जोखिम क्षेत्रमामै बसोवास

कर्णालीपत्र संवाददाता २५ भाद्र २०७६, बुधबार १८:५७

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–२ जितेगडा बजारका वासिन्दा व्यापार व्यवसायको लागि जोखिम क्षेत्रमा बसोवास गर्ने गरेका छन् ।

हिउँदको होस् वा वर्खा दुबै समयमा यो बस्ती उस्तै जोखिममा देखिन्छ । बजार बाढी र पहिरोको उच्च जोखिममा छ । अधिकांश व्यापारी बाहिरबाट व्यापार व्यवसाय गर्न आएका र केही स्थानीयवासीले पनि जिते बजारमा पसल थापेका छन् ।

करीब पाँच वर्षअघि राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर सडक निर्माणका बेला उनीहरूलाई क्षतिपूर्ति लिएर जान आग्रह गरिएपनि जान मानेनन् । बस्ती भन्दा २० मिटरको सिधा दुरीमा नदी वरिपारी सडक निर्माण गर्नुपर्ने भएकाले त्यो बस्ती जोगाउन नसक्ने निष्कर्षसहित निर्माणको जिम्मा पाएको नेपाली सेनाले स्थानीयवासीलाई घर भत्काएर सुरक्षित ठाउँमा जान आग्रह गरेको थियो ।

प्रशासनले पटक–पटक उनीहरुलाई अन्यत्रै जान सूचना पनि जारी गरेको हो । तर उनीहरुले व्यापारिक नाका, अन्यत्र उपयुक्त ठाउँको पनि समस्या हुने भन्दै कहीँ गएनन् । अहिले पनि कर्णाली नदीमा दिन प्रतिदिन पानीको बहाव बढिरहेको भए पनि त्यहाँको बस्ती जहिकोतहीँ छ ।

कर्णाली नदीले तिला नदीलाई ठेलेर बस्तीतिर पो आउने हो कि भन्ने त्रास छ । जिते बजारका साथै लालिघाट बजार पनि बाढी र पहिरोको उत्तिकै जोखिममा छ । लालिघाट बजारमा पनि कर्णाली नदीको किनारमा करीब ४० वटा व्यापारीक पसल छन् ।

विसं २०७२ मा लालिघाट गेज बजारमा पहिरो जाँदा पाँच जनाको ज्यान गएको थियो । कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्यालले जिते र लालिघाट बजारको अवस्था र जोखिम आँकलन गरिने बताउनुभयो । स्थानीयवासी सबै सरोकारवालासँग छलफल गरी जोखिमयुक्त ठाउँमा रहेको बजारको विकल्प खोजी गर्न उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्यटकका लागि ७७७ सिँढी

२५ भाद्र २०७६, बुधबार १८:५७
दैलेख । दैलेख र कालीकोटको सिमानामा पर्ने चार हजार २०० मिटर उचाईमा अवस्थित महावुगाथमा पर्यटकको सजिलोका लागि पदमार्गसँगै ७७७ सिँढी निर्माण गरिएको छ । कर्णाली प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत दैलेखको डिभिजन वन कार्यालयले उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरेको हो । दुई किलोमिटर पदमार्गमा ७७७ वटा सिँढी निर्माण […]