सुविधा भएकै ठाउँमा स्वास्थ्य सेवा

कर्णालीपत्र संवाददाता १६ भाद्र २०७६, सोमबार १७:२४

भदौ १६, जाजरकोट (रासस) । भौगोलिक रूपमा जाजरकोट सानो भए पनि पहाडी भू–बनोटका कारण यहाँका बासिन्दालाई सहजरूपमा स्वास्थ्य सेवा पाउन कठिन भएको छ ।

जिल्लालाई सात स्थानीय तहमा विभाजन गरे पनि जाजरकोटवासीको स्वास्थ्य सेवामा पहुँच भने अति न्यून छ । जिल्लामा ५० शय्याको एक जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ स्वास्थ्य चौकी छन् । त्यस्तै एक आँखा अस्पताल, एक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र दुई आयुर्वेद औषधालय भए पनि ती सबै जनताको पहुँचभन्दा पनि सुविधासम्पन्न ठाउँमा मात्र केन्द्रित छन् । कुशे गाउँपालिकामा पाँच स्वास्थ्य संस्था भए पनि त्यहाँ दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नभएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो ।

उक्त गाउँपालिकामा पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नभएको भन्दै नयाँ चार ठाउँमा स्वास्थ्य संस्था निर्माणका लागि बोलपत्र आह्वान गरेर स्वास्थ्यकर्मीको नियुक्ति गर्न लागिएको उहाँले जानकारी दिनुभयो । उक्त गाउँपालिकामा एमबीबीएस गरेका चिकित्सकको दरबन्दी भएका स्वास्थ्य संस्था छैन भने सडक सञ्जालले जोडिए पनि अझैसम्म एम्बुलेन्स खरिद गरिएको छैन ।

जुनिचाँदे गाउँपालिकाको गर्खाकोटमा लामो समयदेखि एमबीबीएस चिकित्सको दरबन्दी भए पनि रिक्त हुँदै आएको छ । जिल्लाको सबैभन्दा दुर्गम र यातायातको सहज पहुँच नभएको सो गाउँपालिका हो ।

उक्त गाउँपालिकामा तीन स्वास्थ्य चौकी, सात सामुदायिक एकाइ, एक प्राथमिक उपचार केन्द्र रहेको प्रशासकीय अधिकृत सर्वदल शाहीले बताउनुभयो । नलगाड नगरपालिकाको दल्लीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक सञ्जयकुमार यादव तीन महिनादेखि बिदामा रहेका कारण दैनिक उपचारमा समस्या भएको छ । नगरपालिकामा आठ स्वास्थ्य संस्था रहेकामा सात नयाँ स्वास्थ्य संस्था थप्न लागिएको नगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।

उक्त नगरपालिकामा एम्बुलेन्स खरिद गर्न बोलपत्र आह्वान गरिए पनि कसैले पनि फारम नभरेकाले उक्त शीर्षकको रकम फ्रिज भएको उहाँको भनाइ थियो । बारेकोट गाउँपालिकामा एउटा पनि स्वास्थ्यकर्मी नभएकाले एक करारमा नियुक्ति गरिएका नवीन साहनीको भरमा लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन हुँदै आएको छ ।

औषधि खरिद नगरिएका कारण औषधिको समस्या रहेको बारेकोटका अधिकांश स्वास्थ्य संस्थाले जनाएका छन् । अघिल्लो वर्ष बारेकोट गाउँपालिकामा स्थानीय तह र एक एनजीओको सहयोगमा एक सुत्केरीको उद्धार गरिएको थियो । अन्य स्थानीय तहमा यस्ता खालका घटना नरहेको पाइएको छ ।

सुविधा सम्पन्न स्वास्थ्य संस्था तथा उपकरणको अभाबमा चिकित्सकले छामेको भरमा जिल्लावासीले उपचार गर्नुपरे पनि सुधार हुन सकेको छैन् । जिल्लाका कुनै पनि स्वास्थ्य संस्थाले औषधि खरिद गरेका छैनन् भने जिल्ला अस्पतालमा पनि औषधि अभाव हुन लागेको फार्मेसी विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपनिर्वाचनः दलद्वारा दर्ता आह्वान

१६ भाद्र २०७६, सोमबार १७:२४
भदौ १६, काठमाडौँ । निर्वाचन आयोग नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार दल दर्ताका लागि निवेदन दिने म्याद भदौ मसान्तसम्मका लागि तोकिएको छ । २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय […]