बाँकेका नदीमा गोही छाडेकोमा विरोध

कर्णालीपत्र संवाददाता १७ भाद्र २०७६, मंगलवार ०७:२२

जिल्ला वन डिभिजन कार्यालय बाँकेले अन्यत्रबाट गोही ल्याएर राप्ती नदीमा छाडेपछि स्थानीयवासीले विरोध जनाएका छन् । राप्ती क्षेत्रमा बस्ती नजिकै नदीको पुलमुनि गोही छाडेपछि स्थानीय र पशु चौपायालाई जोखिम बढेको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका हुन् ।

राप्ती पुल छेउमा मन्दिर पनि रहेकाले त्यहाँ दैनिक मानिस नुहाउने, पूजापाठ गर्ने, पशुचौपाया तर्ने भएकाले सो स्थानमा गोही छाडेपछि विरोध शुरु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो । वन डिभिजन कार्यालयले खजुरा गाउँपालिका उढरापुरका एक स्थानीयवासीको घरबाट उद्धार गरी करीब १२ किलोको एक वर्षको गोहीलाई राप्ती नदीमा आइतबार छाडेको थियो ।
भदौं १७, नेपालगञ्ज । स्थानीयवासीको विरोधपछि गाउँपालिकाले समेत चासो देखाएर तत्काल वन कार्यालयसँग सम्पर्क गरी तीन दिनभित्र गोहीको खोजी गरी अन्यत्र व्यवस्थापन गर्न सोमबार पत्र लेखेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले राप्ती नदी नजिकै गाउँबस्ती रहेकाले मानिसले नुहाउने तथा आवतजावत गर्ने हुँदा उच्च जोखिम बढाएकाले त्यहाँ नछाडेर जङ्गल क्षेत्रअन्तर्गत नदीमा छाडनुपर्ने भन्दै त्यसको व्यवस्थापनका लागि पहल गरेको बताउनुभयो ।

वन डिभिजन प्रमुख मोहनप्रताप श्रेष्ठले गाउँबस्ती नजिकै छाडिएकाले जोखिम बढाएको स्वीकार गर्दै सानो गोही भएकाले बग्न सक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले त्यहाँ छाड्न नहुने गल्ती सच्याउँदै अब त्यसलाई खोजी गर्दा पनि फेला पर्न गाह्रो हुने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज ऋषिपञ्चमी के छ व्रतविधि ?

१७ भाद्र २०७६, मंगलवार ०७:२२
भदौं १७, काठमाडौं । हरेक भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज (मंगलबार) नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र […]