छोराको आसमा १२ सन्तान

कर्णालीपत्र संवाददाता ३ आश्विन २०७६, शुक्रबार ०३:५०

सुर्खेत । ताँजकोट गाउँपालिका–२, कटेलगाउँकी सर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष पुगिसकेकी उनले १२ सन्तान गर्भमा राखिन् । सात छोरीको जन्म दिएकी उनले ज्यान जोखिममा राखेर पाँचपटक भू्रण हत्या गरिन् । जसको असरले उनको ज्यान अहिले कमजोर बनेको छ । सानै उमेरमा धेरै सन्तान जन्माउनु उनको रहर होइन, छोरा पाउनुपर्छ भन्ने श्रीमान् र घर परिवारको दबाबले इच्छाविपरीत उनी बच्चा जन्माउन बाध्य भइन् ।

अहिले पनि उनी गर्भवती छिन् । उनकै गाउँकी दाना जैसीले पनि आठ सन्तानलाई जन्म दिइन् । छोरा पाउने आसमा उनले ३९ वर्षको उमेरसम्म आठ सन्तान जन्माएकी हुन् । धेरै सन्तान जन्माउँदा रगत बग्ने, ज्यान दुख्ने खान मन नलाग्नेजस्ता समस्याले उनी पीडित छिन् । छोराको पखाईमा ज्यानको बाजी थापेर सन्तान जन्माउने सर्मिला र दाना कटेल गाउँका प्रतिनिधि आमा मात्रै हुन् । आप्mनो सन्तान राख्ने र मरेको दिन दागबत्ती बाल्न छोरा मात्रै हुनुपर्छ भन्ने परम्पराबाट ग्रसित समाज, घर र श्रीमान्को दबाबमा हिमाली जिल्ला हुम्लाको कटेलगाउँका आमाहरू अहिले पनि इच्छाविपरीत छोरीको जन्म दिन बाध्य छन् ।

सुरुदेखि नै शरीर र पेट दुख्ने समस्याबाट ग्रसित ५१ वर्षीया बैसागी जैसीलाई दुई सन्तानभन्दा बढी जन्माउन मन थिएन् । तर पाँचवटा लगातार छोरी मात्रै जन्मेपछि छोराकै पर्खाइमा ९ सन्तान जन्माउनु प¥यो । हरेकपटक सुत्केरी हुँदा आफू कम्तीमा दुईपटक मृत्युको मुखबाट बचेको बताएकी बैसागीले गहभरि आँसु झार्दै कर्णालीपत्रसँग भनिन्, ‘हामी महिला त लोग्न्या (श्रीमान्) को इच्छाअनुसार सन्तान जन्माउन्याँ (जन्माउने) मेसिन मात्रै भएछौं ।’ छैटो सन्तानसम्म छोरी मात्रै जन्मेपछि सुत्केरीको अवस्थामा पूरा पेट खाना खानसमेत नपाएको विगत सम्झँदै बैसागीले बीचमा एक सन्तान खेर गएपछि आठांै सन्तानका रूपमा जेठो छोरालाई जन्म दिइन् ।

‘एक छोरा पुतालो क्या, एक आँखा अँखालो (दृष्टिवाल) क्या, छोरी अर्काको घर जाने एक छोराले मलाई (श्रीमान्लाई), अर्को छोराले तँलाई (श्रीमतीलाई) बुढेसकालको सहारा देला भनेर लोक्ने (श्रीमान्) ले भनेपछि ९ पटक अर्को छोरा जन्माएँ,’ उनले भनिन्, ‘छोरी पाउँदा एक छाक राम्रो खान नदिने लौग्न्याले छोरा जन्माउँदा एक लिटर गाईको घ्यू दिए ।’ ‘छोराको मात्रै गणना गर्ने समाजले महिलाको स्वास्थ्य बिग्रेकोभन्दा छोरा नजन्माएकोमा बढी चिन्ता गर्ने रहेछ,’ उनले भनिन् ।

छोरी जन्मँदा गाउँका सबैले फलानाकी श्रीमती त छोरा नपाउन्यारैछ भनेर जताततै कुरा काट्न थालेपछि जीवनको सहारा भनेका श्रीमान्बाट समेत कम माया पाएको अनुभव ३५ वर्षीया सर्मिलाले गरेकी छिन् । १७ वर्षमा आफू विवाह गरेर श्रीमान्को घर आएको बताएकी उनले भनिन्, ‘सुरुमा सुत्केरी हुँदा माया गर्ने श्रीमान्ले पछि पाँचपटक सुत्केरी हुँदा वास्ता गरेनन् ।’ ‘सबै छोरी जन्मन थालेपछि त तेस्रोपटकदेखि ११ औँपटकसम्म सुत्केरी हुँदा आप्mनो शरीरको रगत सकिएको जस्तो भयो,’ उनले भनिन्, ‘सुत्केरीको बेला राम्रोसँग खाने नुन पनि नपाएन् ।’ व्यवहारिकरूपमा छोरा र छोरी एकै हौं भन्ने कुरा स्थापित नभएसम्म महिलाले पाउने दुःख नहट्ने उनको भनाइ छ ।

जुन काममा पनि छोराको मात्रै मान्यता दिने समाजमा महिलाले धेरै ठाउँमा मर्नु परेको बताएकी ताँजकोट–१, भैंसाबाजकी नन्दकला खड्का जब छोरीलाई पनि छोराले जस्तै हलो जोत्ने, आमाबाको मृत्युमा दागबत्ती दिनेदेखि घर बाहिरको कामको सबै जिम्मा दिइँदैन्, तबसम्म छोराप्रतिको मोह कम नहुने बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खेलकुद सामग्री सहयोग

३ आश्विन २०७६, शुक्रबार ०३:५०
कर्णालीपत्र, सुर्खेत । स्थानीयस्तरमा खेलकुद प्रवद्र्धन गर्ने उद्देश्यका साथ सुर्खेतका खेलाडीहरूले ‘खेलकुद सामग्री सहयोग अभियान’ सञ्चालन गरेका छन् । वीरेन्द्रनगरमा रहेको स्काई क्लबमा आवद्ध फुटबल खेलाडीहरूले उक्त अभियान सुरु गरेका हुन् । सुर्खेतका स्थानीय युवाहरूलाई खेलकुद सामग्री बल, जाली र पम्पलगायतका सामग्री सहयोग गरिने स्काई क्लबले जनाएको छ । ‘स्थानीयस्तरमा […]

सम्बन्धित शीर्षक