गुडबाई जिन्दगी !

कर्णालीपत्र संवाददाता १३ भाद्र २०७६, शुक्रबार १५:४१

अच्युत काेइराला

कुनै पनि मान्छेले जिउनयोग्य जीवन बिना कारण त्यत्तिकै फ्याँक्दैन। –इतिहासकार डेभिड ह्युम

जेठको हपहपी गर्मी थियो। बेलुकीपख टोलभरि ठूलो होहल्ला भयो। मान्छेको हुल मूल सडकमा हुर्रिंदै थियो। कल्याङमल्याङका बीच कट्टु तान्दै म पनि हुलमा मिसिएँ। हुल एउटा घर अघिल्तिर अडियो। फुच्चे म, भिडमा हराएँ तर टाँङ मुनिबाट अघि बढ्दै ‘त्यो’ घरको दोस्रो तल्लामा पुगेँ।

शर्माजी झुण्डिएका थिए। जीवनमा पहिलो पटक मान्छे त्यसरी तुर्लुङ्ग झुण्डिएको देखेँ। शर्माजीको जिब्रो बाहिर निस्किएको थियो। त्यो जिब्रोले धेरै दिनसम्म मलाई तर्साइरह्यो।

कयौँ दिनसम्म घर, टोल र बजारमा सो आत्महत्याबारे चर्चा–परिचर्चा भइरहे, शर्माजी ल्यान्ते (कमजोर) भएको सबैको निष्कर्ष थियो। पछि त एक जना आशुकविले सानो खण्डकाव्यसमेत निकाल्न भ्याए। पाँच वर्षकै उमेरमा मैले थाहा पाएँ, आत्महत्या गर्नु समाजबाट छिःछिः र दुरदुरको भागिदारी हुनु हो।

त्यसपछिका कयौँ वर्षसम्म मैले आत्महत्याबारे सुन्नु परेन। किशोर वयमा भने एउटा नराम्रो खबरले मलाई झट्का दियो। मेरी सानिमा पनि त्यसैगरी झुण्डिई ! ऊ तीन महिनाको सुत्केरी थिई। खबर सुनेको त्यो दिनभरि मलाई वाक्वाकी लागिरह्यो।

ऊ मप्रति विशेष स्नेह राख्थी। अरुलाई भन्दा मलाई बढी नै माया गर्थी। यो खबरले घरमा कयौँ दिनसम्म रुवाबासी चलिरह्यो।

सानै उमेरमा दाइले जसै बुबाको श्राद्ध गथ्र्यो, सानिमाको नाम आउनेबित्तिकै आमाको आँखाको कुना रसाउन थाल्थ्यो। जसै दाइले धोतीको एउटा कुनाबाट तर्पण अलग्गै चुहाउँथ्यो, आमाले मसिनो स्वरमा त्यसो नगरी मूलधारमै सानिमालाई तर्पण दिन आग्रह गर्नुहुन्थ्यो। पण्डितबाजेको भनाइ हुन्थ्यो, ‘कालगतिले नमरेका वा आत्महत्या गर्नेहरुलाई त्यसरी नै संसार तार्ने हो !’

धेरै पछि मात्र मैले बुझेँ, त्यो तर्पण आत्महत्याप्रति वितृष्णा जगाउने एउटा उपाय रहेछ ! ‘सुसाइड प्रिभेन्सन’को एउटा उपाय हाम्रो संस्कृतिमा मज्जैले घुसाइएको रहेछ !

त्यसो त हाम्रो समाजले सति प्रथालाई सय वर्षअघिसम्म उत्तिकै प्रश्रय नदिएको भने होइन। कुनै धार्मिक नेताले लिने समाधि एक किसिमले आत्महत्या नै हो। त्यसबाहेकका कुरामा भने समाजले आफ्नो ज्यान लिने कुरालाई वर्जित नै गरेको छ।

तथ्याङ्कमा आत्महत्या
विश्व स्वास्थ्य संगठनले सन् २०१५ मा गरेको एउटा अध्ययनअनुसार नेपालमा हरेक वर्ष ६८४० ले आत्महत्या गर्ने गरेका थिए। एक लाखमध्येमा आठ भन्दा बढीले आत्महत्या गरेको पाइन्छ।

गएको वैशाखमा जारी एउटा तथ्याङ्कमा भने नेपालमा अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले आत्महत्या घटेको देखाएको थियो। पाँच वर्षको तुलना गरी हेर्दा घट्दै गएको प्रहरीको भनाइ थियो।

सन् २०१८/१९ मा ३३८० आत्महत्याको घटना दर्ता भएको थियो, जुन आश्चर्यजनक तरिकाले कम हो। जबकि यसअघि २०१७/१८ मा ५३१७,  २०१६/१७ मा ५१२४, २०१५/१६ मा ४६८०, २०१४/१५ मा ४३३२ जनाको आत्महत्या घटना प्रहरीकहाँ दर्ता भएको थियो।

संसारभरि नै पछिल्लो समय आत्महत्याको दर बढेर गएको छ। प्रत्येक एक लाखमध्ये १२ जनाले आत्महत्या रोज्ने गरेका छन्। संसारभरि नै गरिएको एउटा सर्भेले सन् २०१५ मा अनौठो तस्बिर देखाएको थियो, जहाँ सन् १९९० को तुलनामा आत्महत्या दर निकै बढेको थियो। ९० को दशकमा आत्महत्या रोज्नेको संख्या ७ लाख १२ हजार थियो भने २०१५ मा आइपुग्दा ८ लाख २८ हजारले आत्महत्यालाई रोजेका थिए।

नेपालमा अधिकांशको मृत्युको कारण झुण्डिएर, त्यसपछि मात्र विष सेवन र अन्त्यमा अग्लो ठाउँबाट हाम्फालेर आत्महत्या गरेको पाइएको छ। एक जना हाम्रा आफन्तले वृद्धावस्थामा रोगले ग्रस्त पारेपछि अग्लो घरबाट हाम्फालेर मृत्यु अँगालेका थिए।

संसारका विकसित मुलुकमा झुण्डिनेपछि सबैभन्दा बढी बन्दुकले गोली हानी आत्महत्या गर्नेको संख्या बढी रहेको देखाएको छ। विकसित मुलुकमा महिलाहरुको आत्महत्या दर बढी छ भने नेपालमा पुरुषको।

जसै तथ्याङ्कले नेपालमा यो वर्ष आत्महत्याको घटना कम भयो भनिरहेको थियो, ठीक यही बेला भने देश नै हल्लाउने घटना घट्न पुग्यो, जहाँ शालिकरामले चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई आफ्नो आत्महत्याको कारकका रुपमा नाम पोलेर गए। पोलिनेमा ‘रुकु’ र युवराज कँडेल पनि थिए।

नेपालको कानुनले आत्महत्या वा त्यसको प्रयासलाई अपराधको श्रेणीमा राखेको छ तर अहिलेसम्म आत्महत्याबाट बचेका कसैलाई पनि जेल हालेको छैन। पछिल्लो कानुन संहितामा आत्महत्या दुरुत्साहन थपिएपछि छोटो समयमै यो शब्दले ‘बहुचर्चा’ र ख्याति कमाएको छ। गुगल ट्रेन्डले नेपाली शब्द विश्लेषण गर्ने क्षमता राख्थ्यो भने कम समयमा सबैभन्दा बढी खोजिएको शब्दमा पथ्र्यो होला !

आत्महत्या दुरुत्साहन अर्थात् कसैले उक्साएर मर्न बाध्य पारेको अवस्थाका बारेमा केही मुद्दा विभिन्न जिल्लामा परे पनि सबैभन्दा चर्चित दुरुत्साहन मुद्दा यही शालिकराम पुडासैनीको आत्महत्या बन्न पुग्यो।

चर्चित आत्महत्या
आधुनिक नेपालको इतिहासमा सबैभन्दा चर्चित आत्महत्या भीमसेन थापाले आफ्नो घाँटी सेरेर गरेको आत्महत्यालाई नै लिइन्छ। उनी जेलमा रहँदा आफ्नी पत्नीलाई नाङ्गै सहर घुमाउने खबर सुनेपछि उनले बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर ठाने।

नारीहरुको दयनीय अवस्था सुधारका लागि राणा प्रधानमन्त्री जुद्ध शमशेरसँग माग गर्दा उनले नसुनेको भन्दै गरेको १९९७ सालमा योगमायासहित २४० जनाले गरेको सामूहिक आत्महत्या नेपालको इतिहासको सबैभन्दा कुख्यात सामूहिक आत्महत्या बन्न पुग्यो।

२०५७ साल जेठ १० मा युवराज दीपेन्द्रले आफ्नै वंश समाप्त पार्ने गरी गरेको हत्याकाण्ड र त्यसपछिको आत्महत्याले संसार नै हल्लाएको कसले पो बिर्सेको छ र !

आर्थिक समस्या, सम्बन्धमा उतारचढाव, उच्च महत्वाकांक्षा र विचारको तीव्रता, त्यसको व्यवस्थापन अक्षमता, बढ्दो निराशा र चुलिँदो तनावका कारण मानिसले आत्महत्याजस्तो निर्णय गर्न पुग्छ।

इतिहासमा आत्महत्या
कुनै मुलुकले युद्ध हारेपछि सो मुलुकका राजा, रानी वा युवराज आदिले आत्मदाह गरेको वा उनीहरुसँग सम्बद्ध व्यक्तिले सामूहिक रुपमा आत्महत्या गरेका अनेकन कथाहरु इतिहासका पानामा लिपिबद्ध भएको पाइन्छ।

चीनमा सन् १६४४ मा उत्तरका विद्रोही नेता लि झिचेङले किसान विद्रोह मच्चाए। उनले पेकिङ कब्जा गरेपछि सन राजवंशका राजाले सल्लाहकार बोलाउन ठूलो घण्टी बजाउँछन्। विद्रोही दरबारमा घुस्नै लाग्दा पनि कोही सल्लाहकार नआएपछि उनी दरबारको बगैँचामा पासो लगाएर मरे। उनको मृत्युलगत्तै उनकी रानीले पनि आत्महत्या गर्न पुगिन्। चीनको इतिहासमा यो सबैभन्दा खतरनाक आत्महत्याको घटनाका रुपमा दर्ज छ।

त्यस्तै भारतमा रानी पद्मावतीले आफ्ना राजाले युद्धमा बेहोरेको हारपछि गरेको सामूहिक आत्महत्या होस् या नेपालमै पनि पछिसम्म प्रचलित सतिप्रथा नै किन नहोस्, हरेक मुलुकमा आत्महत्याको अवशेष कुनै न कुनै रुपमा रहिरहेको थियो।

लेखकीय निराशा
सन् २००७ म एडुआर्ड लेभीले ‘आत्महत्या’ पुस्तकको पाण्डुलिपि बुझाएको १० दिनमै इहलीला समाप्त पारे। उनले आफ्नो अपार्टमेन्टमा झुण्डिएर जीवनलीला सक्दा उनको उमेर ४२ वर्षको थियो।

सन् १९७६ मा लेखक जाँ एमेरीले ‘अन सुसाइड’ लेखेको दुई वर्षपछि निद्रा लाग्ने औषधि अत्यधिक खाएर आफ्नो ज्यान लिए। त्यो बेला उनको उमेर ६५ वर्ष थियो।

‘मिथ अफ सिसिफस’मा अल्बर्ट कामुले लेखेका थिए, ‘कार दुर्घटनामा मर्नु सबैभन्दा अनौठो मृत्यु हो।’ नभन्दै सन् १९६० जनवरी ४ मा ४६ वर्षे उनको मृत्यु कार दुर्घटनामा नै हुन पुग्यो। पछि प्रहरीले जाँच गर्दा उनको गोजीबाट रेलको टिकट फेला पारेका थिए, जसबाट उनी जानुपर्ने थियो तर कार यात्रा रोजे र मृत्युवरण गरे।

पश्चिमा आत्महत्या
आत्महत्या खराब मृत्युको सबैभन्दा निकृष्ट उदाहरण मान्नेहरुले यसमाथि प्रतिबन्ध लगाए। खासगरी प्लेटोले आफ्ना गुरु सुकरातको अवस्थामा बाहेक अन्य किसिमको आत्महत्यालाई नाजायज भनी घोषणा नै गरेका थिए। सुकरातलाई त्यो बेलाका शासकले देश छाड्ने कि विष पिउने भनी छनोटको अवसर दिएका थिए। उनलाई देश छाड्नुभन्दा विष पिउनु श्रेयस्कर लागेको थियो।

सुकरातको सो धारणालाई निकै पछि सन् १७३२ मा काउन्ट अल्बर्टो रेडिकेटो ९४ पृष्ठको पुस्तिका ‘फिलोसफीकल डिसर्टेसन अपन डेथ’ लेखी सोको विरोध गरेका थिए। क्रिस्चियन धार्मिक मतमा आत्महत्यालाई नाजायज ठह-याइएको भन्दै उनले सो मतविरोधी धारणा राखेका थिए। मानिस यदि आफूलाई स्वतन्त्र ठान्छ भने उसले आफ्नो मृत्यु छान्न पाउनुपर्छ भन्ने उनको धारणा थियो।

जीवन ईश्वरको बरदान हो र आत्महत्या शैतानी कार्य भन्दै जब मार्टिन लुथरले त्यसमाथि नैतिक बन्धन हालिदिए, यो प्रतिबन्धित हुँदै जान थाल्यो। सत्रौँ शताब्दीमा विज्ञानको विकास हुँदै जाँदा भने धर्मले लगाएको नैतिक बन्धन खुकुलिँदै जान थाल्यो। धर्मले लगाएका प्रतिबन्धलाई प्रश्न गर्न थालियो।

पछि त दार्शनिक एस्पिनोजाले खुल्लमखुल्ला नै भन्न थाले, ‘एउटा स्वतन्त्र व्यक्तिले मृत्युको जति बढी चिन्तन गर्छ, शायदै अरु कसैले गर्छ होला।’

उसो भए यो संसारका हरेक प्राणी मर्न किन डराउँछन् त ? के उनीहरु स्वतन्त्र महसुस नगर्ने भएकाले ? हुन त कवि कृष्णहरि बराल भन्छन्, ‘मर्ने कसैलाई रहर हुँदैन…’ यद्यपि हरेक मानिसले सेक्सपछि सबैभन्दा बढी आत्महत्याकै बारेमा सोच्ने गर्छ र मर्ने रहर पाल्ने गर्छ तर समस्या के छ भने ब्युँतने अनुभव नभएका कारण सधैँ ऊ आत्महत्या गर्न डराउने गर्छ। तपाईंले पनि जीवनमा यस्तै अनुभूत गर्नु भएको हुनसक्छ तर अज्ञात भयले तपाईंलाई आज मृत्यु अँगाल्नबाट जोगाएरै छाड्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपाको अन्तरपार्टी निर्देशनः विशेष अभियान सञ्चालन गर्ने (पूर्णपाठसहित)

१३ भाद्र २०७६, शुक्रबार १५:४१
भदौ १३, काठमाडौं । पहिलो पटक कार्यकारी अधिकार पाएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७ बुँदे अन्तरपार्टी निर्देशन जारी गरेको छ । सचिवलायका हालसम्म बसेका बैठकका निर्णयहरूका आधारमा पार्टीका केन्द्रीय कमिटी सदस्यहरूलाई निर्देशिका जारी गरिएको हो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली उपचारका […]