निन्द्रामा घुर्ने समस्या रोग हो त ?

कर्णालीपत्र संवाददाता ९ भाद्र २०७६, सोमबार ०८:३२

अञ्जु तामाङ
काठमाडौँ । हामीमध्ये धेरैको निन्द्रामा घुर्ने बानी हुन्छ । वरपरकालाई घुर्ने बानीले समस्या भए पनि आफूले घुरेको भन्ने व्यक्ति आफैलाई थाहा हुन्न । निन्द्रामा घुर्ने बानी मोटोपना भएका र वृद्धवृद्धामा धेरै पाउँछौ ।

यसलाई धेरैले रोग भन्दा पनि सामान्य समस्याका रुपमा हेर्दै आइरहेका छन् । ‘मेरो निन्द्रामा घुर्ने बानी छ यो रोग हो ?’ भनेर अस्पताल जाने व्यक्तिको संख्या निकै कम पाउँछौँ । तर चिकित्सकहरु भने निन्द्रामा घुर्ने बानी कुनै रोगकै कारणले पनि हुने गरेको बताउँछन् ।

निन्द्रामा घुर्नु रोग हो कि सामान्य अवस्था हो ? रोग हो भने कसरी थाहा पाउने, उपचार र बच्ने उपायको बारेमा ह्याम्स अस्पतालका छाती रोग विशेषज्ञ डाक्टर राजु पङ्गेनी साधारण घुराइ र रोगका कारण हुने घुराइमा भिन्नता हुने कसरा बताउनु हुन्छ । साधारण घुराइ मोटोपन हुनेहरु अथवा अन्य स्वस्थ मानिसलाई हुनसक्छ । तर यसमा ‘स्लीप एप्निया’मा जस्तो श्वास रोकिने वा अक्सिजनको मात्रा घट्ने हुँदैन । ‘स्लीप एप्निया’ हुनेहरुलाई निदाएको बेला गर्धनभित्रको श्वासनली सागुरो भर्इ केही बेरको लागि बन्द हुन्छ । जसका कारण शरीरमा अक्सिजनको मात्रा घट्न थाल्छ, मुटुको चाल अनि प्रेसर बढ्न थाल्छ । यसको केही समयपछि छोटो समयको लागि बिरामीको निद्रा खुल्छ अनि फेरि श्वासप्रस्वास सुचारु हुन्छ ।

यस्तो बेलामा हात खुट्टा फाल्ने, कोल्टे फर्कने, चिच्याउने आदि हुन सक्छ । ‘घुर्ने, सास रोकिने, ब्युझिने, सास खुल्ने, फेरि घुर्ने’ यो क्रम रातभरि चल्छ जसका कारण बिरामीको निद्राको गुणस्तर एकदम कम हुन्छ ।

धेरै जसो अवस्थामा बिरामीलाई निद्रामा हुने यी घटनाहरुको त्यति सम्झना हुँदैन । बिरामीलाई भन्दा सँगै सुत्ने पार्टनरलाई यी कुराहरु बढी थाहा हुन सक्छ । यसको अल्पकालीन परिणाममा मुटुको चाल गडबड हुने तथा हार्ट अट्याकदेखि लिएर दीर्घकालिनरुपमा शारीरिक तथा मानसिक असरहरु हुन सक्ने भएकाले शंका लाग्ने वित्तिकै डाक्टरको परामर्श लिनु उचित हुन्छ ।

निन्द्रामा धुर्ने समस्या छ भने यसको लागि निद्रासम्बन्धि जाँच गर्नु पर्ने हुन्छ । यसलाई पोलिसोम्नोग्राफी पनि भनिन्छ । यो जाँच गर्नको लागि तपाईं एक रात अस्पतालको बेडमा भर्ना भइ सुत्नुपर्नेछ । यो जाँचले तपाईं निदाएको बेला घुर्ने, श्वास रोकिने तथा अक्सिजनको मात्रा कम हुने एवम् अन्य निद्रासम्बन्धि रोगहरु भए नभएको किटान गर्न सहयोग गर्नेछ ।

तपाईं निदाएको बेला तपाईंको शरीरमा टाँसिएका तार वा सेन्सरहरुले निद्राको अवस्था, घुराइको मात्रा, अक्सिजनको मात्रा, श्वासको गति, मुटुको चालको निगरानी तथा भिडियोको माध्यमबाट निद्राका गतिविधिहरु परीक्षण गर्छ ।

सेन्सरहरु टाँस्न प्रयोग हुने क्रिमको एलर्जी तथा रोगकै कारण हुन सक्ने भवितव्यबाहेक यो जाँचका कारण शरीरमा अन्य कुनै नराम्रो असर हुदैन । कहिलेकाही आवश्यकता हेरी तपाईंको घरमै गएर तथा सिप्याप मेसिन जोडेर पनि यो जाच गर्नुपर्ने हुन सक्छ ।

ह्याम्स अस्पतालमा हरेक दिन यो जाँच हुन्छ । डाक्टरसँग परामर्श लिइसकेपछि हाम्रो टेक्निसियनसँग समन्वय गरी बेडको उपलव्धता र तपाईंको अनुकुलता हेरी निद्रा जाँचको लागि समय दिइन्छ ।
घुर्ने रोगनै लागेको हो भने हार्ट अट्याक, मुटुको चालमा गडबडी, प्यारालाइसिस, मानसिक समस्या, थकान, सडक दुर्घटना, प्रेसर, मधुमेह, यौन समस्या आदि हुने सम्भावना धेरै हुन्छ । अत्यधिक घुराइको कारण पारिवारिक तथा पेशागत सम्बन्धमा पनि ह्रास आउन सक्छ । अत्यधिक आलस्यपन तथा निद्राका कारण मोटोपन झन् बढ्दै जान सक्छ । त्यसैले यस्तो रोगको समयमै निदान तथा उपचार गरेमा पछि आउने विभिन्न स्वास्थ्यसम्बन्धि समस्याबाट जोगिन सकिन्छ ।

उपचारको विधि

माथि उल्लेख गरिएको जस्तै तपाईंलाई ‘स्लीप एप्निया’ रोग लागेको छ भने तपाईं निदाएको बेला श्वासको नलीमा अवरोध आउने हुँदा यसबाट तपाईको शरीरमा अक्सिजनको मात्रा घट्नुका साथै निद्राको गुणस्तरलाई समेत असर पार्दछ । यो रोगको मुख्य उपचार भनेको सिप्याप प्रविधिको प्रयोग गर्नु हो ।

श्वास नली बन्द हुन नदिनका लागि तपाईंले राती नियमित रुपमा नाक वा मुख छोप्ने खालको ‘विशेष मास्क’ प्रयोग गरी सुत्नुपर्ने हुन्छ । यो मास्क सिप्याप मेसिनसँग जोडिएको हुन्छ । यो मेसिनले मास्कको माध्यमबाट तपाईंको श्वासनलीमा चाप पैदा गरी यसलाई बन्द हुन दिँदैन र अक्सिजनको मात्रा घटबढ हुनबाट जोगाउँछ । यसले तपाईंलाई गहिरो निद्रा लगाउन सहयोग गर्छ तथा रोगका कारण हुने अरु समस्याहरुबाट समेत बचाउछ ।

उपचारमा सिप्याप प्रविधिका साथसाथै तपाईंले अरु विधिहरु पनि अपनाउनु भयो भने उपचार सहज हुनसक्छ । जस्तै तौल धेरै छ भने कम गर्ने, सुत्ने बेला कोल्टे फर्केर मात्र सुत्ने, गर्धनका मांशपेशीहरुको कसरत गर्ने, नाक—कान—घाँटीको समस्याहरुको उपचार गर्ने, जाँड—रक्सी नपिउने, अन्य निद्राको औषधि प्रयोग नगर्ने जस्ता कुरालाई ध्यान दिन आवश्यक छ । साधारण ‘स्लीप एप्निया’ हुनेहरुलाई मुखमा लगाउने यन्त्रहरु तथा कहिलेकाहीँ घाटीको शल्यक्रियाले पनि फाइदा हुन सक्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजश्व छलीको सूचना दिनेलाई २०प्रतिशतसम्म पुरस्कार

९ भाद्र २०७६, सोमबार ०८:३२
भदौ ९, काठमाडौं । कसैले राजश्व छलि गरेको सूचना दिने व्यक्तिलाई छलि भएको राजश्वको २० प्रतिशतसम्म पुरस्कार दिने कानुन बन्न लागेको छ । प्रस्तावित राजश्व चुहावट ९अनुसन्धान नियन्त्रण ऐन २०५२ लाई संशोधन गर्न बनेको विधेयकमा २० प्रतिशतसम्म पुरस्कार दिने व्यवस्था गर्न लागिएको हो। मुद्दामा तोकिएको विगो रकमको सुनचाँदी तथा हिरामा […]