इरानले अर्को जहाज कब्जा गर्यो

कर्णालीपत्र संवाददाता २२ भाद्र २०७६, आईतवार १०:०७

तेहरान; इरानी सामुद्रिक सुरक्षा गार्डले खाडीतर्फ गैरकानूनी रूपमा इन्धन आपूर्तिमा सम्लग्न भएको आरोपमा पुनःअर्को एक जहाजलाई इरानबाट कब्जामा लिएको इरानी सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

इरानले कार्गो बोक्ने उक्त पानी जहाजमा चालक दलका सदस्यसहित कम्तीमा १२ जनालाई पनि आफ्नो नियन्त्रणमा लिएको इकोफार समाचार संस्थाले जनाएको छ । नियन्त्रणमा लिइएका चालक दलका सबै सदस्य फिलिपिनी नागरिक रहेका समाचारहरूमा उल्लेख गरिएको छ ।
जहाजमा दुई लाख ८३ हजार ९०० लिटर डिजेल रहेको र नियन्त्रणमा लिइएको इन्धनसहितको जहाज र चालक दलका सदस्य सबैलाई आवश्यक कानूनी कारवाहीका लागि इरानी न्यायलयमा मुद्दा दायर भएको पनि इकोफारले जनाएको छ ।

इरान र अमेरिकाबीचको बढ्दो तनाबबीच इरानी सामुद्रिक सुरक्षा गार्डले खाडीतर्फ जाँदै गरेको कार्गो जहाजलाई नियन्त्रणमा लिएका हुन् । अमेरिकी ट्रम्प प्रशासनले सन् २०१५ मा अमेरिका, रुस, बेलायत, फ्रान्स, जर्मनी र चीनसहित विश्वका छ प्रमुख शक्तिले इरानसँग गरेको सम्झौता अमेरिकाको हितमा नभएको भन्दै यसलाई गत वर्षको मेदेखि अमान्य घोषणा गरेको थियो ।

सम्झौताअनुसार इरानले आफ्नो आणविक शक्तिलाई कटौती गर्ने तथा सम्झौतामा सामेल भएका मुलुकहरूले इरानमाथि लगाइएको आर्थिक नाकाबन्दीलाई हटाउने उल्लेख भएको थियो । तर अमेरिकाले गत वर्ष सम्झौता आफूलाई मान्य नभएको घोषणा गरेपछि अमेरिकाले इरानमाथि सम्झौतापूर्व लगाउँदै आएको आर्थिक नाकाबन्दीलाई पुनः निरन्तरता दिँदा अमेरिका र इरानबीच राजनीतिक तनाब सिर्जना भएको छ ।

इरानले सम्झौतामा सामेल भएका अन्य मुलुक पनि सम्झौताप्रति जिम्मेवार बन्न र अमेरिकी निर्णयका कारण इरानलाई परेको समस्यामा साथ दिन आग्रह गर्दै आएको छ भने उनीहरूले सम्झौतालाई जोगाउनुको विकल्प नरहेको बताउँदै आएका छन् । पछिल्लो समय अमेरिका–इरानबीचको राजनीतिक तनावका कारण इरानले आफ्नो सामुद्रिक क्षेत्रको प्रयोग गर्दै विभिन्न देशमा जाने इन्धन बोक्ने जहाजहरूलाई कब्जामा लिइसकेको छ भने केहीलाई अनुसन्धानपछि छोडिदिएको छ । सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काङ्ग्रेसले खटायो जागरण अभियानका प्रतिनिधि

२२ भाद्र २०७६, आईतवार १०:०७
काठमाडौं । नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । यही भदौ २४ गतेदेखि प्रारम्भ हुने दोस्रो चरणको जागरण अभियानका लागि आज प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रतिनिधिको नाम टुङ्गो लगाई खटाइएको पार्टी कार्यालयले जनाएको छ […]