निराशालाई उत्साह बनाउने हाम्रो दायित्व

कर्णालीपत्र संवाददाता ३ आश्विन २०७६, शुक्रबार ०४:०८

महत्वपूर्ण साइत मिल्यो, ‘संविधान दिवस’ । इतिहासमैं प्रथमपटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट नेपालको संविधान निर्माण भएको चार वर्ष पूरा हुँदैछ । दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न जनप्रतिनिधिमार्फत् संविधान बनाउने ६ दशक लामो नेपाली जनताको आकांक्षा साकार भएको दिनको अवसर पारेर हामीले आमसञ्चारको क्षेत्रमा बहुमाध्यमको सुरुवात गर्न लागेको खुसीयाली साट्न पाउँदा खुसी लागेको छ ।

आमसञ्चारको क्षेत्रमा संख्यात्मकरूपमा उल्लेख्य उपस्थिति हुँदाहुँदै पनि हाम्रो उपस्थिति किन र कस्तो भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । साँघुरो बजार, सीमित साधनस्रोतको यर्थातता र कर्णालीको वास्तविक अवस्थालाई विश्लेषण गर्नेहरूको लागि हाम्रो काम चुनौतीपूर्ण छ । व्यावसायिक पाटोलाई बाहिर राखेर हेर्दा संख्यात्मकरूपमा बढ्दो आमसञ्चारको प्रतिस्पर्धात्मक बजारले पार्ने यावत अप्ठ्याराहरू छन् । तर निराशाजनक आँकाडा पस्किएर मिडियाको बजार छैन भन्नुभन्दा प्रत्येक समयसँग आफूलाई परिष्कृत गराउने र निराशाजनक आँकडालाई उत्साहमा परिणत गर्नुपर्ने दायित्व चाहिँ हामीमाथि थपिएको छ । हामी यही दायित्वको सुरुवात गर्दैछांै ।

सूचना कर्म सजिलो छैन । अवसर र चुनौती दुवै छन् । आम सूचना–उपभोक्तालाई सूचनाकै गञ्जागोलबाट बाहिर निकाल्नु र गलत सूचनाको जटिल अभ्यासबाट जोगाउनु हाम्रो मूल ध्येय हुने छ । डिजिटल मिडियाको युग आरम्भ भइरहँदा छापा माध्यमको फेरि सुरुवात ? हामीमाथि अर्को प्रश्न उठ्न सक्छ । प्रविधिको बढ्दो विकास कुनै पनि असल कुराहरूको विस्थापनका लागि होइन । कुनै पनि विषयको नयाँपन या नवीनतम् विकास भनेको बरु असल कामलाई प्रवद्र्धन या विस्तार गर्नका लागि हो । हामी डिजिटल पत्रकारितासँगै पत्रकारिताको प्रारम्भिक विधा छापा माध्यमलाई पनि शसक्त बनाउन खोज्दैछौं । पछिल्ला केही वर्षयता अनलाइन समाचार पोर्टलहरू आएका छन् । तर तिनले अखबारको काम गर्न सकेका छैनन् । अखबारले आफ्नो काम गर्दैछ र डिजिटल मिडियाले काम गर्दैछन् । यसो भनिरहँदा हामी साथसाथै डिजिटल मिडियाको नयाँ माध्यम अनलाइनलाई पनि सँगै लैजाँदै छौं ।

प्रविधि र समाज बदल्न सजिलो छ तर राजनीति र शासकीय प्रवृत्ति चाँडै बदल्न जटिल छ । बदलिँदो प्रविधि र समाजसँगै राजनीति र शासकीय प्रवृति नबदलिने हो हामी खोजेको परिवर्तन सम्भव छैन । हाम्रा सूचनाको निर्वाध प्रवाहले सबै क्षेत्रमा रहेका गलत प्रवृत्ति बदल्न मद्धत गर्ने हामीले अपेक्षा लिएका छौं । यही हाम्रो अपेक्षा पूरा गर्न समय परिवेश र चुनौतीलाई एकसाथ अँगाल्दै जिम्मेवार, उत्तरदायी र सहिष्णु समाज निर्माणको दायित्वमा हामी अविचल रहने हामीले प्रण गर्दछौं । समयक्रमसँगै विश्वसनीय समाचार र सन्तुलित विचार प्रवाह गर्ने सञ्चार माध्यम आमपाठक र दर्शकको छनोट हुने निश्चित छ । संख्यात्मक हिसाबले बढोत्तरीसँगै त्यसरी नै विश्वसनीय बनाउने दायित्व पनि हाम्रोे हुनेछ । यसर्थ, हामी ‘तेस्रो आँखा’ बन्न खोज्दैछौं ।

हामी आगमनकै बेला प्रतिबद्धताका अनेकौं शब्दहरू पस्कनु राम्रो होइन । तर जति प्रतिबद्धता व्यक्त गर्नेछौं, त्यस बाटोमा इमान्दार भएर हिँड्ने प्रयत्न भने पक्कै गर्नेछौं । हामी विश्वसनीय पत्रकारिताको अभ्यास गर्नेछौं । प्रारम्भकै बखत अनेकन प्रतिबद्धता प्रस्तुत गर्नुभन्दा पनि हामी यति अपेक्षा गर्छौं कि हाम्रा कमीकमजोरीहरूमा औला उठाइदिनुहोस् र कहीकतै बाटो बिराउँदा सजग गराइदिनुहोस्, बाँकी त यहाँहरूसँग निरन्तर साक्षात्कारकै क्रममा भेट हुनेछ । हाम्रो सबै कर्म यहाँहरूबाटै निरन्तर मूल्यांकन होस् ।

संविधान दिवसको उपलक्ष्यमा शुभकामनासहित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अप्ठ्यारोमा मुख्यमन्त्री शाही

३ आश्विन २०७६, शुक्रबार ०४:०८
दमुक्त मन्त्री खत्री पूर्वएमालेको कोटाबाट नियुक्त भएको । त्यसमा पनि नेता र समूह विशेषको सिफारिमा । यस्तो अवस्थामा भौतिक पूर्वाधार विकास मन्त्रालय आफू अनुकुल र आफैँ राख्न मुख्यमन्त्री शाही आफैँले चाहेर सम्भव छैन ।