शिक्षक समाज निर्माणकर्ता हो : कानूनमन्त्री भण्डारी

कर्णालीपत्र संवाददाता १८ भाद्र २०७६, बुधबार ०८:१३

जुम्ला : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुसंस्कृत समाज निर्माणमा शिक्षकको अहम् भूमिका रहेको बताउनुभएको छ । आज यहाँ आयोजित गोठीचौर गाउँपालिका जुम्लाको त्रिभुवन उच्च मावि झारज्वाला माविको स्वर्णजयन्ती समारोहमा उहाँले शिक्षक असल भए मात्र सुसंस्कृत समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो ।

“मुलुक हाँक्ने अब्बल जनशक्ति उत्पादन गर्ने शिक्षक महान् व्यक्तित्व हो,” मन्त्री भण्डारीले भन्नुभयो, “शिक्षक सक्रिय र निष्ठावान् नभई समाजमा असल नागरिकको जन्म हुनै सक्दैन ।” उहाँले अगाडि भन्नुभयो, “पछिल्लो समयमा समाजका विभिन्न आपराधिक घटनाको जड मदिरा भएको छ । यसको नियन्त्रणका लागि प्रदेश सरकारले अभियानलाई प्रदेशव्यापी बनाउने भएको छ ।”

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले मदिरा, लागुऔषधले समाजको सबै क्षेत्रमा प्रभाव पारेको जनाउँदै यसको रोकथामका लागि निर्बाध लागेको जनाउनुभयो । मदिराबाट शिक्षा क्षेत्रसमेत अछुतो नरहेको बताउनुभएका उहाँले शिक्षकलाई विद्यालय क्षेत्र पवित्र मन्दिरका रूपमा स्थापित गर्न आग्रह गर्नुभयो ।

प्रजिअ दुर्गा बञ्जाडेले शिक्षा क्षेत्रमा चरम राजनीति देखिएको टिप्पणी गर्नुभयो । बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि राजनीतिक दलदेखि समाजका अगुवा र सबै अधिकारकर्मी तथा सरोकारवालाहरूले बेलैमा ध्यान पु¥याउनुपर्नेमा उहाँको जोड थियो ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काङ्ग्रेस बैठक सम्पन्न, १४ विषयमा निर्णय

१८ भाद्र २०७६, बुधबार ०८:१३
काठमाडौँ : नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठक विभिन्न १४ कार्यसूचीमा सहमतिका साथ निर्णय गर्दै आज सम्पन्न भएको छ । बैठक गत असार २२ गतेदेखि शुरु भएर पटकपटक गरी १६ दिन बसेको थियो । बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन र मान्यता प्रदान गर्ने, पार्टी विधानअनुसार अवधि समाप्त भएका […]