिला सरसफाइ र खानपिनमा ध्यान दिनु पर्ने बताए ।
जटिल रोगको उपचार छैन
कर्णालीका स्वास्थ्य संस्थामा पर्याप्त पूर्वाधार नहुँदा कतिपय रोगका लागि अन्य प्रदेश जानुपर्ने कर्णालीवासीको बाध्यता छ । क्यान्सर, मृगौला प्रत्यारोपन, टाउको, मुटु र आँखाको अप्रेसनजस्ता रोग यहाँ उपचार नहुने प्रदेश अस्पतालका सुपरिटेन्डेन डम्बर खड्काले जनाए । यहाँ उपचार नहुँदा यहाँका बासिन्दा नेपालगन्ज, काठमाडौं, चितवनलगायतका जिल्ला धाउनु पर्ने बाध्यता छ ।
प्रदेशमा जटिलखालका रोगको उपचार नहुँदा धेरै पैसा खर्च हुने गरेको सर्वसाधारणको भनाइ छ । ‘बिरामी अवस्थामा लामो र झन्झटिलो यात्रा गर्नुपर्छ,’ दैलेख दुल्लुकी सिर्जना आचार्यले भनिन्, ‘यही प्रदेशमा भएको भए कम शुल्क र सजिलो हुन्थ्यो ।’ कर्णालीका विभिन्न स्वास्थ्य संस्थामा भर्ना भएका १२ हजार ६ सय २७ बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०७६-०६-०४

४ आश्विन २०७६, शनिबार ०९:५८

सम्बन्धित शीर्षक